'संघीय गठबन्धन चुनावसम्मै'

dahal-gachhadar
काठमाडौ, श्रावण १८ - संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन का दलले चुनावमा एकअर्कालाई सहयोग गर्ने निर्णय गरेका छन् । एमाओवादी कार्यालयमा बिहीबार भएको गठबन्धनले यस्तो निर्णय लिएको हो ।
सद्‍भावनाले गठबन्धनबाट अलग भएको बताइरहेकै बेला बैठकले निर्वाचनसम्म एकतालाई कायम राख्ने निर्णय गरेको एमाओवादी नेता नारायणकाजी श्रेष्ठले बताए । 'निर्वाचनसम्म एकता कायम राख्दै एकअर्कालाई सहयोग गर्ने निर्णय भएको छ,' उनले भने, 'निर्वाचन गर्न वातावरण बनाउन जोड दिइनेछ ।'
पहिचानसहितको संघीयतामा सहमत दलहरू निर्वाचनमा साझा घोषणापत्र र उम्मेदवार बनाउने बताए पनि पछिल्लोपटक भने एकअर्कालाई सहयोग गर्ने जनाएका छन् । 'एजेन्डा मिल्ने दलका उम्मेदवारलाई जिताउन सहयोग गर्ने उद्देश्य हो' उनले भने, 'संघीयताविरोधी विरुद्ध उत्रने कुरा पनि भएको छ ।' 
निर्वाचनमा तालमेल गर्नेबारे भने गठबन्धनका दलहरू टुंगोमा भने पुगेका छैनन् । 'मिल्न सक्ने ठाउँमा तालमेल गरेर जान्छौं' गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले भने, 'नमिल्ने ठाउँमा प्रतिस्पर्धा गरेर जान्छौं ।'
फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले पनि चुनावसम्म गठबन्धनलाई कायमै राख्ने निर्णय गरेको जानकारी दिए । गठबन्धनले नेकपा-माओवादी, मधेसी जनअधिकार फोरमलगायत आन्दोलनरत दललाई निर्वाचनमा आउन आग्रह गरेको छ ।
बैठकमा गच्छदारले मधेसी मोर्चाले निर्वाचनमा समानुपातिक प्रतिशत बढाउन गरेको निर्णयबारे जानकारी गराएका थिए । त्यसबारे गठबन्धन संयोजक एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आन्दोलनरत दललाई सहभागी गराउन तिनका मागबारे छलफल गर्न सकिने बताएका थिए । मधेसीदलहरू समानुपातिक प्रतिशत ५० भन्दा बढाउनुपर्ने माग गर्दै आएका छन् । एमाओवादीले यसमा छलफल गरी आन्दोलनरत दललाई सहभागी गराउने वातावरण बनाउनुपर्ने बताउँदै आएको छ ।
बैठकमा तराई मधेस लोकतान्त्रिक र सद्भावना पार्टीका नेताहरू भने सहभागी थिएनन् । एमाओवादी नेता श्रेष्ठले तमलोपा र सद्भावना पनि गठबन्धनमै भएको
दाबी गरे ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.