मद्रास मेमोरी

madras cafe
भाद्र १४ - 
दक्षिण भारतीय फिल्मको रिमेक गर्दागर्दै बलिउडलाई त्यही स्वादको बानी पर्न थालेजस्तो छ । 'चेन्नई एक्सप्रेस' पछि 'मद्रास क्याफे' पनि दक्षिणकै कथा लिएर आएको छ ।
लोकेसन दक्षिण मन पराएजस्तै बलिउडले मुख्य भूमिकामा भने जासुसलाई बढी मन पराउन थालेको छ ।
'एक था टाइगर' मा सलमान र 'एजेन्ट विनोद' मा
सैफअलि खानपछि 'मद्रास क्याफे' मा जोन अब्राहम भारतीय जासुस बनेका छन् । यी अघिल्ला जासुसहरू आपmनो देशको सुरक्षाको काममा खटिएका थिए । तर, मद्रास क्याफेको जासुसचाहिँ बाहिरी देश श्रीलंकाको आन्तरिक मामिलामा काम गर्न खटिएको छ, जसले अन्ततः आपmनो देशलाई एउटा ठूलो धक्का लगाएर छोड्छ । अघिल्ला दुई फिल्ममा हिरोइन पनि पाकिस्तानी जासुस थिए, जसले हिरोलाई साथ दिन्छन् । यसमा भने हिरोइन एउटी विदेशी पत्रकार छिन् ।
सुरुमै बताउँ 'मद्रास क्याफे' राजनीतिक फिल्म होइन । केही राजनीतिक र केही सुरक्षा जोडिएको विषयमाथि बनेको एउटा थि्रलर हो । यो फिल्मले कुनै राजनीतिक विचार वा आदर्शको कुरा गर्दैन । गृहयुद्धमा रहेको श्रीलंकाको लिट्टे र अरू विद्रोह समूहको व्यवस्थापनमा संलग्न भारतीय सरकार र गुप्तचरले कसरी त्यसको ठूलो मूल्य चुकाउन पुग्छन् भन्ने कथा भन्छ, त्यो युद्धको राजनीतिक पाटो वा उद्देश्यका बारे विवेचना गर्दैन । संकटग्रस्त श्रीलंकामा भारतीय इच्छा अनुसार चाल चल्न पठाइएको गुप्तचर संस्था 'र' को एजेन्ट जोन अब्राहमका माध्यमबाट फिल्मले राजीव गान्धी हत्याको विवरण प्रस्तुत गर्छ ।
कश्मीरको विषयमा 'यहाँ' र स्पर्म डोनेसनमाथि 'विकी डोनर' बनाएका सुजित सरकारले 'मद्रास क्याफे' को निर्देशन गरेका हुन् । अहिले चेन्नई भनिने मद्रास सहर श्रीलंका नजिकको राज्य तमिलनाडुको ठूलो सहर हो । फिल्मको कथा मद्रास, दिल्ली र श्रीलंका वरपरको भए पनि कथाका तन्तुहरू भने सिंगापुर लन्डनसम्म फैलिएका छन् । जासुस हिरो भएकाले कथाको मुख्य तत्त्व षड्यन्त्र हुने भइहाल्यो । शीर्षकको मद्रास क्याफे एउटा यस्तै षड्यन्त्रको तानाबाना बुनिने क्याफेको चेन हो, जसको नाम 'मद्रास क्याफे' छ ।
लिट्टेको आन्दोलन चर्किएर आपmनै देशलाई खतरा हुन थालेपछि भारत जासुसी र सुरक्षा संयन्त्र प्रयोग गरेर श्रीलंका प्रवेश गर्छ । एउटा विद्रोहीविरुद्ध अर्को खडा गर्ने 'र' को घनचक्करमा परेर राजीव गान्धीको लिट्टेले हत्या गरेका थिए । फिल्मले यस्ता ऐतिहासिक तथ्यहरूलाई आपmनो कथाको आधार बनाएको छ । र, त्यसमा केही आफ्नो राष्ट्रिय स्वार्थ र मान्यता सापेक्ष 'सुधार' पनि गरेको छ । जस्तै- फिल्मले लिट्टेलाई कुनै बेला कसरी भारतले नै सहयोग गरेको थियो र बलियो बनाएको थियो भन्ने कुरा भन्दैन । त्यस्तै, आपmना केही अधिकारीको कमजोर चरित्र र सनकको भरमा श्रीलंका मिसन असफल भएको फिल्मले देखाउन खोज्छ । यथार्थ यतिमात्रै थिएन । समानान्तर रूपमा आफैंले चालेका दुईधारे कदमको चेपुवा भारत आफैं परेको थियो ।
'मद्रास क्याफे' डकुमेन्ट्री जसरी खिचिएको, तथ्यहरूमा आधारित गरिएको फिल्म भए पनि यो डकुमेन्ट्री होइन, फिक्सन फिल्म हो । यसैले केही तथ्य यताउता हुन सक्छन् । बाँकी कुरामा भने 'मद्रास क्याफे' एउटा हेर्नलायक फिल्म हो । यो थि्रलर हो । यसैले यसमा कथालाई अलमल्याउने गरी हिरो हिरोइनको रोमान्स छैन, डाँडापाखामा कम्मर मर्काइने गीत छैनन्, आइटम डान्सको त झन् कुरै भएन । फिल्मकी हिरोइनले एउटै संवाद हिन्दीमा बोल्दिनन्, धेरै पात्रले तमिल बोल्छन् । तर, पनि यिनको अरू भाषा 'चेन्नई एक्सप्रेस' को जस्तो इरिटेटिङ छैन ।
फिल्ममा हिरोको परिवार, सँगै काम गर्ने साथीको संसार पनि छ । तर, गोप्य मिसनमा हिँडेको हिरोको कसैसँग प्रस्ट र सुखद सम्बन्ध छैन । पात्रको कामअनुसारको मनोदशा र सम्बन्धलाई निर्देशकले राम्ररी स्थापित गरेका छन् । फिल्म नै हिरोको कन्फेसनबाट सुरु हुने भएकाले यो परम्परागत अर्थमा बुझिने हिरो नभई गल्ती गर्ने मान्छे हो भन्ने पनि बुझिन्छ ।
फिल्मका निर्मातासमेत रहेका जोन अब्राहम 'ह्यान्डसम हिरो' मानिए पनि एकदमै राम्रो अभिनेता मानिँदैनन् । उनलाई एउटै मात्र 'एक्सप्रेसन' भएको हिरो पनि भनिन्छ । निर्देशकले जोनका एकदम धेरै 'क्लोजअप' र 'इमोसनल सिन' राखेका छैनन् । यसो गर्दा उनको कथा बिगि्रएको छैन । फिल्मका दुवै हिरोइन पनि औसत अभिनेत्री हुन् । उनले यिनलाई पनि धेरै 'फुटेज दिएका छैनन् ।' छोटो भूमिकामा आउने कलाकारको उपयोग राम्रोसँग गरेका छन् । श्रीलंकाको लोकेसन, युद्धको फैलावट र आतंक देखिने गरी लङ सटको राम्रो उपयोग गरेका छन् ।
उनको अर्को चलाखी श्रीलंकाको गृहयुद्धको कथा भए पनि कथामा श्रीलंका सरकारको पक्षको कुनै उपस्थिति छैन । यस्तो लाग्छ, मानौं, युद्धको एउटा पक्षमा भारत छ अर्कोमा लिट्टे ! यसलाई फिल्मको कमजोरी पनि मान्न सकिन्छ । सिनेम्याटोग्राफीबाहेक फिल्मको प्रशंसायोग्य पक्ष यसको संगीत हो । सान्तनु मोयत्राको पाश्र्व संगीतले फिल्मको मुड र 'अप-डाउन' लाई बाँधेर राखिदिन्छ । यो फिल्म हेर्दा दस वर्षसम्म चलेको द्वन्द्व र त्यसपछिका राजनीतिक खिचातानीमा भारतको भूमिका, अझै यस्ता जासुसहरूको भूमिका कस्तो थियो होला भन्ने प्रश्न पनि उब्जिन्छ । कुनै दिन नेपाली फिल्ममेकरहरूले यसमा फिल्म बनाउन सक्छन् ।
'विकी डोनर' जस्तो सामाजिक विषयको कमेडी फिल्म बनाएर दर्शकको मन जितेका सुजित सरकारको यो फिल्मको पहिलो दिनको व्यापार राम्रो नभए पनि विस्तारै व्यापार बढेको छ । यो राम्राे फिल्मको एउटा लक्षण हो । जसले विस्तारै 'माउथ पब्लिसिटी' बाटै दर्शक कमाउँछ । र, कमेडीपछि थि्रलर पनि राम्रो बनाएर सुजित सरकारले एउटा 'जनरा' मा राम्रो फिल्म बनाउने निर्देशकले अर्कोमा पनि राम्राे बनाउन सक्छ भन्ने देखाइदिएका छन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.