विश्वकप फुटबल ट्रफी आज ल्याइँदै


काठमाडौ, पुस ६ - विश्वकप फुटबलको ट्रफी नेपालमा पहिलोपल्ट शनिबार आउँदैछ । ब्राजिलमा अर्को वर्ष हुने विश्वकपको पूर्वसन्ध्यामा ट्रफीलाई विभिन्न देशका सहर घुमाउने क्रममा नेपालमा पनि ट्रफी ल्याउन लागिएको हो । पेय पदार्थ कोकाकोलामार्फत ट्रफी नेपालमा ल्याउन लागिएको हो । 

ट्रफी बिहान ९ बजे भुटानबाट नेपाल आइपुग्ने कोककोलाका पदाधिकारीले जानकारी दिए । उनका अनुसार विश्व फुटबल महासंघ (फिफा) को प्राइभेट जेटमा ल्याइने ट्रफीसँगै विश्वकप विजेता टिमका कप्तान हुनेछन् । को कप्तान ट्रफीसँगै आउनेछन् भन्नेचाहिँ शनिबार दिउँसो दशरथ रंगशालामा थाहा हुनेछ ।

ट्रफीबारे सुरक्षाको कारण देखाउँदै कोकाकोला नेपालले केही बोल्न चाहेको छैन । ट्रफी र अन्य जानकारी शनिबार दिउँसो १२ बजे हुने पत्रकार सम्मेलनमा जानकारी दिने कोकाकोलाका पदाधिकारीले बताए । कार्यक्रमका लागि कोक नेपालले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग यसअघि नै सहकार्य गरिसकेको छ । ट्रफीलाई विजेता टिमका कप्तान र कुनै पनि देशका राष्ट्रप्रमुखले मात्र छुन वा हातमा लिन पाउनेछन् ।

राष्ट्रपति डा. रामवरण यादवले उक्त ट्रफी उचाल्ने कार्यक्रम पनि रहेको छ । स्रोतका अनुसार ट्रफी त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रदर्शन गरिनेछ । ट्रफी कतार, यूएई, बंगलादेश, भुटान हुँदै नेपाल आउन लागेको हो । नेपालबाट ट्रफी भारत, म्यानमार, थाइल्यान्ड, भियतनाम हँुदै जानेछ । फिफाले कोकाकोलासँग मिलेर थालेको ट्रफी टुर यसपल्ट २ सय ६७ दिनको रहेको छ । त्यसमा ८९ राष्ट्रका जनताले यसपल्ट ट्रफी हेर्न पाउनेछन् ।

विश्वकप फुटबल सन् १९३० मा उरुग्वेबाट सुरु भएको हो । फुटबलको विश्वकप ट्रफी १८ क्यारेट सुनको रहेको छ । ट्रफीको उचाइ ११ दशमलव ४ इन्च छ । यसको तौल ५ केजी छ । त्यसको मूल्य करिब १ करोड डलर बराबर छ । ब्राजिलमा सन् २०१४ को जून १२ देखि जुलाई १३ सम्म विश्वका उत्कृष्ट ३२ फुटबल टिमले यही ट्रफीका लागि संघर्ष गर्नेछन् । प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन स्पेन हो ।

कोक नेपालले सुरक्षाको दृष्टिकोणलाई मध्यनजर राखेर दशरथ रंगशालामा प्रहरीलगायत विभिन्न सुरक्षा निकायको सहयोगमा बाटोहरू शुक्रबारै बनाएको छ । चार लेयरको सुरक्षा प्रणाली अपनाइने भएको छ । आइतबार भारत प्रस्थात गर्ने ट्रफी कोकका विभिन्न स्किमका भाग्यमानी विजेता, नेपालका खेलाडी, नेपाल सरकारका उच्च पदाधिकारीलगायत विभिन्न सर्वसाधारणले हेर्ने अवसर पाउनेछन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.