बोक्सी आरोपमा अचेत हुनेगरी कुटपिट


धादिङ, मंसिर २८ - बोक्सीको आरोपमा सुनौलाबजार-४ भोर्लेकी चनमती मग्रातीलाई छिमेकी आमाछोरी सुन्तली र सीता मग्रातीले अचेत हुने गरी निर्मम कुटपिट गरेका छन् । आक्रमणका क्रममा छुट्टयाउन खोज्दा घाइते भएकी पम्फा मग्रातीसहित पीडित ३३ वर्षीया चनमती उपचार र उजुरीका लागि सदरमुकाम धादिङबेंसी आएकी छन् । तर पीडककै पक्षमा लागेका गाउँलेले उल्टै चनमतीलाई मुद्दा नहाल्न र मिलापत्र गर्न 'चर्को दबाब' दिइरहेका छन् भने प्रहरीले समेत उजुरी लिन आनाकानी गरिरहेको छ ।

आमाछोरी सुन्तली र सीताको आक्रमणबाट चनमतीको दायाँ हातका दुई वटा औंला काटिएका छन् भने तिघ्रा र ढाडमा नीलडाम छ । 'घाँटी रेट्न भन्दै घाँस काट्ने करौंती लिएर आएका थिए,' चनमतीले भनिन्, 'हातले छेकेर घाँटी त जोगाएँ, तर हातका औंलाहरू छिने ।' हात काटिएर भुइँमा लडेपछि पनि तिघ्रा र ढाडमा लाठीले हानेको उनले बताइन् । हातमा ७ वटा टाँका लगाएर स्टिल राखिएको छ ।

केही दिनदेखि 'बोक्सीले बच्चा र गाई मारी' भन्दै गाली गरिरहेपछि सहनै नसकेर २५ गते मंगलबार आफूले 'बोक्सी भए प्रमाणित गरेर देखाउन' भनेको चनमतीले बताइन् । 'त्यसपछि त 'राँडी बोक्सी' लाई मार्छु भन्दै आक्रमण गर्न थाले,' उनले भनिन्, 'दुई वर्षदेखि बोक्सीको आरोप लगाउँदै आएका थिए । सहँदै आएँ । सहनै नसकेपछि किन बोक्सी भनेको भनेर सोध्दा आक्रमण गरियो ।'

आक्रमणका क्रममा सँगै रहेकी ३० वषर्ीया पम्फा मग्राती पनि घाइते भइन् । झगडा छुट्टयाउन गएकी उनलाई पनि सुन्तली र सीताले कुटपिट गरेका हुन् । पम्फाको टाउकोमा पाँच टाँका लगाइएको छ । काँध र खुट्टामा पनि चोट लागेको छ । पम्फा पनि उजुरी र उपचारका लागि चनमतीसँगै सदरमुकाममा छिन् ।

'बोक्सीको पक्षमा बोल्ने भन्दै मलाई पनि घोचोले हाने,' उनले भनिन्, 'रगतैरगतले शरीर भिज्दा पनि कपाल समातेर घिसारे, चनमती दिदी होसमा आएपछि लिएर उपचार गराउन आएँ ।'

सुन्तलीका श्रीमान रूपबहादुरले समेत 'हान हान' भनेर कुटपिटमा सहयोग गरेको उनीहरूले बताए । 'रूपबहादुरले टाउकोमा हान्नुपर्ने, हातमा हानेर गल्ती भो भन्दै थिए,' चनमतीले भनिन् । उनीहरू स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचार गर्न जिल्ला अस्पताल आएका हुन् । न्याय दिलाउनुको सट्टा उल्टै स्थानीय प्रहरीले मिल्नुपर्छ भनेर दबाब दिन थालेपछि भागेर सदरमुकाम आएको उनीहरूको बताए । जिल्ला प्रहरी कार्यालयमा पनि मिलापत्र गराउन बढी दबाब भइरहेको आरोप पम्फा र चनमतीको छ । बुधबारदेखि मुद्दा दर्ता गराउने उनीहरूको प्रयास बिहीबार पनि सफल हुन सकेन । 'मिलापत्रबाट घटना सामसुम पार्न' प्रहरीले मुद्दा लिन नमानिरहेको पीडितको गुनासो छ । 'मुद्दा छलफलकै क्रममा छ,' प्रहरी नायब उपरीक्षक अशोक सिंहले भने ।

सुन्तलीका श्रीमान् काठमाडौंमा मजदुरी गर्छन् । 'गाउँलेहरू हाम्रो पक्षमा छैनन्, हामी न्याय पाउन र पीडकलाई कारबाही गराउन मुद्दा दायर गर्न चाहन्छौं, गाँउले र प्रहरीले दिइरहेका छैनन्,' चनमतीले भनिन्, 'हाम्रो पक्षमा बोल्ने कोही नभएपछि महिलाअधिकारकर्मी दिदीहरूलाई भेटेका छौं । उहाँहरूले सहयोग गर्छौ भन्नुभएको छ ।'

,

0 comments

Write Down Your Responses

Powered by Blogger.