ताइवानमा ठ्याक्कै बौद्धनाथ बन्दै


काठमाडौ, मंसिर २६ - अबको केही वर्षमा ताइवानको ताइनाम सहरमा ठ्याक्कै बौद्धनाथ फेला पार्नुभयो भने अनौठो हुने छैन । ताइनाम सहरमा केही समय डुंगा चढेपछि एउटा भूमि आइपुग्ने छ, जहाँ 'नेपाल रोड' नामक रिङरोड हुनेछ । त्यहीभित्र नेपाली पाराका पुराना घरहरू र स-साना पसलहरू पनि भेटिने छन्, जस्तो अहिले बौद्धनाथ स्तूपाको वरिपरि देख्न सकिन्छ । तिनै घरहरूको घनाबस्तीबीच उभिएको हुनेछ ठ्याक्कै बौद्धनाथ स्तूपा । उही आकार, प्रकार र कलाकौशलमा हुने यो स्तूपा नेपालकै बौद्धनाथको 'रिप्लिका' बनाउन थालिएको हो । ताइवानस्थित कदम्पा धर्म सेन्टरले मंगलबार यससम्बन्धी गुरुयोजना घोषणा गर्‍यो ।

राजधानीको बौद्धनाथ परिसरमा आयोजित विश्व शान्ति पूजाका अवसरमा कदम्पा धर्म सेन्टरबाट आएका डेभिड चाङको टोलीले बौद्धनाथ स्तूपाको रिप्लिका निर्माण घोषणा गरेको हो । हाल मंगोलियाको राजधानीमा यस्तै रिप्लिका बन्दै गरेको भए पनि १६ रोपनीमा फैलिने ठ्याक्कै बौद्धनाथ बराबरको भने यो पहिलो स्तूपा हुनेछ । बौद्धनाथ बनाउन लागिएको थलोमा रोप्न नेपालका तर्फबाट पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठले लुम्बिनीबाट ल्याएका बोधी वृक्ष पूजाकै अवसरमा चाङलाई हस्तान्तरण गरे । 'मुलुकको पर्यटन विकासमा यस्तो कार्यले सघाउने छ,' मन्त्री श्रेष्ठले भने, 'दुईदेशीय सांस्कृतिक र धार्मिक सम्बन्धमा पनि यो कोसेढुंगा हुनेछ ।' मन्त्री श्रेष्ठले चाङलाई प्रशंसापत्रसमेत प्रदान गर्दै कार्यसफलताको शुभकामना दिए ।

 बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले पनि ताइवानमा बन्न लागेको बौद्धनाथ स्तूपाको रिप्लिकाले दुईदेशीय सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने बताए । पूजापछि आयोजित पत्रकार सम्मेलनमा स्तूपा योजनाबारे बोल्दै चाङले स्तूपा परिसरमा नेपालकै जस्तो वरिपरिको अवस्थितिसमेत निर्माण गरिने जनाए । 'यहाँ जस्तै होटल, संग्रहालय र पसलहरू पनि हुनेछन्,' उनले भने, 'यी सबैमा सक्कल प्रति नेपालमा छ भनेर लेखिनेछ ।'

चाङका अनुसार यस्तो योजना ताइवानस्थित अवतारी लामा धर्मगुरु मास्टर ली फुटियनको परिकल्पनामा बनेको हो । फुटियनले आफू पहिलो जुनिमा नेपालकै बौद्धनाथस्थित पूर्वचिनियाँ लामा गणेशबज्रका भाइ रहेको दाबी गर्दै आएका छन् । 'यही भएर पनि उहाँले नेपालप्रति बढी झुकाव देखाउनुभएको हो,' चाङले भने । दुई पटक नेपाल आइसकेका फुटियनले आफ्नै धार्मिक संस्था कदम्पा धर्म सेन्टरमार्फत योजनालाई मूर्तरूप दिन लागेका हुन् । धार्मिक संस्थाकै निजी लगानी रहने यो योजना पूरा गर्न १० अर्ब अमेरिकी डलर लाग्ने चाङले जनाए । 'तीन वर्षभित्र सुरु गरी पाँच वर्षभित्र पहिलो चरणको काम सकाउने छौं,' उनले भने, 'सबै सक्न त दस/पन्ध्र वर्ष नै लाग्न सक्छ ।' शी हु सिङ कम्पनीले निर्माण ठेक्का पाएको स्तूपाका लागि कालिगढहरू नेपालबाटै लैजाने पनि उनले जनाए ।

बौद्धनाथ स्तूपा सातौं शताब्दीअघि गुरु रिम्पोचे पदम सम्भवको अघिल्लो जुनिमा निर्माण गरिएको बौद्ध मान्यता छ । स्वर्गमा फूल चोरेपछि सजाय भोग्न नेपालको सामान्य कुलमा जन्मिएकी झ्याझिमा नामक युवतीले यो स्तूपा निर्माण गरिएको मानिन्छ । मिथअनुसार झ्याझिमाले घोडा, कुकुर, सुंगुर र कुखुरा व्यापारीसँग पालैपालो बिहे गरिन् तर एक-एक छोरा भएपछि चारैजना लोग्ने मरे । अघिल्लो जुनिको पापबोध भएपछि झ्याझिमाले प्रायश्चित्तका लागि स्तूपा बनाएको मानिन्छ । आमाबाट सुरु भएको यो स्तूपा छोराहरूले पूरा गरेका थिए ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.