दसैंमा घर आउनेलाई समस्या

 
काँकडभिट्टा, आश्विन २० - दसैं मान्न घर फिरेका नेपालीलाई भारतीय प्रहरीले सीमामा अनावश्यक सास्ती दिन थालेको छ । जब नेपालीहरू घर फर्किन थाल्छन्, भारतीय प्रहरी र भन्सार कर्मचारीका लागि कमाउने मेलो बन्छ । भारतीय प्रहरीले अनावश्यक रूपमा झोला खोतल्ने र सामानहरू गायब गर्ने गरेको पाइएको छ ।
पानीट्यांकीस्थित प्रहरीसहित भन्सार र अध्यागमन कर्मचारीबाटै उनीहरूले सास्ती बेहोर्दै आएका छन् । भारतका नयाँदिल्ली, मुम्बई, आसाम, मेघालयलगायत स्थानमा कार्यरत नेपाली नागरिकलाई भारतीय प्रहरीले पैसा मागेर अनावश्यक दुःख दिने गरेको हो । 'प्रहरीले बित्थामा पैसा माग्दोरहेछ,' आसामबाट दसैं मान्न घर फिरेका भोजपुरका श्यामबहादुर राईले भने, 'पैसा नभए सामान पनि लैजाँदा रहेछन् ।' त्यसो त नेपालीहरू रेल चढेदेखि नै भारतीय प्रहरी र ठगहरूको सिकार बन्छन् ।
पानीट्यांकी नाका हुँदै घर फर्केका दर्जनौं नेपालीलाई उनीहरूले अवैध रकम असुल्ने गरेका छन् । अध्यागमन कर्मचारीबाट सुरु हुने असुली भन्सार हुँदै सशस्त्र सीमा बल -एसएसबी) सम्म जारी रहन्छ । अध्यागमन कार्यालयको काम तेस्रो देशका पर्यटकहरूसँग मात्र सीमित हुनुपर्ने हो । तर नेपालीलाई अनावश्यक सोधपुछ गर्ने र अवैध रकम माग्ने काममा यतिबेला उनीहरूको सक्रियता छ ।
नयाँदिल्लीबाट आएका संखुवासभाका हर्कबहादुर कुलुङले प्रहरीलाई केही रकम दिएर उम्किएका मात्रै थिए, अध्यागमन र भन्सार कर्मचारी उनका पछि लागे । उनले भने, 'उनीहरूलाई पनि १/१ सय नथमाई धरै पाइनँ ।' भोजपुरकी तारा राई परिवारसहित दसैं मान्न फर्केकी छन् । मेघालयको कोइलाखानीमा काम गर्ने राईको आगामी निर्वाचनमा भोट हालेर मात्रै फर्किने योजना छ ।
दसैं नजिकिँदै जाँदा भारतका विभिन्न स्थानमा बसेर काम गर्ने नेपालीहरू धमाधम घर र्फकन थालेका छन् । काँकडभिट्टा नाका हुँदै नेपालीको घर फिर्ने क्रम बढेको हो । 'दैनिक करिब डेढ सयको संख्यामा आइरहेका छन््,' इलाका प्रहरी काँकडभिट्टाका निरीक्षक रमेश बस्नेतले भने । घर फर्किने यात्रुका कारण काँकडभिट्टाबाट चल्ने अधिकांश सवारी भरिभराउ रहेको बस व्यवसायीहरू बताउँछन् । विशेष गरी पश्चिम नेपालका पोखरा, बागलुङ, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत तथा पूर्वका भोजपुर, धनकुटा, संखुवासभा, तेह्रथुम, खोटाङलगायत जिल्लाका बासिन्दा काँकडभिट्टा नाकाबाट घर फर्किने गरेका छन् ।
भारतीय सेना, प्रहरी तथा विभिन्न ठाउँमा मजदुरी गर्ने नेपाली घर फर्किरहेका हुन् । भारतको सिक्किम, दार्जिलिङ, कालिम्पोङ, आसाम, मेघालय, मणिपुर, नयाँदिल्ली, मुम्बई, पञ्जाब, मद्रासलगायत सहरमा नेपाली नागरिक विभिन्न काममा आबद्ध छन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.