टोलीमा केही परिवर्तन हुने


काठमाडौं-प्रशिक्षक पुबुदु दासानायकेले एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोलीमा केही परिवर्तन हुने बताएका छन्। आइसिसी विश्वकप छनोट जनवरी १२ बाट न्युजिल्यान्डमा सुरु हुँदैछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले तोकिएको समयअनुरुप कुनै पनि टोलीले प्रतियोगिता हुनु १५ दिनअघि टोली छनोट गरिसक्नुपर्नेछ।


'ट्वान्टी–२० र ५० ओभर फरक प्रकृतिका खेल हुन्। रणनीतिक हिसाबमा पनि केही परिवर्तन हुन जरुरी छ,' दासानायकेले शनिबार जर्नी टु विश्वकपको फाइनल सकिएपछि भने, 'एकदिवसीयमा धेरै नियमहरू परिवर्तन भएका छन्, त्यसैले पनि टिममा केही परिवर्तन हुन जरुरी छ।' दासानायकेले आइतबारबाट खेलाडीहरूलाई तीन दिनको बिदा दिएका छन्। बुधबार सुरु हुने बन्द प्रशिक्षणअगावै खेलाडी छनोटको तयारी भइरहेको बताइएको छ।

१५ सदस्यीय टोलीमा अलराउन्ड पृथु बाँस्कोटा र सोमपाल कामीलाई राखिने सम्भावना रहेको बताइएको छ। घुँडाको लिगामेन्टमा समस्या देखिएपछि युएईमा अघिल्लो साता सम्पन्न विश्व ट्वान्टी–२० छनोटबाट पृथु बाहिरिएका थिए। सोमपाल डिसेम्बर २८ देखि युएईमा सुरु हुने एसिसी यु–१९ एसिया कपका लागि घोषित १५ सदस्यीय टोलीमा रहेका छन्।

सोमपाललाई जर्नी टु विश्वकप प्रतियोगितामा नेपाली टोलीबाट खेल्ने अवसर दिइएको थियो। अनिल मण्डलसँगै सोमपालले प्रतियोगितामा नेपालबाट सबै ४ खेल खेलेका थिए। समूह चरणको ३ खेलमा १० विकेट लिएर प्रभावशाली प्रदर्शन गरेका सोमपालले फाइनलमा कुनै विकेट लिन सकेनन्। उनले ८.२ ओभरमा ७८ रन खर्चे पनि कुनै विकेट लिन सकेनन्। न्युजिल्यान्ड जाने नेपाली टोलीमा सोमपाललाई राखिएमा यु–१९ एसिया कपमा उनले खेल्ने सम्भावना कम रहन्छ।

टोली श्रीलंका हुँदै न्युजिल्यान्ड लाग्ने

एकदिवसीय विश्वकप तयारीक्रममा श्रीलंका र न्युजिल्यान्ड जाने भएको छ। डिसेम्बर १७ मा श्रीलंका जाने नेपालले त्यहाँ १० दिन बिताउने छ। नेपाल क्रिकेट संघका सदस्य तथा विश्वकपलक्षित गरेर बनाइएको हाइपर्फमेन्स कमिटीका सदस्य सञ्जिव पाण्डेले श्रीलंकामा नेपालले ४ अभ्यास खेल खेल्नेछ। कस्तो टोलीसँग खेल्ने अझै निधो नभएको उनले बताए।

त्यसपछि डिसेम्बर २७ वा २८ मा न्युजिल्यान्ड लाग्नेछ। न्युजिल्यान्डमा नेपालले आफ्नै व्यवस्थापनमा ४ अभ्यास खेल खेल्नेछ। आइसिसीको तोकिएको तालिकाअनुसार नेपालले क्राइसचर्चमा जनवरी ९ मा नामिबिया र १० मा केन्यासँग अभ्यास खेल खेल्ने कार्यक्रम छ।

आइसिसी विश्वकप छनोटमा नेपाल समूह 'ए' मा युएई, स्कटल्यान्ड, क्यानाडा र हङकङसँगै रहेको छ। नेपालले युएईसँग जनवरी १२ मा युएई, १५ मा स्कटल्यान्ड, १८ मा हङकङसँग, २० मा क्यानाडासँग खेल्ने छ। समूहका शीर्ष ३ टोली सुपर लिगमा पुग्नेछन्। ६ टोलीबीचको सुपर लिगबाट शीर्ष २ टोली विश्वकपमा पुग्ने छन्।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.