महिनावरी सम्बन्धी केही भ्रम र वास्तविकता

महिलाहरु आफ्नो स्वास्थ्यका बारेमा जागरुक बन्दै गइरहेका छन् । यद्यपि हाम्रो समाजमा यौन तथा प्रजननको विषयमा महिलाहरु उतिसारो खुल्दैनन् । तथापि शिक्षा र चेतनाको विकाश सँगै यस बारेका अन्धविश्वास तथा गलत परम्परा वा मान्यताहरुमा परिवर्तन हुँदै आएको छ । प्रजनन उमेर समूहका महिलाहरुमा रजस्वला हुनु एक प्राकृतिक नियम हो । तर यहीँ रजस्वलाका विषयमा पनि विभिन्न खाले नकारात्मक मान्यताहरु छन् । रजस्वला बारेका केही मिथक र त्यसबारेको सत्य तथ्य कुराहरु यहाँ प्रस्तुत गरेका छौँ-
period
महिलाहरुमा सामान्यतया एक महिनाको समयमा महिनावारी हुन्छ । कतिपयले यस्तो महिनाबारी ठ्याक्कै २८ दिनमै हुनुपर्छ र नभएमा त्यो खतराको संकेत हो भन्ने ठान्छन् । तर यस्तो होइन । महिलामा महिनावारी चक्रमा निश्चित दिन नहुन सक्छ । कहिले बढि हुनसक्छ र कहिले कम । २८ दिन केवल औषत मात्र हो ।

कतिपयले महिनावारी भएको समयमा यौन सम्पर्क गर्दा कुनैपनि हालतमा महिला गर्भवती नहुने र त्यो समय पूर्णरुपमा सुरक्षित हुने ठान्छन् । तर सत्य के हो भने महिनावारी अनियमित हुने महिलाहरुको हकमा अण्डा उत्सर्जन जुनसुकै समयमा पनि हुनसक्छ । त्यसैले महिनावारी भएको बेला हुने यौन सम्पर्कबाट समेत गर्भ रहनसक्छ । तर नियमित रुपमा महिनावारी हुने महिलाको हकमा भने महिनावारी भएको सुरुका ७ दिन लगभग सुरक्षित हुने बताइन्छ ।

महिनावारीको बेला कम रगत बग्यो भने त्यस्ता महिलाको गर्भ रहादैन भन्ने गलत धारणा छ । तर त्यो सही होइन । रगतको मात्रा महिला पिच्छे फरक हुनसक्छ ।

महिनावारी हुनुपूर्व महिलालाई कुनैपनि पत्तो नहुने धारणा हुन्छ । तर त्यसो होइन महिनावारी हुनु ५ देखि ११ दिन पहिले देखि नै महिलामा अब महिनावारी हुँदैछ भन्ने खालका लक्षण देखा पर्छन् । त्यसमा टाउको दुख्नु, खुट्टा सुन्निनु, ढाड दुख्नु, पेट गडबड हुनु, स्तन फुल्नु वा ढिला हुनु लगायतका हुन् ।

किशोरावस्थामा महिलामा नियमित महिनावारी हुन्छ भन्ने छैन । किशोरीहरुमा कहिलेकाहीँ दुइ महिनासम्म पनि महिनावारी नहुन सक्छ र त्यसपछि मात्र महिनावारी हुनसक्छ । यो सामान्य प्रक्रिया हो र यसमा आत्तिइहाल्नुपर्दैन । तर उमेर बढेसँगै वा युवा अवस्थामा प्रवेश गरेसँगै महिनावारी नियमित बन्दै जान्छ । केही दिनको अनियमितताबाट खासै चिन्ता मान्नु नपर्ने भएपछि युवावस्थामा समेत महिनावारीमा अनियमितता भयो भने चिकित्सककोमा सल्लाह लिन जानुपर्छ ।

महिनावारी महिलामा एक प्राकृतिक, नियमित तथा स्वभाविक र गौरवको विषय हो । हाम्रो समाजमा अहिलेपनि यसलाई पूर्वजुनिको पाप, नछुने भएको अवस्था वा फोहोर अवस्थाको रुपमा लिने गरिन्छ । महिनावारी महिलाको लागि खुसीको कुरा हो र म प्रजननका लागि सक्षम छु भन्ने प्रमाण पनि हो । किशोरावस्थामा महिनावारीका कारण कतिपय स्कुले किशोरीहरुले मनमा डर, चिन्ता तथा निरासा समेत लिनुपर्ने अवस्था आउनसक्छ र कतिपय अवस्थामा हिनताबोध समेत आउँछ । त्यसैले यस्तो अवस्थामा अभिभावकले आफ्ना छोरीहरुलाई विशेष ध्यान दिनुपर्ने र पाका महिलाहरुले ख्याल गर्नु आवश्यक हुन्छ । यो समयमा पर्याप्त सरसफाइ, उपयुक्त व्यायाम तथा सन्तुलित भोजन आवश्यक हुन्छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.