राष्ट्रिय टिममा पृथुको कमब्याक


राहुल र अमृत बाहिर
काठमाडौ, मंसिर २४ - नयाँ खेलाडी सोमपाल कामीलाई सामेल गर्दै वान-डे विश्वकप छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार १५ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको छ । पारस खड्काको नेतृत्वमा रहेको टिममा युवा मिडियम पेस बलर सोमपाल पहिलोपल्ट पर्न सफल भए भने चोटका कारण यूएईमा भएको ट्वान्टी-ट्वान्टी विश्वकप छनोटमा टिममा पर्न असफल पृथु बाँस्कोटाले कमब्याक गरेका छन् ।

यूएई भ्रमण गरेका स्पिनर राहुलकुमार विश्वकर्मा र मिडियम पेस बलर अमृत भट्टराई भने टिमबाट बाहिरिए । अमृतको स्थानमा सोमपाल आए भने राहुलको स्थानमा पृथुलाई ल्याइएको हो । यस्तै, प्रशिक्षक पुबुदु दसानायकेले जर्नी टु वल्र्डकप प्रतियोगिताका अन्तिम दुई खेलमा हेर्न बोलाएका भेट्रान स्पिनर राजकुमार प्रधान टिममा पर्न असफल रहे ।

ट्वान्टी-ट्वान्टी विश्वकप छनोट खेलेका पन्ध्र खेलाडीबाट दुई जनालाई परिवर्तन गरिएको हो । उपकप्तानमा ज्ञानेन्द्र मल्ललाई नै निरन्तरता दिइएको टिममा शरद भेषवाकर, शक्ति गौचन, वसन्त रेग्मी, अनिल मण्डल, विनोद भण्डारी, प्रदीप ऐरी, सागर पुन, जितेन्द्र मुखिया, महेश क्षेत्री, सुवास खकुरेल र अविनाश कर्ण छन् । यस्तै, वैकल्पिक खेलाडीमा नरेशबहादुर बुढाऐर, रामनरेश गिरी, अमृत र राहुल छन् । वान-डे विश्वकप छनोट जनवरी १३ देखि फेब्रुअरी १ सम्म न्युजिल्यान्डमा हुँदैछ ।

'मिहिनेत गरेको थिएँ’

टिममा कमब्याक गर्न सफल अलराउन्डर पृथुले त्यसका लागि धेरै मिहिनेत गरेको कान्तिपुरसँग बताए । उनले भने,'चोटका कारण मैले यूएईमा खेल्न पाइनँ । एक महिनासम्म मैले दैनिक खुट्टाको उपचारमै बिताएँ,' उनले भने,'त्यसपछि मैले दैनिक ५ घन्टा अभ्यास गरिरहें । मिहिनेत गरे फेरि टिममा पर्न सकिन्छ भन्ने मलाई पूर्ण विश्वास थियो ।' उनले एउटा विश्वकपमा नेपाललाई पुर्‍याउँदा नभए पनि वान-डे विश्वकपमा पुर्‍याउन आफूले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले जर्नी टु वल्र्डकपमा ब्याट, बलसँगै फिल्डिङमा राम्रो गरेर प्रशिक्षक पुबुदुको मन जितेका थिए । टिमले न्युजिल्यान्डमा राम्रो गर्न सक्ने पूर्ण विश्वास रहेको प्रशिक्षक पुबुदुले बताए । प्रतियोगिता महत्त्वपूर्ण रहेको र त्यसमा विश्वकप छनोटसँगै वान-डे मान्यता पाउन नेपाली टिमलाई मौका रहेको उनले बताए । उनले धेरै ठाउँमा सुधार गर्नुपर्ने पनि जानकारी दिए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.