किन टुट्यो सम्बन्ध


काठमाडौ, पुस - निर्देशक अनुराग कश्यप र नायिका कल्की कोचलिनको वैवाहिक सम्बन्ध टुक्रेको खबरलाई ओझेलमा पार्ने गरी यो साता अर्को सनसनीपूर्ण कुरो आयो, हृतिक रोशन र सुजैनको डिभोर्सको । शंका त पहिल्यैदेखि थियो । 'क्रिस ३' को सफलताको खुसीमा सुजैन कतै देखिएकी थिइनन् । यतिसम्म कि ससुरा राकेशको बर्थ डे पार्टीमा पनि उनी क्षणभरका लागि मात्रै झुल्केकी थिइन् ।

हृतिक र सुजैन बालसखा हुन् । १२ वर्षको छँदै हृतिकले उनलाई चिन्थे । तर पछि चार वर्षदेखिको अफेयरलाई सन् २००० मा उनले आधिकारिक बनाए । तर डिसेम्बर २० मा १३ औं म्यारिज एनिभर्सरी मनाउनुअघि नै डिभोर्स भएको छ ।

'सुजैनले अलग्गिने निर्णय गरेकी छन् र १७ वर्षदेखिको हाम्रो सम्बन्ध पनि सकिएको छ,' हृतिकले भने । यति भने पनि दुई छोराका यी अभिभावकलाई सजिलो भने पक्कै हुनेछैन । ३९ वषर्ीय नायक टाउको दुख्ने समस्याले पहिलेदेखि हायलकायल थिए ।  सर्जरीका लागि उनी विदेश जाने तयारीमा थिए । उनी सुजैनको बुटिक उद्घाटनका लागि रोकिएका थिए । तर सुजैन पतिका लागि रोकिइनन् । उपचारको परिणाम जेसुकै आउन सक्ने अवस्थामा पतिलाई थप समय र साथ दिनुपर्नेमा उनले डिभोर्स दिइन् ।

डिभोर्सको कारण भने दुवै पक्षले गुपचुप राखेका छन् । शंका भने अर्का नायक अर्जुन रामपालमा गएर ठोक्किएको छ । रोशन दम्पतीका निकट मित्र अर्जुनलाई सुजैन भड्काएको आरोप लागेको छ । अर्जुनले भने डिभोर्समा आफ्नो हात नरहेको जिकिर गरेका छन् । 'नजिकका साथीहरूको सम्बन्ध बिग्रँदा बढ्ता पीर पो लाग्छ छ,' उनले विज्ञप्तिमा भनेका छन् ।

हृतिक-सुजैन सम्बन्धमा पहिलेदेखि नै घरीघरी समस्या उब्जिरहेको थियो । पहिलो फिल्म 'कहो ना प्यार है' पछि हृतिकले सुजैनलाई भित्र्याउनुअघि नै दोस्रो फिल्म 'यादें' की को-स्टार करिना कपुरसँगको लिंकअप हल्ला चलेको थियो । हल्ला यति बढ्यो कि ससुरा सञ्जय खानले नै छोरीको हात हतारहतार हृतिकलाई सुम्पिए । पछि फेरि 'काइट्स' को-स्टार बारबारा मोरीसँग हृतिक नजिकिएपछि वैवाहिक सम्बन्धमा खटपट बढ्दै गयो । हृतिकले बारबाराको भाई किन्टरोलाई बलिउडमा स्थापित गर्न निकै लागि परेपछि सुजैनले घरै छोडेर पनि हिँडेकी थिइन् । पछि फर्किइन् ।

हृतिकको सम्बन्ध अन्य युवतीसँग बारम्बार जोडिन थालेपछि धरापमा परेको वैवाहिक सम्बन्ध यतिबेला भने सुजैनले नायक अर्जुन रामपालसँग नजिक्याएपछि टुक्रिएको पनि मानिएको छ, भलै सम्बन्धितले नकारेका हुन् । तीन महिनाअघि पनि सुजैनले घर छोडेर माइती गएकी थिइन् । बुबा सन्जय पनि पछिल्लो समय दुईको सम्बन्धलाई लिएर दुःखी थिए । 'अरू सामान्य दम्पतीकै जस्तै उनीहरूमा पनि समस्या नभएको होइन । हृतिक सुपरस्टार भएकै कारण निजी जीवनका लागि समय चाहिँदैन भन्ने होइन । उनीहरू दुवै जान्ने बुझ्ने छन् तर पनि एकअर्काबीचमा पनि आफ्नो संसार हुनु जरुरी थियो,' सञ्जयले हालै भनेका छन् ।

हलिउडमा सेलिबि्रटीको ब्रेकअप र रिलेसनसिप अब सामान्य बन्दै गए पनि बलिउडमा त्यस्तो प्राक्टिस अति कम छ । केही वर्षअघि आमिर खानको पनि पत्नी रिनासँगको ब्रेकअपले खैलाबैला मच्चिएको थियो । पछि उनले किरण रावलाई भित्र्याए । सैफ अली खानको पनि पहिलो विवाह असफल भएको थियो ।

हलिउडमा पनि हालै मोडल मिरान्डा केर र नायक ओर्लान्डो ब्लुम, डेमी मूर-एस्टिन कुचर, जेनिफर लोपेज-मार्क एन्थोनीको ब्रेकअप भएको थियो ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.