नेपालको सुखद सुरुवात


काठमाडौं, भाद्र १५ - नेपाल साफको १६ वर्षे इतिहासमा पहिलोपल्ट च्याम्पियन बन्ने अभियानमा छ । ट्रफी चुम्नेमा नेपाली खेलाडी आत्मविश्वासी देखिएका छन् । मिहिनेत पनि गरिरहेका छन् । यस्तै तयारीसाथ मैदानमा उत्रिएर पनि विगतमा राम्रो नतिजाका निम्ति तडपँदै आएको थियो । आठौं साफमा भने बंगलादेशविरुद्ध सुरुको ३१ मिनेटभित्रै दुई गोल गर्दै नेपालले उपाधि जित्ने अभियानको सुरुआत शनिबार सुखद बनाएको छ ।
अनिल गुरुङ र भरत खवासले एक-एक गोल गरेपछि २-० को जित रच्दै नेपालले १४ वर्षपछि साफको पहिलो खेलमै जित आत्मसात् गरेको हो । नेपालले सन् १९९९ मा भएको गोवा साफको पहिलो खेलमा नरेश जोशीको ह्याटि्रकसँगै श्रीलंकालाई ३-२ ले पराजित गरेको थियो । त्यसअघि र पछि नेपालले साफको पहिलो खेलमै ३ अंक जोड्न सकेको थिएन । कुनै पनि संस्करणको पहिलो खेलमै नेपालले गोल बेहोर्नु नपरेको पनि पहिलो अवसर नै हो ।
प्रशिक्षक ज्याक स्टेफनोस्कीको ४-४-१-१ को नयाँ संरचनामा नेपालको अग्रपंक्ति सम्हालेका अनिलले १८ औं मिनेटमै गोलको खाता खोलेका थिए । मैदानको मध्यभागबाट सन्दीप राईले प्रहार गरेको पि|m-किकमा बंगलादेशी डिफेन्सले क्लियर गर्न नसकेको बल नियन्त्रण गर्दै भोला सिलवालले क्रस पास दिएका थिए । सिक्स यार्ड बक्समा रहेका अनिलले त्यही बललाई हेडद्वारा सेकेन्ड बारमा जाली चुमाएका थिए ।
'राष्ट्रिय टिमबाट दुई वर्षपछि गोल गरेकामा साह्रै खुसी लागेको छ,' अनिलले भने । उनले पछिल्लोपल्ट वल्र्डकप छनोटको प्रारम्भिक चरणमा इस्ट टिमोरविरुद्ध दशरथ रंगशालामा दुई वर्षअघि हात पारेको ५-० को जितमा एक गोल गरेका थिए । उनले बंगलादेशविरुद्ध गरेको गोल नेपालको जर्सीमा आठौं हो ।
उनले साफको तयारीमा बहराइन र कुवेतको तीन साता भ्रमणमा सर्वाधिक चार गोल गरेका थिए । 'अभ्यासमा राम्रो गरेको थिएँ । त्यसैले साफमा गोल गर्छु भन्ने लागेको थियो । गरें पनि । त्योभन्दा ठूलो हाम्रो टिमले खेल जित्यो । साह्रै खुसी लागेको छ,' उनले भने । उनले २३ औं मिनेटमा विराज महर्जनको क्रसमा गरेको हेडर पोस्टनजिकिँदै बाहिरिएको थियो ।
दोस्रो गोलमा पनि अनिलको योगदान रह्यो । जगजित श्रेष्ठको कर्नरमा अनिलले हेडद्वारा फि्लक गरेको बल बंगलादेशी डिफेन्सले क्लियर गर्न सकेन । यस्तोमा सिक्स यार्ड बक्सबाट भरतले वान टच गोल गरेपछि नेपालले ३१ औं मिनेटमा २-० को अग्रता लियो । अन्ततः त्यही अग्रता जोगाउँदै नेपालले सुखद सुरुआत गर्‍यो । नेपाली सेनाको अधिकृत आधार तालिममा सहभागी भएकाले ५ दिनमात्र प्रशिक्षणको अवसर पाएका भरतले नेपालका निम्ति गरेको यो आठौं गोल हो ।
दुई गोलले अग्रता लिए पनि नेपाली टिम ४० मिनेटसम्म सम्हालिएको थिएन । पहिलो हाफको अन्त्यतिर १४ पास खेल्यो । त्यसबाहेक ३-४ पासभन्दा धेरै खेल्न सकेन । फागुनमा दशरथ रंगशालामै भएको च्यालेन्ज कप छनोटमा नेपाललाई २-० ले निराश पारेको बंगलादेश यसपालि चुस्त खेल्न पस्कन असफल रह्यो । उसले एकपल्ट पनि गतिलो आक्रमण गर्न सकेन ।
पूर्ण क्षमताअनुसार १८ हजार दर्शकले भरिएको रंगशालामा नेपालले दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गर्‍यो । र, अन्त्यतिर थप तीन गोलको अवसर पनि सिर्जना गर्‍यो । तर, गोलमा परिणत गर्न सकेन । 'म्यान अफ द म्याच' भरतको आकर्षक पासमा पेनाल्टी क्षेत्रमा एक्लो रहेका अनिलले प्रहार गरेको बलले ८० औं मिनेटमा पोस्टको दिशा लिएन ।
डिफेन्सबाट मिडफिल्डमा सरेका रोहित चन्द दुई अवसरमा चुके । उनले गोलकिपर मामुन बिट भइसकेको स्थितिमा ८३ औं मिनेटमा बललाई पोस्टको दिशा दिन सकेनन् । इन्ज्युरी टाइममा जुमनु राईसँगको वान टु वानमा अघि बढाएर वान भर्सेस
वानमा प्रहार गरेको बल गोलकिपर मामुनले रोके ।
जितपछि नेपालका प्रशिक्षक ज्याक स्टेफनोस्कीले भने, 'घरेलु मैदान, समर्थक र बलियो डिफेन्सका कारण सफलता हात पार्‍यौं । सबै खेलाडीले मिहिनेत गरेर राम्रो खेले । यो नतिजाले हामीलाई मजबुत बनाएको छ ।' कप्तान सागर थापाले भने, 'हाम्रो खेल पहिलोकै जस्तो हो । स्कोरिङ मात्र फेरिएको हो । त्यसैले जित दिलायो ।' प्रकाश बुढाथोकीले अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरे ।
'सुरुको ३० मिनेट डिफेन्समा गल्ती गर्‍यौं । त्यसैको मूल्य चुकायौं । हाम्रा खेलाडीमा एकाग्रता पनि देखिएन । त्यसैले नतिजा निराशाजनक रह्यो । यस्तो नतिजाबाट प्रतियोगिता सुरु गर्नु साह्रै खराब हो,' बंगलादेशका प्रशिक्षक लुडोभिक डे क्रुफले भने, 'हाम्रा निम्ति दिन खराब रह्यो । नेपालले च्यालेन्ज कपको मीठो बदला लियो ।' नेपालले दोस्रो खेलमा मंगलबार पाकिस्तानको सामना गर्नेछ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.