वान-डे विश्वकप छनोट

नेपालको पहिलो प्रतिद्वन्द्वी यूएई

 नेपालको पहिलो प्रतिद्वन्द्वी यूएई
काठमाडौ, मंसिर २० - नेपालले चिरपरिचित प्रतिद्वन्द्वी यूएईको सामना गर्दै वान-डे विश्वकप छनोटको सुरुआत गर्ने छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मंगलबार निकालेको 'ड्र' मा नेपाल समूह 'ए' मा परेको छ । नेपालसँगै यूएई, स्कटल्यान्ड, क्यानडा र हङकङ छन् । नेपालले पहिलो खेल जनवरी १३ मा यूएईसँग खेल्ने छ । पछिल्लोपल्ट वान-डेमा नेपाल र यूएई सन् २०१२ को एसीसी ट्रफी एलिटको फाइनलमा भिडेका थिए । खेल बराबरीमा सकिएपछि दुवै टिमलाई विजेता घोषणा गरिएको थियो । त्यसै प्रतियोगिताको समूह चरणमा भने नेपालले यूएईर्माथि जित दर्ता गरेको थियो ।

नेपालले दोस्रो खेल स्कटल्यान्डसँग जनवरी १६ मा खेल्नेछ । यस्तै, अर्को चिरपरिचित हङकङसँग जनवरी १९ मा खेल्नेछ । नेपालले समूहको अन्तिम खेल प्रशिक्षक पुबुदु दसानायकेको घरेलु टिम क्यानडासँग खेल्नेछ ।

'मैले तालिका हेरें । हामीले खेलेकै टिम छन् । यो चुनौती होइन, हाम्रो लागि अवसर हो । तर हामीले अझै मिहिनेत गर्नुपर्छ,' कप्तान पारस खड्काले प्रतिक्रिया दिए । उनले थपे,'हाम्रो लक्ष्य वान-डेको पनि विश्वकप पुग्ने हो । वान-डे मान्यता पाउने हो ।'

प्रशिक्षक पुबुदु दसानायकेले तालिकालाई लिएर कुनै गुनासो नरहेको बताए । उनले भने,'अहिले हामी माथिल्लो स्तरमा छौं । यहाँबाट हामीले गुनासो गर्नु हुन्न । राम्रो खेल्नुपर्छ । विश्वकपमा छनोट हुनुपर्छ । वान-डे मान्यता पाउनुपर्छ ।' उनले त्यसका लागि टिम पूर्णरूपमा तयार रहेको बताए ।

न्युजिल्यान्डमा आगामी १३ जनवरीदेखि फेब्रुअरी १ सम्म हुने प्रतियोगिताअघि नेपालले नामिबियासँग जनवरी १० मा अभ्यास खेल खेल्दै यात्रा थाल्ने छ । यस्तै, नेपालले दोस्रो तथा अन्तिम अभ्यास खेल जनवरी ११ मा केन्यासँग खेल्नेछ ।

दस टिमले सन् २०१५ मा अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने विश्वकप प्रतियोगिताको दुई स्थान सुरक्षित गर्नका लागि प्रतिस्पर्धा गर्नेछन् । शीर्ष चारमा अटाउने टिमले वान-डे मान्यता पाउनेछन् ।

छनोटमा दुई समूहका शीर्ष ३ स्थानमा रहने टिम सुपर-सिक्समा पुग्नेछन् । सुपरसिक्समा राउन्ड रोबिनका आधारमा खेल हुनेछन् । त्यसमा शीर्ष स्थानमा रहने दुई टिमले विश्वकप खेल्न पाउने र शीर्ष ४ मा अटाउने टिमले वान-डे मान्यता पाउने छन् ।

भर्खरै ट्वान्टी-ट्वान्टी विश्वकपमा छनोट हुन सफल नेपालले वान-डे विश्वकप समूहमा परेका यूएई र हङकङलाई पराजित गरेको थियो । नेपाल आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन-३ को विजेता बन्दै डिभिजन-२ उक्लिनुका साथै वान-डे विश्वकप छनोटमा पुगेको थियो । वान-डे विश्वकपमा १४ टिम रहनेछन् । टेस्ट खेल्ने १० राष्ट्रसहित अफगानिस्तान र आयरल्यान्डले विश्वकप खेल्ने पक्का भइसकेको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.