दाहाललाई आत्मालोचना गराउन पार्टीभित्रै दबाब


नैतिक रूपमा जिम्मा लिन्छु भन्नु भएको हो : देवेन्द्र पौडेल
अध्यक्षप्रति प्रश्न उठाउन खोज्ने व्यक्ति पार्टीका नेता हुन सक्दैन : वर्षमान पुन


काठमाडौं, मंसिर २८ - संविधानसभा निर्वाचनमा एमाओवादीको नराम्रो पराजयपछि अध्यक्ष पुष्पकमल दाहाललाई आत्मालोचना गर्न 'नैतिक दबाब' परेको छ । पार्टीभित्रै समेत उनको नेतृत्वप्रति प्रश्न उठाउन थालिएको छ ।

दाहालले यो विषयलाई गम्भीर रूपमा लिंदै पार्टीभित्र खुलेरै छलफल गर्ने मनस्थिति बनाएको निकट स्रोतले जनायो । दाहाल निकट नेताहरूले भने पार्टीले ठूलो पराजय भोगेको बेला मूल नेतृत्वप्रति प्रहार गर्न खोज्ने नेताहरू एमाओवादीका नेतै हुन नसक्ने बताएका छन् ।

पार्टी हार्नुको कारण 'धाँधली' भनिए पनि मूल नेतृत्व अर्थात् दाहालमाथि विशेष गरी नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ निकटका केही नेता/कार्यकर्ताले प्रश्न उठाउन थालेका छन् । २०६४ सालको निर्वाचनमा प्रत्यक्षमा १ सय २० सिट जितेको एमाओवादी यो निर्वाचनमा जम्मा २६ सिटमा झर्नुमा नेतृत्वको 'कमजोरी' जिम्मेवार भएकाले गम्भीर आत्मालोचना गर्नुपर्ने उनीहरूको भनाइ छ ।

निर्वाचनमा 'अदृश्य' धाँधली भन्दै मूल नेतृत्व जिम्मेवारीबाट पन्छिन खोजेकाले दाहालमाथि प्रश्न उठाउन थालिएको हो । मंसिर पहिलो साता भएको केन्द्रीय समिति बैठकमा दाहालले पार्टी पराजय भएकोमा 'नैतिक जिम्मेवारी' लिने बताएका थिए । 'पार्टी पराजय भएकोमा अध्यक्षले नैतिक रूपमा जिम्मा लिन्छु भन्नुभएको हो,' नेता देवेन्द्र पौडेलले भने, 'उहाँले मात्र होइन, सबैले आ-आफ्नो ठाउँमा जिम्मा लिनुपर्छ भन्ने कुरा हो ।'

करिब २४ वर्षदेखि पार्टीमा शक्तिशाली रहँदै आएका दाहाल बेलाबखत अप्ठ्यारोमा पर्दै आएका भए पनि यसपटक ठूलै नैतिक दबाबमा छन् । २०६४ मा पार्टीलाई सबभन्दा ठूलो पार्टी बनाउन सफल भए पनि त्यसपछि उनले चालेका कदमले पूर्णता नपाएको धेरैको बुझाइ छ ।

'शान्ति प्रक्रियामा आइसकेपछि अध्यक्षले लिएका कदम सफल भएका छैनन्,' एक नेताले भने, 'सरकार, सदन र सडकमा पार्टीको हातमा असफलता हात लागेको छ । यसपटक पराजयको कारण पनि यी घटनाक्रमसँग गाँसिएको छ ।'

तर, दाहाल निकट नेता वर्षमान पुनले पार्टी पराजय हुनुमा बाह्य र आन्तरिक कारण हुँदाहुँदै अध्यक्ष दाहालप्रति प्रश्न उठाउन खोज्ने व्यक्ति 'पार्टीका नेता हुन नसक्ने' टिप्पणी गरे । 'केन्द्रीय समिति बैठक बस्दै छ, पराजयको आन्तरिक र बाह्य कारण त्यहीँ छलफल हुन्छ' उनले कान्तिपुरसँग भने, 'अहिले अध्यक्षप्रति प्रश्न उठाउनेले बुझ्नुपर्छ, अध्यक्षले राजनीतिक नेतृत्वमा सरकार बनाऔं भन्दा नमान्ने नेताहरूले यो पराजयको जिम्मा लिनु पर्दैन ?'

उनले पार्टी पराजय हुनुमा 'धाँधली' र 'षड्यन्त्र' मुख्य कारण भएको दाबी गर्दै आन्तरिक कारणको पनि समीक्षा गर्ने बताए । 'पराजयमा को कति जिम्मेवार छ, त्यो सबै समीक्षा हुनेछ,' उनको भनाइ छ ।

विगतमा दाहाल पक्षको चेपुवामा परेका भट्टराई र श्रेष्ठका नेता तथा कार्यकर्ताले अध्यक्षको हैसियतले दाहालले 'आत्मालोचना' नगरेकोमा आक्रोश व्यक्त गर्न थालेका छन् । अध्यक्षको हैसियतले पार्टीलाई 'सर्वहारकरण' मा रूपान्तरण नगरी व्यवहारलाई 'चरम उपभोक्तावादी' बनाएको उनीहरूको आरोप छ ।

पार्टीलाई सांस्कृतिक रूपमा रूपान्तरण गर्ने पटकपटक वाचा गरे पनि आफू त्यसमै 'विलीन' हुन पुगेको, लामो समय पार्टीमा खर्चेका नेता तथा कार्यकर्तालाई पाखा लगाई 'शक्ति र स्रोतको बलमा भित्रिएका' व्यक्तिलाई विश्वासमा लिएको उनीहरूको भनाइ छ ।

'पार्टीका इमानदार, दुःख गरेकाहरूलाई रुवाउँदै शक्ति र स्रोतको बलमा छिरेकालाई हँसाएको हामीले देखेका छौं,' एक नेताले भने, 'पार्टी हारेकोमा हामीलाई दुःख लाग्नु स्वभाविक भए पनि यसबाट शिक्षा लिएर अघि बढ्नुको विकल्प छैन ।'

हेटौंडा महाधिवेशनले लिएको शान्ति र संविधान निर्माण अन्तर्गत 'पुँजीवादी जनवादी क्रान्तिको कार्यदिशा' जनतालाई बुझाउन नसक्नु, संविधान निर्माण अन्तर्गत जातीय पहिचानसहितको संघीयतालाई नेतृत्वले स्पष्ट गर्न नसकेको विषयमा पार्टीभित्रै बहस हुन थालेको छ । एमाओवादीभित्र एकल जातीय कि बहुजातीय पहिचान भन्ने विषयमा समेत बहस सुरु हुन थालेको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.