सकियो 'कोहिनूर'को सुटिङ


काठमाडौं– अभिनेता श्रीकृष्ण श्रेष्ठले अभिनय र निर्माण गरेको दोस्रो फिल्म 'कोहिनूर'को सुटिङ सकिएको छ। बुधबार राजधानीको शेर्पा मलमा फिल्मको क्लाइमेक्स खिचेसँगै सुटिङ पनि टुंगिएको हो। भदौदेखि सुटिङ थालिएको फिल्मले चाडपर्व तथा चुनावको अवरोध खेप्दै ४७ दिन सुटिङ गर्नुपर्यो।


आकाश अधिकारीले निर्देशन गरेको फिल्ममा श्रीकृष्णसँगै श्वेता खड्का, सम्राट सापकोटा, मुकुन्द श्रेष्ठ, मिथिला शर्मा, गोपाल अर्याल, मार्टिन खान आदिले अभिनय गरेका छन्।

तीन वर्षअघि 'कहाँ भेटिएला'मार्फत् अभिनेता र निर्माताको दोहोरो भूमिकामा उत्रिएका श्रीकृष्णले यथार्थवादी फिल्म बनाउन गाह्रो भएको अनुभव पोखे। 'समसामयिक विषयमा यथार्थको नजिक भएर फिल्म बनाउन गाह्रो हुने रहेछ। यस्ता फिल्मको सुटिङका लागि प्रशस्त पूर्वाधार नहुँदा पनि गाह्रो अनुभव गरेको छु,' श्रीकृष्णले भने।

चेलीबेटी बेचबिखनको कथामा बनेको फिल्मको सुटिङ भारतको मुम्बईमा समेत गरिएको हो । श्रीकृष्णले फिल्मका दुई गीत र ३० भन्दा बढी दृश्य मुम्बईको भजनलाल स्टुडियोमा खिचिएको जानकारी गराए। 'मुम्बईमा हामीले रेडलाइट एरिया तथा अलिबाग जस्ता ठाउँ खिचेका छौं । फिल्ममा यथार्थ देखाउने ठाउँमा सकभर सम्झौता गरेका छैनौं,' श्रीकृष्णले थपे।

फिल्ममा श्वेता खड्काले बेचिएकी चेलीको रुपमा अभिनय गरेकी छिन्। श्वेताको यो चौथो फिल्म हो। 'कहाँ भेटिएला'मा श्रीकृष्णकी नायिकाको रुपमा अभिनय थालेकी श्वेताले खेलेका चारमध्ये तीनमा श्रीकृष्णले उनको हिरोको रुपमा अभिनय गरेका छन्।

श्वेताले 'कोहिनूर'को भूमिका आफ्ना लागि 'लाइफ टाइम' रहेको बताइन्। 'यो फिल्मको भूमिकाबाट म एकदमै सन्तुष्ट छु। यो मेरो करिअरको टर्निङ प्वाइन्ट हुनेछ,' श्वेताले भनिन्। श्वेताले श्रीकृष्णसँगको अफेयरबारे प्रश्नलाई भने हाँसेरै उडाइन्।

'हामी राम्रो साथी मात्र हौं। उहाँसँगै मात्र फिल्म खेल्नु संयोग हो । सबैले हामीलाई त्यसरी नै अफर गर्नु भएको हो। चित्त बुझ्दो भूमिका भयो भने म जोसँग पनि फिल्म खेल्न तयार छु,' श्वेताले भनिन्।

नेपा फिल्मस्को ब्यानरमा बनेको फिल्मको पटकथा यम थापा र विशाल सुब्बा मिलेर तयार गरेका हुन् भने फिल्मलाई राजु थापाले छायांकन गरेका हुन्। शम्भुजित बास्कोटाले संगीतसँगै फिल्ममा पुलिस अधिकृतको भूमिका निर्वाह गरेका छन्।

एक हप्तापछि पोस्ट प्रोडक्सनमा छिर्ने फिल्मलाई वैशाख वा साउनमा रिलिज गर्ने लक्ष्य रहेको निर्देशक अधिकारीले जानकारी गराए।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.