सन्नी लियोन बलिउड ल्याउन सलमानको भूमिका

काठमाडौ, पुस ६ - सलमान खान मायाका मामिलामा जति सन्की छन्, उति नै दयालु पनि । त्यसो त उनले मायाका मामिलामा फन्डा नमच्चाएको पनि धेरै भइसक्यो । तर दयालुपन भने कायमै रहेछ । बलिउडमा नायक भएरै धेरै शक्तिशाली नायिका भित्र्याएको जश उनमै जाने गर्छ । उनले पाकिस्तानी मोडल सोमी अलीलाई फिल्म 'बुलन्द' मार्फत् बलिउडमा डेब्यु गराएका थिए । दुर्भाग्य, नेपालमा खिचिएको उक्त फिल्म रिलिज हुन नपाए पनि सोमीले भने त्यसपछि नौ बलिउड फिल्म खेलिन् र अध्ययनका लागि अमेरिका गइन् । तत्कालीन गर्लफ्रेन्ड ऐश्वर्या रायसँगको तोडपछि सलमानले उनकै जस्तो अनुहार मिल्दो स्नेहा उलाललाई फिल्म 'लक्की' मार्फत् बलिउडमा इन्ट्रोड्युस गराएको मानियो । तर अनुहार मिल्दो भएकै कारण स्नेहा बलिउडमा जम्न सकिनन् ।
त्यसपछि नायक सलमान अर्की नायिकाको खोजीमा लागिपरे । हङकङमा जन्मेर बेलायतमा मोडलिङ गरिरहेकी भारतीय मूलकी कटि्रना कैफलाई सलमानले फिल्म 'मैने प्यार क्यु किया' मार्फत् बलिउड ताने । जब कि कटि्रनालाई हिन्दी भाषाको रत्तिभर पनि ज्ञान थिएन । तर यतिबेला कट्रिना बलिउडकी सर्वाधिक महँगी नायिकामध्येमा पर्छिन् । पहिलो फिल्मकै सफलताले 'मैने प्यार क्यु किया' को कट्रिना-सलमानको जोडी पनि रिलदेखि रियलसम्मै लम्बियो । तर प्रेमका मामिलामा ब्याडब्वाई भनेर चिनिने सलमानलाई कटि्रनाले पनि लामो समय साथ दिइनन् । कट्रिनासँगको ब्रेकअपले रन्थनिएका सलमानले पुनः अर्की नायिका बलिउडमा भित्र्याए कट्रिनाजस्तै, जरिन खानलाई । तर जरिनसँगको पहिलो फिल्म 'वीर' ले बक्सअफिस कलेक्सनमा वीरता देखाउन सकेन । त्यसपछि उनको फिल्ममा खास उपस्थिति नदेखिए पनि यस वर्ष लगालग तीन फिल्ममा काम गरिरहेर व्यस्त नायिका बन्ने संकेत देखाएकी छन् । त्यसपछि सलमानले शत्रुघ्न सिंहाकी पुत्री सोनाक्षीलाई पनि बलिउड डेब्यु गराउनमा अहम् भूमिका खेले । आफ्नै होमप्रोडक्सन फिल्म 'दबंग' बाट उनलाई जबरजस्त ब्रेक दिलाएका सलमानलाई अहिलेको व्यस्त करिअरमा पनि सोनाक्षी बिर्सिदिनन् । बलिउडमा सलमानलाई नयाँसँग काम गर्न रुचाउने नायक मात्रै नभई उनले ल्याएका स्थापित हुने मानिन्छ । सलमानका लागि बलिउड भित्र्याउने पछिल्लो क्रेडिट सन्नी लियोनबाट पनि आएको छ । हालै सन्नीले आफूलाई बलिउडमा ल्याउनुमा सलमानकै देन रहेको जिकिर गरेकी हुन् ।
सनी सुरुआतमै सलमानका कारण बलिउड छिरेकी भने होइनन् । पोर्नस्टारको छवि बनाएकी उनलाई सलमानद्वारा सञ्चालित पाँचाैं सिजनको बिग बोसमा आमन्त्रण गरेपछि उनको भारत प्रवेश भएको हो । त्यसबेला पोर्नस्टारलाई बिग बोसमा ल्याइएकोमा चर्को विरोध पनि भयो । तर विरोधका बाबजुद पनि सन् २०१० की टप १२ पोर्नस्टार सन्नीलाई फिल्ममा भने पूजा भट्टले 'जिस्म २' बाट सफल डेब्यु गराइन् । तर बलिउड प्रवेशको जश भने यतिबेला सन्नीले पूजालाई नभई सलमानलाई दिइरहेकी छन् । 'डयासिङ सलमानकै कारण आज म बलिउडमा छु,' सन्नीले एक अनलाइन पोर्टलका लागि दिइएको अन्तरवार्तामा भनेकी छन्, 'बिग बोस-५ को मेरो अन्तिम दिन उनले मलाई बलिउडमा देख्न चाहेको बताएका थिए ।
उनकै सुन्दर चाहनाले नै आखिर मलाई अघि बढ्न शक्ति दियो ।' त्यसो त अहिलेसम्म सलमानसँग फिल्म नखेलेकी उनले त्यसमा पनि इच्छा जाहेर गरेकी छन् । त्यसो त सन् २०१४ मा भारतमा गुगलमार्फत् खोजिनेमा बलिउडका हस्तीदेखि प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत जितेर पहिलो स्थान ओगटेकी सन्नीको उक्त इच्छा पनि पूरा नहोला भन्न सकिन्न । आखिर उनले सलमानका लागि यति धेरै क्रेडिट जो दिइन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.