दलहरुबीच कुरा मिलेन


उच्च स्तरीय राजनीतिक समिति बैठक सकियो
काठमाडौ, मंसिर २६ - विवादित मुद्दाहरुको समाधानका लागि छलफल गर्न बसेको उच्च स्तरीय राजनीति समितिको बुधबारको बैठक निष्कर्षविहीन भएको छ । सबै पक्ष आ-आफ्नो अडानमा कायम रहेपछि बैठक निष्कर्षमा पुग्न नसकेको हो ।

निर्वाचनमा 'धाँधली' भएको भन्दै त्यसको छानबिन गर्न स्वतन्त्र आयोग बनाउनुपर्ने एमाओवादीको मागप्रति सहमतिमा सहमति जुटेन । एमाओवादी र मधेसी दल त्यस मागमा अडिग देखिए भने कांग्रेस र एमालेले त्यसलाई स्विकार्न नसकिने अडान राखे । बैठकमा निर्वाचन बारे भने समिक्षा भएको थियो ।

कांग्रेस र एमालेले समग्र निर्वाचनमाथि प्रश्न चिन्ह लगाउने गरी आयोग गठन गर्न नसकिने बताएपछि दलहरुबीच कुरा मिल्न सकेन । बैठकपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले समग्र निर्वाचनमाथि प्रश्न उठाउने गरी आयोग बनाउने विषयमा सकारात्मक हुन नसकिने बताए । उनले ठाउँ र घट्ना विशेषका आधारमा प्रक्रियागत ढंगले अगाडि बढ्न सकिने उल्लेख गरे ।

कांग्रेस-एमाले भने संसदमा समिति मार्फत यस्ता विषयहरुमा छलफल गर्न सकिने तर्क सारेका छन् । तर, माओवादीले संविधानसभामा प्रवेश अगाडि आयोग बनाउनुपर्ने मागमा अडिग छ ।

एमाले नेता भीम रावलले दुवै पक्ष आ-आफ्ना अडानमा कायम रहेकाले कुनै निष्कर्ष ननिस्केको बताए । उनले पुस-२९ गते फेरि समितिको बैठक बस्ने सहमति भएको जानकारी दिए ।

समिति बैठकमा प्रमुख तीन दल बाहेक मधेसी दलका नेताहरुको सहभागिता रहेको थियो । समितिमा रहेको संघीय समाजवादी पार्टीको भने अनुपस्थिति थियो ।

यसअघि, मंगलबार बसेको प्रमुख तीन दलको बैठकमा सबै विवादित मुद्दा समितिमा छलफल गर्ने तय भएअनुसार निर्वाचनपछि पहिलो पटक समिति बैठक बोलाइएको हो ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.