'कांग्रेस-एमालेको हैसियत समान छैन'


काठमाडौं, मंसिर २९ - कांग्रेस महामन्त्री प्रकाशमान सिंहले एमालेले कांग्रेस हाराहारीको मत आएको भन्दै समान हैसियतको मान्न नमिल्ने बताएका छन् ।

एमालेकोभन्दा २१ सिट बढी आएको भन्दै महामन्त्री सिंहले कांग्रेस पहिलो र एमाले दोस्रो दल भएको नबिर्सन आग्रह गरे । 'एमालेले कांग्रेसको हाराहारी सिट आएको भनेर दाबी गर्न मिल्दैन,' बिजुलीबजारमा सभासद् सम्पर्क कार्यालय उद्‌घाटनपछि उनले भने, '२१ सिट बढी आएको कांग्रेस पहिलो र एमाले दोस्रो पार्टी हो ।'

कांग्रेसले ठूलो पार्टी भएको दम्भ नगर्ने बताउँदै सिंहले एमाले र एमाओवादीसँग सहमतिमा संविधान जारी गर्ने भूमिका खेल्ने बताए । उनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतासहितको संविधानभन्दा पछाडि फर्कन नसकिने दोहोर्‍याए ।

महामन्त्री सिंहले एमाओवादीले भनेजस्तो धाँधली छानबिन आयोग गठन गर्न निमल्ने बताए । 'सार्वभौमसत्ता सम्पन्न निर्वाचन आयोगको कामको छानबिन कुनै आयोगले गर्न सक्दैन,' उनले भने । सिंहले चित्त नबुझेको विषयलाई संविधानसभामा राख्न एमाओवादीलाई आग्रह गरे ।

सिंहले खोले सभासद् सम्पर्क कार्यालय

काठमाडौं क्षेत्र नं. १ बाट ५२ दशमलव ३ प्रतिशत पाएर विजयी भएका सिंहले सभासद् सम्पर्क कार्यालय उद्‌घाटन गरेका छन् ।

बिजुलीबजारमा पार्टी कार्यालय उद्‌घाटनपछि उनले क्षेत्रका समस्यालाई सम्पर्क कार्यालयमार्फत सम्बोधन गरिने बताए ।

सम्पर्क कार्यालय पुस ८ गतेदेखि दिउँसो १ देखि ४ बजेसम्म खुल्ने उनले जानकारी दिए । सिंहको चाक्सिबारीस्थित निवास भने काठमाडौं क्षेत्र नं. ७ मा पर्दछ ।

चुनाव प्रचारमा रहँदा निर्वाचित सभासद्सँग समस्या र गुनासा राख्न नपाएको भन्दै असन्तुष्टि राखेपछि सिंहले सम्पर्क कार्यालय खोल्ने प्रतिबद्धता जनाएका थिए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.