एमाओवादीको ध्यान मेलमिलाप आयोगतिर


काठमाडौ, पुस ७ - एमाओवादीले आफू संविधानसभामा जाने एउटा सर्तका रूपमा सत्य निरूपण तथा मेलमिलाप आयोग गठन छिटो हुनुपर्ने प्रस्ताव अघि सारेको छ । विगतका सहमतिलाई कार्यान्वयन गर्दै आयोग छिटो बन्नुपर्ने उसको जोड छ ।

संविधानसभामा आफ्नो उपस्थिति कमजोर हुने भएपछि एमाओवादीले आयोग बन्न जति ढिलाइ भयो, त्यति आफ्ना नेता तथा कार्यकर्ता द्वन्द्वकालीन मुद्दामा समातिने खतरा भएको आशंका गर्दै यस्तो जोड दिएको हो । हालै गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याको घटनामा एमाओवादी कार्यकर्ता समातिएलगत्तै उसले आयोग गठन छिटो हुनुपर्ने भनेको हो ।

एमाओवादीले आयोग गठनका लागि ठूलो दल कांग्रेससँग विशेष छलफल अघि बढाएको छ । द्वन्द्वकालका घटनामा 'मेलमिलाप' मुख्य उद्देश्यसहित आयोग बनाउन कांग्रेससित छलफल केन्दि्रत भएको उसले जनाएको छ । एमाओवादी नेता कृष्णबहादुर महराले शान्ति प्रक्रियाको अभिन्न अंग सत्य निरूपण तथा मेलमिलाप आयोग भएकाले त्यसको छिटो गठन हुनुपर्ने बताए । 'आयोग गठन गर्ने कुरामा पार्टीहरू नकारात्मक हुन्छन् भन्ने लागेको छैन' उनले कान्तिपुरसँग भने, 'आयोगले सत्य निरूपण गरी मेलमिलापतिर लानुपर्छ ।'

सशस्त्र युद्धका जघन्य घटनामा संलग्नलाई कस्तो कारबाही गर्ने भन्ने विषयमा दलहरूबीच विगतमा कुरा मिल्न सकेको थिएन । एमालेले त्यस्ता घटनामा संलग्नलाई माफी दिन नहुने अडान राख्दै आएको छ । युद्धमा सरकारको नेतृत्व गरेको हैसियतले कांग्रेस र विद्रोहीका हैसियतले माओवादी संलग्न भएकाले दुवै दलले आयोग मेलमिलाप उन्मुख हुने गरी बनाउन चाहेका छन् ।

एमाओवादीको हरेक शनिबार हुने पत्रकार भेटघाटमा प्रवक्ता अग्नि सापकोटाले आयोगले द्वन्द्वकालीन पक्षहरू मिल्ने वातावरण बनाउनुपर्ने बताए । 'एकथरी दल कारबाही उन्मुख हुने गरी आयोग बनाउनुपर्ने

भनका छन्,' उनले भने, 'हामी मेलमिलाप उन्मुख हुनेगरी गठन हुनुपर्छ भनेका छौं ।'

,

0 comments

Write Down Your Responses

Powered by Blogger.