७ असोज, काठमाडौं । उपत्यकाका तीन जिल्लामा १५ वटा निर्वाचन क्षेत्रहरु छन् । मुलुकको प्रशासनिक केन्द्र भएकाले यहाँ हुने निर्वाचनमा देश-विदेशको चासो हुनु स्वाभाविकै हो । चासो मात्रै होइन, उपत्यकाको चुनाव निकै रोचक पनि हुने गर्छ । यसपालिको चुनावमा प्रचण्डकी छोरीले गणेशमान सिंहका छोरासँग भिड्ने तयारी गरेर अर्को रोमान्स थप्न लागेकी छन् ।prakashman-singh-ra-renu-da

विगतको चुनावमा एमाले महासचिव माधव नेपाल र एमाओवादीका झक्कुप्रसाद सुवेदीको भीडन्तले उपत्यकाको चुनावलाई निकै रोचक बनाएको थियो । त्यसैगरी प्रचण्डले काठमाडौंमा जित्लान् या हार्लान् भन्ने प्रश्नले पनि अघिल्लो चुनाव निकै रोचक भएको थियो । परिणाम आउँदा १६ सीटमा तालमेल गर्ने भनेको एमाले शुन्यमा झरेपछि अर्को रोचकता थपियो उपत्यकाको चुनावमा ।

यसपालिको चुनावमा नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहका छोरा र एमाओवादी अध्यक्ष प्रचण्डकी छोरीवीच चुनावी प्रतिश्पर्धा हुने सम्भावनाले उपत्यकाको माहौललाई रोचक बनाउन लागेको छ । कांग्रेसका गगन थापा र एमाओवादीका पासाङको भीडन्त भएमा यो अर्को रोचकपन हुनेछ । भक्तपुरमा बिजुक्छेलाई हाँक दिइरहेका एमालेका युवा नेता महेश बस्नेतले पनि अर्को रोचकपन थप्दैछन् । पहिले शुन्य भएको एमालेले कति सीट ल्याउने हो, यो अर्को चासो छँदैछ मतदाताहरुमा । त्यस्तै पूर्वमेयर केशव स्थापितले विगतका आफ्नै कार्यकर्ता हिमाल शर्मासँग चुनाव लड्ने सम्भावना बढेको छ ।

प्रकाशमानसँग रेणु र सपना

काठमाडौं क्षेत्र नं १ मा ०६४ को चुनावमा गणेशमानपुत्र प्रकाशमानसिंहले विजय हासिल गर्नुभएको थियो । कांग्रेसले यसपटक पनि काठमाडौं १ मा प्रकाशमानलाई नै उमेद्वारी दिने लगभग निश्चित भएको छ । प्रकाशमानसँग भिडाउन एमाओवादीले प्रचण्डकी छोरी रेणु दाहाललाई उमेद्वार बनाउने सिफारिस गरेको छ । काठमाडौं १ मा एमालेले पनि महिलालाई नै अघि सारेको छ । पूर्व सभासद् एवं अधिवक्ता सपना मल्ल प्रधानको नाम एमालेले काठमाडौं १ का लागि सिफारिस गरेको छ । अघिल्लो चुनावमा यो क्षेत्रमा प्रकाशमानको मत १३ हजार खसेको थियो भने एमाले नेता प्रदीप नेपालको ६७ सय र एमाओवादीका राममान श्रेष्ठको ४८ सय मत झरेको थियो ।

माधव नेपाल र झक्कुको दोस्रो भिडन्त

काठमाडौं क्षत्रे नं २ मा यसपटक पनि एमालेका माधव नेपाल र एमाओवादीका झक्कु सुवेदीवीच प्रतिश्पर्धा हुने संकेत देखिएको छ । अघिल्लो  चुनावमा झक्कुको १३ हजार मत आएको थियो भने माधव नेपालको १२ हजार । यसपालि यो परिणाम उल्टिने एमाले नेताहरुको अनुमान छ । तर, कांग्रेसले पनि यो क्षेत्रबाट ११ हजार मत ल्याएको थियो । कांग्रेसले पनि पुरानै उमेद्वार दीपक कुइँकेललाई उभ्याउने भएको छ ।

काठमाडौं ३ मा एमालेले पुरानै उमेद्वार रामेश्वर फुँयाल र कांग्रेसले पनि पुरानै चक्रबहादुर ठकुरीलाई उठाउने सिफारिस गरेको छ । ०६४ को चुनावमा कांग्रेसका ठकुरीले १२ हजार मत ल्याएर जितेका थिए भने दोस्रो हुने एमालेका फुँयालले ९ हजार मत ल्याएका थिए ।  यसपालि एमाले फुयाललार्इ नै उठाउने तयारीमा छ भने एमाओवादीले मजदुर नेता गणेश रेग्मीको नाम अगाडि सारेको छ ।

काठमाडौं ४ मा भने भाले भीडन्त हुने सम्भावना छ । एमाओवादीले जनयुद्धका कमाण्डर नन्दकिशोर पुन पासाङको नाम अगाडि सारेको छ भने कांग्रेसले चर्चित युवा नेता गगन थापाको नाम सिफारिस गरेको छ । पहिले माओवादीका पवनमान श्रेष्ठले यो क्षेत्रबाट तेस्रो स्थानमात्रै हासिल गरेका थिए । एमाले नेतृ विद्यादेवी भण्डारीले यो क्षत्रेमा कांग्रेस नेतृ सुप्रभा घिमिरेबाट हार व्यहोर्नुपरेको थियो ।

काठमाडौं ५ मा पहिले जितेका कांग्रेसका नरहरी आचार्यसँग एमाले महासचिव ईश्वर पोखरेलले प्रतिश्पर्धा गर्ने सम्भावना छ । पहिले आचार्यसँग पोखरेलले ४ हजार मतान्तरले हार व्यहोर्नुपरेको थियो । पहिले तेस्रो स्थानमा रहेको एमाओवादीले यसपटक नयाँ अनुहारका महेन्द्र श्रेष्ठको नाम अगाडि सारेको छ ।

केशव स्थापितसँग हिमाल शर्मा

काठमाडौं ६ मा पहिलो चुनाव जितेका हितमान शाक्य वैद्यपक्षमा लागेपछि यसपटक एमाओवादीले विद्यार्थी नेता हिमाल शर्माको नाम अगाडि सारेको छ भने एमालेले पूर्वमेयर केशव स्थापितको नाम चर्चामा ल्याएको छ । कांग्रेसले पहिले हितमानसँग झिनो मतले पराजीत भीमसेनदास प्रधानलाई नै उभ्याउने भएको छ ।काठमाडौं ७ मा एमाओवादीले पहिले जित्ने हिसिला गमीकै नाम अघि सारेको छ भने कांग्रेसले विजय माली र एमालेले रामवीर मानन्धरको नाम अगाडि सारेको छ ।

काठमाडौं ८ मा कांग्रेसले पहिले जितेका नविन्द्रराज जोशीलाई नै उभ्याएको छ भने एमाओवादीले पूर्वमहान्यायधिवक्ता मुक्ति प्रधान र एमालेले पुरानै उमेद्वार अष्टलक्ष्मी शाक्यलाई उभ्याएको छ । यो क्षेत्रमा अघिल्लो चुनावमा एमाले दोस्रो र एमाओवादी तेस्रो स्थानमा थियो ।काठमाडौं ९ मा अघिल्ल्ो चुनावमा विजय हासिल गरेका कांग्रेसका ध्यान गोविन्द रञ्जितसँग एमाओवादीका देवेन्द्र पौडेलले प्रतिश्पर्धा गर्ने तयारी छ । अघिल्लो चुनावमा दोस्रो स्थान ल्याएका माइला लामा यतिबेला वैद्य माओवादीतिर लागेका छन् । ०६४ मा तेस्रो स्थानमा आएका एमालेका कृष्णगोपाल श्रेष्ठ यसपालि पनि यही क्षत्रेका प्रतिश्पर्धी बन्दैछन् ।

काठमाडौं १० मा एमाओवादीले अघिल्लो चुनावमा जस्तै प्रचण्डलाई नै उमेद्वार बनाउने तयारी छ । प्रचण्डसँग कांग्रेसका पुरानै उमेद्वार राजेन्द्रकुमार केसीले प्रतिश्पर्धा गर्दैछन् भने एमालेले सानुकुमार श्रेष्ठलाई झिकेर रामकृष्ण दुवाललाई प्रचण्डसँग भिडाउने तयारी गरेको छ ।

ललितपुरमा एमाओवादीका नयाँ

अघिल्लो चुनावमा वर्षमान पुन र पम्फा भुसाललाई जिताएको ललितपुरमा यसपालि एमाओवादीले नयाँ अनुहार अघि सारेको छ । ललितपुर १ मा कांगेसका उदयसमशेर राणा र एमालेका मधुसुदन पौडेलसँग एमाओवादीका हरि दाहाल भिड्दैछन् भने २ नम्बर क्षेत्रमा एमालेका पुराना नेता कृष्णलाल महर्जन र कांग्रेसका रामकृष्ण चित्राकारसँग एमाओवादीका दिनेश महर्जनले प्रतिश्पर्धा गर्ने भएका छन् । ललितपुर-३ मा एमालेका रघुजी पन्तसँग कांग्रेसका मदन अमात्य र एमाओवादीका सरोज डंगोलको प्रतिश्पर्धा हुने देखिएको छ । पहिले एमाओवादीले ललितपुरमा ३ वटै सीट जितेको थियो भने २ सीटमा कांग्रेस र एक सीटमा एमाले दोस्रो स्थानमा थिए ।

भक्तपुरमा महेश बस्नेतको हाँक

नेपाल मजदुर किसान पार्टीले एकलौटी जित्दै आएको भक्तपुरमा यसपालि नेमकिपालाई हराउने एमाले नेता केपी ओलीले उद्घोष गर्नुभएको छ । भक्तपुर १ मा कांग्रेसले नेमकिपामा नारयणमान बिजुक्छेसँग गणेशमान चक्रधरको नाम सिफारिस गरेको छ भने बिजुक्छेलाई हराउने उद्घोष गरेको एमालेले मोहनवीर श्रेष्ठलाई र एमाओवादीले सानुबाबु सिलवाललाई सिफारिस गरेको छ । भक्तपुर २ मा एमालेले युवा नेता महेश बस्नेत र कांग्रेसले दुर्लभ थापाको नाम अगाडि सारेको छ भने एमाओवादीले डीपी ढकालको नाम सिफरिस गरेको छ ।

अघिल्लो चुनावमा भक्तपुरको १ नम्बर क्षेत्रमा एमाले चौथो स्थानमा थियो भने हाल महेश बस्नेतले उमेद्वारी दिन लागेको २ नं क्षेत्रमा एमाले तेस्रो स्थानमा थियो । कांग्रेस २ नं क्षेत्रमा दोस्रो र १ नम्बरमा तेस्रो स्थानमा आएको थियो । एमाओवादी एउटा क्षेत्रमा दोस्रो र अर्को क्षेत्रमा चौथो स्थानमा थियो ।

काँग्रेस-एमालेका पुरानै, एमाओवादी नयाँ किन ?

नेपाली काँग्रेसले उपत्यकामा प्रायः जितेकै उम्मेदवारलाई निरन्तरता दिँदा नतिजा आफ्नो पक्षमा आउने विश्वास गरेको छ । जितेकै उम्मेदवारलाई उठाउँदा पार्टी कार्यकर्ताको मनोवल जित्नेतर्फ उदत्त हुने भएकाले चुनावी प्रचार-प्रचारमा सजिलो हुने र जनताको मत सजिलै जित्न सकिने काँग्रेसको दावी छ । यस्तै नेकपा एमालेले पनि केही क्षेत्रमा बाहेक अन्य क्षेत्रमा पुरानै उम्मेदवारलाई उठाउने तयारी छ ।

०६४ सालको निर्वाचनको माहौल र अहिलेको माहौल फरक रहेकाले आफ्नो पुरानै उम्मेदवारले जित्ने सम्भावना बढेको एमालेको दावी छ । तर केहीसमय मोहन वैद्य नेतृत्वमा बरिष्ठ नेताहरुसहित एमाओवादीवाट अलग्गिएर गएपछि एमाओवादीले भने उपत्यकामा नयाँ उम्मेदवार ल्याएको छ । उसले बरिष्ठ नेतालाई पराजय हुनवाट रोक्नमा ध्यान दिएको बताइन्छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.