एक वर्षभित्र संविधान दिन कांग्रेस–एमाओवादी सहमत


काठमाडौ, मंसिर २३ -  नेपाली काँग्रेस र एमाओवादीबीच एक वर्षभित्र संविधान निर्माण गर्न सहमत भएका छन् ।
दुई पार्टीबीच आइतबार माओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा भएको छलफलमा काँग्रेसले एमाओवादीलाई संविधान निर्माण प्रक्रियामा सहभागी हुन र जनताको मतलाई स्वीकार गर्न आग्रह गरेको थियो भने एमाओवादीले ‘संविधानसभा निर्वाचनका सम्बन्धमा देखिएका धाँधली तथा नीतिगत कमजोरी’को छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गरेको थियो ।
एमाओवादी अध्यक्ष दाहालले आफ्नो पार्टी शान्ति र संविधानको पक्षमा नै छ भन्दै ‘निर्वाचनमा भएको र गरिएको संरचनागत, नीतिगत र संस्थागत धाँधली’को छानबिन गर्न माग गर्नुभएको थियो । एमाओवादीको मागमा कांग्रेसले सबै विषयलाई वार्ता र संवादका माध्यमबाट समाधान गर्न सकिने बताएको कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।
उनले भने, ‘हामीले संविधान निर्माणमा सहयोग गर्न एमाओवादीलाई आग्रह गर्यौं, एमाओवादीले धाँधलीलगायत विषयमा छानबिन गर्न माग गरेको छ, तैपनि वार्ता सकारात्मक नै रह्यो ।’ दुई दलबीच आज खुलेर कुराकानी भएको र समस्या समाधानका लागि दुवै दल लचक रहेको समेत उनले जानकारी दिए ।
दुई दलबीच पुनः छलफल जारी राख्ने विषयमा पनि सहमति भएको छ । सो छलफलमा काँग्रेसका तर्फबाट सभापति सुशील कोइराला, उपसभापति पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, कोषाध्यक्ष चित्रलेखा यादव तथो एमाओवादीबाट अध्यक्ष दाहाल, नेता डा बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी सहभागी थिए ।
शनिबार काँग्रेस र नेकपा(एमाले)बीच भएको छलफलमा  आइतबार दुवै दलले एमाओवादीसँग छुट्टाछुट्टै छलफल गर्ने निर्णय भएको थियो । यसैबीच एमाओवादी र नेकपा(एमाले)का शीर्ष नेताबीच छलफल भर्खरै सुरु भएको छ । रासस
        `

,

0 comments

Write Down Your Responses

Powered by Blogger.