कांग्रेसमा १२ जनाको फरक मत


काठमाडौ, पुस १६ -
भागबन्डा भएको भन्दै तीव्र विरोध 
 कांग्रेसले समानुपातिकतर्फ आफ्नो कोटाका ९१ सभासदको सूची सोमबार निर्वाचन आयोगमा बुझाएको छ । त्यसअघि कांग्रेस संसदीय समितिले गरेको निर्णयलाई केन्द्रीय कार्यसमितिको बहुमतले अनुमोदन गरेको थियो ।

सभासद छनोटलाई लिएर पार्टीभित्र तीव्र विरोध सुरु भएको छ । नेताहरूले संसदीय समितिको निर्णयलाई सर्वसम्मत रूपमा अनुमोदन गराउने प्रयास गरे पनि हुन नसकेपछि बहुमतका आधारमा निर्णय गरिएको थियो ।

सभासद छनोटलाई लिएर केन्द्रीय कार्यसमितिका १२ सदस्यहरूले फरक मत दर्ता गराएका छन् । उनीहरूले योग्य र क्षमतावानभन्दा पनि पार्टीभित्र भागबन्डाका आधारमा सभासद छनोट गरिएको भन्दै असन्तुष्टि जनाएका हुन् । फरक मत लेख्नेहरूमा केन्द्रीय सदस्यहरू आमोद उपाध्याय, दीपकुमार उपाध्याय, रमेश रिजाल, राजन पन्त, गगन थापा, सुरेन्द्र पाण्डे, चन्द्र भण्डारी, बाबुराम राना, जीवन शाही, अजय चौरासिया, अर्जुन जोशी र मीना सुब्बा छन् ।

संसदीय समितिले केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई प्राथमिकतामा राखे पनि सूचीमा रहेका चार सदस्य मात्रै फालिएका छन् । समानुपातिक सूचीका ३४ केन्द्रीय सदस्यमध्ये पाण्डे, पन्त, राना, सुब्बा भागबन्डामा अटाएनन् । उनीहरूले अन्य केन्द्रीय सदस्यहरू के मापदण्डका आधारमा परे र आफूहरू किन परिएन भन्दै बैठकमा नेतृत्वसँग प्रश्न गरेका थिए । १२ औं महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्यमध्ये नपर्नेमा पाण्डे मात्रै हुन् ।

समानुपातिकतर्फ कांग्रेसले पाएको ९१ सिटमा संस्थापन पक्ष र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षबीच पहिल्यै साठी-चालीसको भागबन्डा गराई निर्णय गरिएको थियो । जसअनुसार संस्थापन पक्षले ५५ र देउवा पक्षले ३६ सभासद पाएका छन् । दुई पक्षबीचको भागबन्डाअनुसार ल्याइएको सूचीलाई संसदीय समितिले निर्णय गरेको थियो । त्यसपछि केन्द्रीय समितिमा अनुमोदनका लागि लगिएको हो । दुई पक्षबीच खासै विवाद नभए पनि आ-आफ्नो गुटभित्र भने चर्को विवाद भएका कारण निर्णयमा ढिलाइ भएको थियो । यसअघि समानुपातिकमा परेकालाई प्राथमिकतामा नपार्ने भनिए पनि १९ जनालाई दोहोर्‍याइएको छ । 

असन्तुष्ट सदस्यहरूले सभासद छनोट मापदण्डका आधारमा नभएको, कुनै जिल्लामा बढी र कुनै खाली रहेको, भागबन्डा गर्दा योग्य र क्षमतावान सदस्यहरू नपरेको भन्दै असन्तुष्टि जनाएका थिए । निर्णयपछि पार्टी केन्द्रीय कार्यालयबाहिर असन्तुष्ट कार्यकर्ताहरूले नाराबाजी गरेका थिए । 

नेताहरूले आफ्नो गृहजिल्लामा भने सबैभन्दा बढी सभासद पार्न सफल भएका छन् । सबैभन्दा बढी केन्द्रीय सदस्य विमलेन्द्र निधिको गृहजिल्ला धनुषाका ८ सभासद परेका छन् । सभापति सुशील कोइरालाको गृहजिल्ला बाँकेका ५ सभासद परेका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको वरिष्ठ नेता शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराबाट ३ र उपसभापति रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँबाट ३ सभासद पारिएको छ ।

प्रत्यक्षतर्फ प्रतिनिधित्व नभएको २५ जिल्लामा प्रतिनिधित्व गराउने भए पनि कतिपय जिल्ला समानुपातिकतर्फ पनि समेटिएको छैन । बैठकमा असहमति जनाउँदै युवा नेता थापाले पार्टीभित्र भागबन्डाको गलत संस्कार र परम्परा बसालिन खोजिएको भन्दै आफूले त्यसविरुद्ध विद्रोह गर्ने बताएका थिए । उनले समानुपातिक सभासद छनोट पनि सिंगो पार्टीभित्र नभएर मोर्चाबन्दीमा गरिएको भन्दै कडा आपत्ति जनाएको स्रोतले बतायो ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.