नदी नियन्त्रणका लागि भारतद्वारा ३७ करोड सहयोग


काठमाडौ, मंसिर २४ - वाग्मती, लालबकैया र कमलानदी नियन्त्रणका लागि तटबन्धको निर्माण गर्न नेपाल सरकारलाई भारत सरकारले अनुदान सहयोग स्वरुप करिब रु ३७ करोड रुपैयाँ प्रदान गरेको छ ।

नेपालका ती नदी भारतसँग सीमा जोडिएका छन् । वर्षात्मा जल उत्पन्न प्रकोपका कारणले बर्षेनी नेपाली पक्षले भौतिक क्षतिसम्बन्धी पीडा भोग्नु परिरहेको छ । नेपाल भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको सातौं बैठकको निर्णय अनुरुप भारत सरकारले उक्त रकम ती नदी नियन्त्रणका लागि निकासा गरेको हो ।

सिँचाइमन्त्री उमाकान्त झालाई नेपलाका लागि भारतीय राजदूत रञ्जित रेले सोमबार अयोजित कार्यक्रममा उक्त रकम हस्तान्तरण गरेको हो । यसअघि भारत सरकारबाट वाग्मती नियन्त्रणका लागि करिब रु ७५ करोड, लालबकैया नियन्त्रणका लागि रु ७७ करोड र कमला नियन्त्रणका लागि एक अर्ब रु १९ करोड रुपैयाँ  प्रदान गरिसकेको छ । यसबाट वाग्मतीमा ४० किमि, लालबकैयामा ६१ किमि तथा कमलामा ६६ किमि गरी १६७ किमि तटबन्ध निर्माण भइसकेको छ ।

कार्यक्रममा मन्त्री झाले वर्षात्मा ढुवानी समस्या समाधान गर्न दुई देशबीच थप आपसी सहयोगको खाँचो औँल्याए । मन्त्रालयका सचिव प्रतापकुमार पाठक र जलउत्पन्न प्रकोप नियन्त्रण विभागका महानिर्देशक प्रदीपराज पाण्डेले बाढीको प्रभावकारी व्यवस्थापनमा भारत सरकारले प्रदान गरेको सहयोगका लागि नेपाल सरकारका तर्फबाट धन्यवाद दिए ।  रासस


,

0 comments

Write Down Your Responses

Powered by Blogger.