रत्नपार्कमा रोजगार
काठमाडौ, मंसिर २३ - घन्टाघरको सुईले बिहानको ७ बजेको संकेत गर्दा २२ वर्षे वसन्त बस्नेतले भोटाहिटीको आकासेपुलमुनिको अलिकति खाली ठाउँमा अड्डा जमाइसकेका हुन्छन् । हरेक दिनको बिहान यहीँ चिया पिउन पुग्ने दोलखाको जिल्लु-७ का यी युवालाई त्यस ठाउँले आजका दिन हातमुुख जोर्ने काम दिन्छ भन्ने विश्वास उनलाई छ ।
उनको दैनिकीसँगै जोडिएका छन्- रौतहटका रियाजुल खान, सप्तरीका प्रकाश पण्डित, सिन्धुलीकी ज्ञानु बस्नेतलगायत । हरेक बिहान १ हजार ५ सयदेखि २ हजारजना रोजगारी खोज्नेहरूको यहाँ मेला जत्तिकै लाग्छ । विदेशमा रोजगारी खोज्दै बाहिरिनेको संख्या बढिरहेका बेला स्वदेशमै काम गर्न चाहनेलाई रत्नपार्कले यस्तो अवसर दिंदै आएको छ ।
बस्नेत घर रंगाउने, प्लास्टर लाउने र पर्खाल बनाउने काममा कुशल छन् । सुकिला लुगा लगाएका उनलाई एक नजरमा कसैले पनि श्रमिक भन्न सक्दैनन् । 'यहीँ आएर काम सिकेको हुँ,' उनी भन्छन्, 'बितेका ४ वर्षदेखि मेरो रोजगार खोज्ने ठाउँ यही बनेको छ ।' कामदारहरू रोजगारी खोज्दै यहाँ आएजस्तै आफूलाई चाहिने कामदार खोज्दै ठेकेदार, साहुहरू यहीँ आउँछन् । यहाँको दृश्य कुनै कार्यालयमा रोजगारी खुलेकाले र्फम भर्न लागेको भीडजस्तै देखिन्छ ।
कोही मोटरसाइकल लिएर आएको देखिए मजदुर खोज्न आएको ठानेर हामी निकै खुसी हुन्छौं,' उनी भन्छन्, 'त्यसपछि उससँग कामको प्रकृतिबारे बुझ्छौं । कहिले पहिल्यै मोलमोलाइ गरेर जान्छौं । कहिले काम हेरेर पारिश्रमिकको टुंगो लगाउँछौं ।' एकपटक चिनजान भएपछि सम्पर्कको आधारमा पनि काम परेको बेला साहुहरूले बोलाउने गरेको उनी बताउँछन् ।
रत्नपार्कले सधैं, सबैलाई काम दिँदैन । बस्नेतका अनुसार कुनै महिना २/३ हजार रुपैयाँमा कमाइमा चित्त बुझाउनुपर्छ । कुनै महिना २० हजार रुपैयाँसम्म पनि आम्दानी हुन्छ । कहिले महिनासम्म काम नपाएर भोकभोकै बस्नुपर्ने अवस्था पनि आएको याद छ उनीसँग । 'महिनामा औसत २० दिनजस्तो काम पाइन्छ,' उनी भन्छन् ।
त्यहाँ रोजगार खोज्दै आउनेमा उनी एक्ला होइनन् । बिहान ५ बजेदेखि नै फाटफुट मजदुरहरू त्यहाँ आउन थाल्छन् । मुलुकभरिबाट आएर सहरमा कोठा भाडा लिएर बस्ने श्रमजीवीको बिहान ९ देखि साढे १० सम्म त्यहाँ भीड हुन्छ ।
सप्तरी मोहलीका ३२ वर्षे प्रकाश पण्डित पनि २१ वर्षदेखि कामको खोजीमा त्यहाँ पुग्दै आएका छन् । सानैमा घर छाडेका उनलाई साथीभाइले यो काममा ल्याएका हुन् । उनले यहीँ पाएको काम गर्ने क्रममा काठमाडौंमै जीवनसाथी पाएको बताए । मित्रपार्कमा काम गर्न जाँदा पशुपति क्याम्पस पढ्ने स्थानीय नेवा समुदायकी चेलीसँग मन बसेर उनले बिहे गरेका हुन् । उनी स्वयम्भूमा फ्ल्याट लिएर एक छोरा र श्रीमतीसँग बस्छन् । 'मेरो काममा लगन देखेर उनले मन पराएकी थिइन् । उनी आफैं मलाई भेट्न आएकी थिइन्,' उनी भन्छन् । उनलाई अढाई वर्ष जति पक्षाघातले थला पार्यो । यहीँ भेटिएको कामले आफ्नो ज्यान बचाएको उनी बताउँछन् । उनले यही क्रममा ठेकेदारी काम पाएका थिए । त्यसबाट उनले मनग्गे पैसा कमाए ।
'त्यही बेला कमाएको रकम, साहुहरूको सहयोग र जोडेका सम्पत्ति बेचेर उपचार गराएँ,' उनी भन्छन्, 'पछि कमाएरै सबैको रकम फर्काएँ ।'
एक दशकअगाडिको तुलनामा यो भीड बढ्दै गएको छ । ठेकेदारीसमेत गर्ने कामदार रियाजुल खानका अनुसार त्यतिबेला ४/५ सयभन्दा बढी यहाँ जम्मा हुँदैनथे । एक अर्काबाट थाहा पाउँदै त्यो भीडमा हरेक दिन नयाँ अनुहार थपिँदै गएका छन् । दिनदिनै नगद आउने हुनाले पनि यहाँ काम खोज्न आउनको आकर्षण बढेको हो ।
अहिले २ हजारसम्म मजदुरहरू यहाँ आउँछन् । यसमा आधा जति पढ्दै काम खोज्नेहरू छन् । यहाँ जम्मा हुने कामदारमा पुरुषसँगै महिलाको संख्या पनि त्यत्तिकै छ । कतिपयले जँड्याहा श्रीमान् पाल्न र उनीहरूको कुटपिटबाट बच्न यहाँ काम खोज्न आएको बताए । महिलाले पनि पुरुषजस्तै कठिन गर्छन् । शारीरिक रूपले कमजोरहरू टायल लाउने, मार्बल र चिप्स घोट्ने, सरसफाइका काम गर्छन् ।
थानकोट बस्दै आएकी उदयपुरको गाईघाटकी ४४ वर्षे सुजना राई चिप्स घोट्ने काम गर्छिन् । उनले यहाँ आएर काम खोज्न सुरु गर्दा दैनिक १५ रुपैयाँ ज्याला पाउँथिन् । उनी अहिले ५ सय रुपैयाँ पाउँछिन् । बिहान १० देखि ५ बजेसम्म काम गर्दा महिनामा १० हजारदेखि १५ हजार रुपैयाँ आम्दानी उनले गरेकै छिन् ।
त्यसैगरी कोटेश्वर बस्ने हेटौंडाकी ५४ वर्षे विमला सिलवालले झन्डै २७ वर्षदेखि यहीँ आएर काम खोज्दै आएकी छन् । जवान हुँदा दैनिक ३५ रुपैयाँबाट सरसफाइको काम सुरु गरेकी उनले अहिले दिनको ३ सय ५० रुपैयाँ पाउँछिन् । उनी श्रीमान्, दुई छोरी र एक छोरासँग बस्छिन् । बालाजुमा एक्लै बसेर जीवन धान्दै आएकी सिन्धुली कटारीकी ५४ वर्षे ज्ञानु बस्नेतको कथा पनि यस्तै छ ।
राजधानीको जैसीदेवल बस्ने धादिङ पिडा गाविसकी ५० वर्षे मीना श्रेष्ठले १५ वर्षदेखि गर्दै आएको काम उस्तै छ । उनी निर्माण कार्यमा मार्बल घोट्ने मेसिन चलाउँछिन् । ठूलो मेसिनमा पानी हालेर उचाल्दै घोट्नुपर्छ । ठूला मेसिन चलाउँदा बढी बल लाग्छ ।
उनले कठिन कामका लागि दैनिक ५ सय र सहजमा दैनिक ४ सय रुपैयाँ कमाउने गरेको बताइन् । श्रीमान् र एक छोरीसँग बस्ने उनले सुन्धारामा ४/५ वर्ष कपडा पसल पनि गरिन् । 'नगर प्रहरीले सडकमा पसल थाप्नै दिँदैनन्,' उनले पीडा सुनाइन्, 'त्यसैले साथीहरू आएको देखेर यहीँ काम खोज्न आउन थालें ।'
दस वर्षअगाडिसम्म काम खोज्नेहरू सुन्धारा र वीर अस्पतालअगाडि भेला हुन्थे । अहिले भने रत्नपार्क छेउको यो खाली ठाउँ सबैको साझा थलो भएको छ । यसबाहेक चक्रपथ, थापाथली, बानेश्वरचोक, बालाजु, कलंकी र पाटनको सुन्धारामा पनि श्रमिकको मेला लाग्छ । उनीहरू काम गर्न धेरैजसो उपत्यकाभर जान्छन् । बन्द, हडतालका बेला हिँडेर पुग्न सकिने ठाउँसम्म जान्छन् । 'रकमको लेनदेनमा चित्त बुझे जहाँ पनि जान्छौं,' बस्नेतले भने । उनको समूहका १० जना हालै चीनमा पुगेर केही दिन काम गरेर फर्केको उनले सुनाए ।
समयसँगै केही मजदुरको ज्याला बढेको छ । उनीहरू महँगीअनुसार भने ज्याला नबढेको बताउँछन् । दस वर्षअगाडि श्रमिकले दैनिक १ सय ३० देखि २ सय रुपैयाँसम्म र मिस्त्रीले २ सयदेखि ३ सय ५० रुपैयाँसम्म ज्याला पाउँथे । अहिले मिस्त्रीले दिनको १ हजारदेखि १ हजार ५ सय रुपैयाँसम्म र मजदुरले ५ सयदेखि ७ सय रुपैयाँसम्म कमाउँछन् । ज्याला भने कामको किसिममा भरपर्छ ।
सहनै नसकिने पीडा आफूलाई सभ्य भन्ने सहरिया घरधनीहरूले आफूहरूलाई कोठा भाडा दिन नमानेको पीडा मजदुरहरूसँग छ । 'बेलामा भाडा तिर्न सक्दैनन् भन्ठान्छन्,' एक मजदुरले भने, 'हामीलाई फोहोर गर्ने भनेर हेप्छन् ।'
काममा जाँदासमेत उनीहरूले आवश्यक आधारभूत सुविधा पाउँदैनन् । साहुले हातखुट्टा धुन र पिउनलाई पानी दिँदैनन् । शौचालयको धारामा गएर पानी खान जाऊ भन्ने गरेको महिला श्रमिकहरूले पीडा सुनाए । कतिले त काम गराएर रकमै नदिई उल्टै हप्काएर पठाउने गरेको उनीहरूले सुनाए । 'पछि दिने भन्दै नदिई बेपता हुन्छन्,' एक कामदार महिला भन्छिन् ।
असंगठित रूपमा काम खोज्दै आएका उनीहरूलाई परेको समस्याउपर सुनुवाइ गर्ने कुनै संस्था छैन । प्रहरीले आफूहरूलाई रत्नपार्कमा भीड नगर्न धम्क्याउँदै उल्टै लखेट्न खोज्ने गरेकको उनीहरूको गुनासो छ । कम्मरमा डोरी बाँधेर, अप्ठ्यारो खालका कामका लागि मात्रै आफूहरूको खोजी हुने गरेको उनीहरू बताउँछन् ।
काम पाउँदाको खुसी
त्यहाँ कोही नयाँ मान्छे बाइक लिएर आउनेबित्तिकै मजदुरहरू गफ गर्न तम्सिन्छन् । काम पाउनलाई त्यहाँ लुछाचुँड मच्चिन्छ । कामदार खोज्नेले सुकिलोमुकिलो देखिनेलाई नपत्याउने उनीहरूको अनुभव छ । कपडामा रङ लागेका, फोहोर लागेकाहरूलाई विश्वास गर्छन् । एक दिन काम गरेपछि तीन चार दिन गुजार्न पुग्ने हुनाले काम पाउँदा उनीहरूको खुसीको ठेगान हुन्न ।
स्वयम्भूको सञ्जय अग्रवाललाई कामदार चाहिए त्यहीँ आउने गरेका छन् । उनी घरमा प्लास्टर गर्ने श्रमिक खोज्न मंगलबार त्यहाँ पुगेका थिए । 'हरेक कामका लागि चाहिने मजदुर यहाँ पाइने हुनाले पहिल्यैदेखि यही आउँछु,' उनले भने, घरमा मर्मत गर्ने कामदार खोज्न अन्त चहार्नु पर्दैन ।
सुख दुःखका साथी
विभिन्न क्षेत्रबाट भेला भएका उनीहरू एक अर्काको सुखदुखका साथी भएका छन् । सबैले एकैपटक काम पाउँदैनन् । त्यस्तो बेला ५/७ जना साथी मिलेर ठेक्कामा काम लिएर बाँडेर गर्छन् । आएको रकम भागबन्डा लगाएर लिन्छन् । त्यहाँ आउने अधिकांशको विदेश जाने सोच छैन । आर्थिक अभाव र सोचेजस्तो काम नपाएर त्यहाँ झनै बिचल्लीमा परिने उनीहरू बताउँछन् । वैदेशिक रोजागरमा लाने भनेर ठगी हिँड्नेको जालमा पनि उनीहरू परेका छन् । सबैको साथ नहुँदा संगठित हुन नसकेको उनीहरू बताउँछन् । एकपटक उनीहरूलाई कुनै राजनीतिक संगठनका कार्यकर्ता आएर परिचय कार्ड पनि बाँडे । पछि रकम उठाएर संगठन बनाउनेहरू बेपत्ता भए ।
आफ्ना लागि कुनै मदुर संगठनले केही नगरेकामा उनीहरू आक्रोशित छन् । हालै कतारमा नेपाली श्रमिकसँग दाससरह व्यवहार भएको बेलायती पत्रिका गार्डियन र बीबीसीमा खबर छापिएपछि एक मजदुर संगठन त्यसको विरोधका लागि सहयोग जुटाउन रत्नपार्कको मजदुर भेलामा आएका थिए । दोहामा हुन लागेको २०२२ को विश्वकपको तयारीमा सडक र स्टेडियम बनाउन लगिएका नेपाली श्रमिकमाथि अन्याय भएको खबर आएको थियो । 'यहाँका लागि केही नगर्ने, विदेशका कुरा
मात्रै गर्ने' भन्दै उनीहरूलाई तिनीहरूलाई लखेटेका थिए ।
१६ वर्षदेखि काम खोज्दै
मेरो नाम रियाजुल खान हो । अहिले ४० वर्ष पुगें । रौतहट औरहिया-८ बाट आएको हुँ । घरमा बुवा, श्रीमती, ४ छोरी, २ छोरा, दाइ र भाउजू छन् । म १६ वर्षदेखि हरेक बिहान कामको खोजीमा रत्नपार्क आउँछु । चिया, खाजा र खाना यहीँ
खान्छु । देशभरिबाट आएका मजदुर भेला हुने यो ठाउँमा बढी काम पाइने हुनाले अन्यत्र जान्नँ । कुराकानी मिल्यो भने ठेक्कामा काम लिन्छु, नभए ज्यालामा काम गर्छु । खाली भएको बेला कोठामा बस्छु, खान्छु र सहर घुम्छु । महिनामा एक साता जति बेरोजगार हुन्छु । कमाइ पनि काममा भरपर्छ । वाषिर्क १ लाख रुपैयाँसम्म आम्दानी गर्छु । हिमाल, पहाड र तराईबाट आएका साथीहरूसँग एकै ठाउँ बस्ने, थरीथरीका मीठो परिकार खान पाइने र रमाइलो गर्दा मज्जा लाग्छ ।
0 comments
Write Down Your Responses