कुवेतदेखि युएईसम्म
काठमाडौं-कप्तान पारस खड्काले भन्ने गरेका थिए, विश्वकप भनेको आजको भोली खेलिने होइन। त्यसका लागि धेरै गर्नुपर्छ। ट्वान्टी–२० मा अन्तर्राष्ट्रिय सहभागिता जनाउन लागेको ६ वर्षपछि नै नेपालले विश्वकपको बाटो खोलेको छ।
भने जस्तो तयारी नभएपछि पारस मिडियामा व्यवस्थापनप्रति लिएर आक्रोश पोखिहाल्थे। बोल्दा बोल्दा वाक्क भएपछि उनी विश्वकप जस्तो महत्पूर्ण प्रतियोगिता १–२ दिनमै खेल्ने विषय होइन भनेर व्यंग्य गर्दथे।
नेपालले सन् २००७ मा कुवेतबाट ट्वान्टी–२० कपमा पाइला टेकेको हो। ट्वान्टी–२० लाई रंगिचंगी खेल पनि भनिन्छ। अझ विशेष गरी अरु क्रिकेटमा खेले जस्तो सट खेले पनि ट्वान्टी–२० लाई अपुग हुनसक्थ्यो। नेपालको तयारी परम्परागत थियो, नतिजा पनि त्यस्तै आयो। नेपाल समूह चरणबाटै बाहिरियो। मलेसिया र ओमानसँगको विजयमै नेपाल सीमित भयो। कुवेत र अफगानिस्तानसँग हारेपछि नेपाल समूह चरणबाटै बाहिरियो।
दुई वर्षपछि युएईमा अर्को प्रतियोगिता बाहिरियो । विनोद दासको स्थानमा पारस नेपालको कप्तान बनिसकेका थिए। नतिजामा केही परिवर्तन भएन। नेपाल समूह चरणबाटै बाहिरियो। मलेसिया, कुवेतजस्ता टोलीसँगको हार नेपालको अन्तर्राष्ट्रिय क्रिकेटमा अप्रत्यासित नतिजा थियो। कतार, बहराइन र ओमानसँगको जित नेपालका लागि केवल सान्त्वनामात्र बन्यो।
युएईबाट फर्किएपछि तत्कालीन प्रशिक्षक रोय डायसले ट्वान्टी–२० शैलीमा खेल्न नेपालाई अझ केही समय लाग्ने बताए। जब नेपालले ट्वान्टी–२० शैलीमा खेल्न लाग्यो डायसले नेपाल छाडिसकेका थिए। डायसको स्थान लिन अर्का श्रीलंकाली प्रशिक्षक पुबुदु दासानायके आए। यही नै नेपाललाई ट्वान्टी–२० विश्वकप पु¥याउनुको मुख्य कारण बन्यो।
काठमाडौंमा सम्पन्न एसिसी ट्वान्टी–२० कप दासानायकेको नेपाली प्रशिक्षकको रूपमा पहिलो आधिकारिक प्रतियोगिता थियो । नेपाली टोलीमा मानसिक रूपमा केही परिवर्तन देखियो, ट्वान्टी–२० शैली भने अझै पुरानै थियो। युएइसँगको पराजयका बाबजुद हङकङ, कुवेत र साउदी अरेबियालाई पराजित गर्दै नेपाल पहिलोपल्ट सेमिफाइनल पुग्यो।
यसले आइसिसीको प्रमुख प्रतियोगिता खेल्न नेपालको ढोका खुल्यो। नेपाल पहिलोपालि विश्व ट्वान्टी–२० छनोटमा पुग्यो । नेपालका लागि हङकङबाहेक लगभग सबै प्रतिद्वन्द्वी नयाँ थिए। पहिलो खेलमा हङकङलाई पराजित गरेको नेपालले डेनमार्क, बर्मुडासँगको खेल पनि जित्यो। अफगानिस्तान, पपुवा न्युगिनी र क्यानाडासँगको हारले नेपालको सुपर सिक्सको बाटो रोक्यो। केन्या, पपुवा न्युगिनीलाई पराजित गर्दै नेपालले पहिलो सहभागितामै सातौं स्थानमा प्रतियोगिता टुंग्यायो।
युएईमा भएको उक्त प्रतियोगिताबाट २ टोलीमात्र ट्वान्टी–२० विश्वकपमा छानिन्थे। दुई वर्षपछि हुने प्रतियोगिताका लागि संरचना परिवर्तन भइसकेको थियो। अहिले युएईमा भइरहेको प्रतियोगिताबाट शीर्ष ६ टोली विश्व ट्वान्टी–२० मा पुग्ने निर्णय भइसकेको थियो। नेपालले विश्वकपमा छनोट हुनुको मुख्य आधार पनि यसैलाई बनायो। 'हामी अहिले सातौं भयौं, शीर्ष ६ भनेको त्योभन्दा एक तह माथिमात्रै हो, त्यसैले विश्वकप सम्भव छ,' पारसले युएईबाट फर्केपछि भनेका थिए।
पहिलोपल्ट एसिसी ट्वान्टी–२० कपको फाइनलमा पुगेपछि नेपालको विश्वकप पुग्ने दाबीमा अझ बल पुगेको थियो । सात महिनाअघि घरेलु भूमिमा नेपालको खेल ट्वान्टी–२० शैलीअनुसार ढलिसकेको थियो। शरद भेषावकरको झन्डै २ सय रनको स्ट्राइक रेट त्यसलाई पुष्टि गर्ने एउटा आधार हो। अघिल्लो संस्करणमा १ सय रन पनि बनाउन नसकेको युएईविरुद्ध सेमिफाइनलमा प्रभावशाली विजय निकाल्दै नेपालले अफगानिस्तानसँग उपाधि भिडन्तमा उभिएको थियो।
एसिसी ट्वान्टी–२० कपको नतिजाले नेपाललाई ट्वान्टी–२० विश्वकपमा पुग्ने सम्भावित सूचीमा उभ्याइसकेको थियो। विश्व ट्वान्टी–२० छनोटमा नेपाली टोलीले त्यसलाई खेलेरै प्रमाणित गरिदियो।
0 comments
Write Down Your Responses