हिन्दू राष्ट्र र राजतन्त्रमा राप्रपा नेपाल लचिलो


काठमाडौं, मंसिर २१ - हिन्दू राष्ट्र र राजतन्त्रमा राप्रपा नेपाल लचिलो हुने देखिएको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीले उठाउँदै आएको हिन्दु राष्ट्र कायम गराउने र राजासहितको प्रजातन्त्र स्थापना गर्ने एजेण्डामा संविधान निर्माणको क्रममा सम्झौता हुन सक्ने स्पष्ट पारेका छन् ।

अध्यक्ष थापाले लोकतान्त्रिक संविधान निर्माणको लागि पार्टीले सम्झौता र सहमतिको बाटो अख्तियार गर्ने निर्णय गरिसकेको स्पष्ट पार्दै रिपोर्टर्स क्लवको सक्षात्कारमा भने, 'सहमति र सम्झौताको बाटोमा जाँदा हाम्रो एजेण्डा सत प्रतिशत लागु हुन सक्दैन । यो हामीलाई राम्ररी थाहा छ । त्यसैले एजेण्डामा हामी सम्झौता गर्दै अघि बढ्छौँ ।' 

अध्यक्ष थापाले चुनावबाट आफ्नो पार्टीलाई चौथो शक्तिको रुपमा जनताले स्थापित गराई दिएर आफूहरुको एजेण्डालाई स्थापित गरेको दाबी गर्दै सोही अनुसार लोकतान्त्रिक संविधान निर्माण गर्न पार्टीले सहमति र सम्झौताको बाटोबाट सक्रिय र रचनात्मक भूमिका निर्वाचन गर्ने बताए ।

निर्वाचनले अतिवादी विचारलाई पराजित गरेर मध्यममार्गी विचारलाई अनुमोदन गरेको भन्दै उनले सोही अनुसारको संविधान निर्माण गर्ने अभिभारा नेपाली कांग्रेस र नेकपा एमालेका काँधमा आएकोले उनीहरुले राष्ट्रिय राजनीतिमा आएका विचारहरुलाई सम्मान गर्नु पर्ने धारणा राखे ।

थापाले आफूहरुलाई बेवास्ता गरेर संख्याको आधारमा जवरजस्ती संविधान निर्माण गर्न खोजे, पहिलो संविधानसभा जस्तै सिण्डिकेट बनाए र संसदका पदाधिकारी चयनमा आफूहरुलाई स्थान नदिए संविधानसभा गठन भएको पहिलो दिन देखिनै आन्दोलनमा उत्रने चेतावनी समेत सो अवसरमा दिए ।

निर्वाचनपछि मतपेटिका संकलन र गणनामा देखिएको त्रुटिले आशंका उत्पन्न भएको भन्दै उनले भविष्यमा त्यस्तो घटना दोहोरिन नदिन संविधानसभाको बैठक बसेर त्यहीबाट सर्वदलीय संसदीय छानविन टोली गठन गर्नु पर्ने बताए ।

राष्ट्रपति र उपराष्ट्रपतिमा आफ्नो पार्टीको कुनै दाबी नभए पनि नयाँ जनादेश आएको बेला नयाँ शक्ति सन्तुलनका आधारमा सहमति गरेर नयाँ निर्वाचन गर्नु पर्ने भन्दै निर्वाचन नगरिए जनादेशको अपमान हुने तर्क उनले गरे ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.