फिल्म : इतिहासलाई प्रश्न
काठमाडौ, माघ २८ - नेपालमा फिल्म बन्न थालेको पचास वर्ष भएको छ । नेपालबाहिर बनेको फिल्मलाई गणना नगर्दा पनि नेपाली फिल्मले 'हाफ सेन्चुरी' पुरा गरेको छ । तर, यो अवधिमा बनेका एकदमै राम्रा, अर्थपूर्ण र स्मरणीय तपाईं कतिवटा फिल्म सम्झिन सक्नुहुन्छ ? पछिल्लो दस वर्षमा यस्ता फिल्म बन्ने क्रम बढ्दो छ । चाहे 'लुट' होस् वा 'साँघुरो', 'नुमाफुङ' र 'मुकुन्डो'बाट सुरु भएको भिन्न स्वादका फिल्मको निर्माण जारी छ ।
'झोला' यो क्रमको एउटा कडीका रूपमा आइपुगेको छ । तर, सुरुमै प्रस्ट पारौं, 'झोला' न 'लुट' जस्तो 'इन्टरनेटिङ' फिल्म हो न 'नुमाफुङ' जस्तो 'ग्राउन्डबे्रकिङ' फिल्म । तैपनि, यसले केही विशेषता बोकेको छ, जसका कारण यो फिल्म सजिलै स्मृतिबाट मेटिंदैन ।
कृष्ण धरावासी नेपाली साहित्यमा नाम कमाएका लेखक हुन् । 'राधा' उपन्यासबाट मदन पुरस्कार पाएका भए पनि उनका धेरै प्रशंसकहरू 'झोला' र 'शरणार्थी'लाई धरावासीका उत्कृष्ट रचना मान्दछन् । उनको त्यही चर्चित कथा 'झोला' माथि यादव भट्टराईले यो फिल्म बनाएका हुन् ।
'झोला' अहिलेको समयबाट सुरु भए पनि यसले कथा भने सय वर्ष पहिलेको भन्छ । इतिहासको कालखण्ड वा पात्रहरूमाथि बनिने 'पिरियड ड्रामा'हरूको हाम्रोमा नितान्त कमी छ । यादवले त्यसतर्फ पहल गरेका छन् । चलेका फिल्मी मसलाको मिश्रण नगरिएको यो फिल्म अन्य फिल्मको तुलनामा छोटो पनि छ । र, एउटै ट्रयाकमा हिँड्ने मूल कथामात्रै समातेकाले फिल्म यताउता भड्किंदैन पनि ।
एउटा वृद्ध पति, उसकी जवान श्रीमती र नाबालक छोराको वरिपरि फिल्मको कथा घुमेको छ । कुनै गाउँका यी निवासीको जीवनमा एउटा मृत्युले ल्याउने परिवर्तनको कथाको किलोमा यो 'झोला' अडिएको छ । पतिको मृत्यु भएपछि पत्नीले उसको चितामा जिउँदै जलेर सती जानुपर्ने कुप्रथालाई फिल्मले दर्साउँछ । र, बिस्तारै त्यो कुप्रथाविरुद्ध कसरी विद्रोह सुरु भएको थियो भन्ने पनि बताउँछ ।
नेपालको इतिहासमा सती प्रथा एउटा लैंगिक विभेद, उत्पीडन र अन्यायको प्रथाका रूपमा रहेको देखिन्छ । नेपालमा मात्र नभएर यो प्रथा भारतका हिन्दुहरूमा पनि भएको पाइन्छ । सन् १८५७ को लखनउ विद्रोहको कथामा केतन मेहताले बनाएको हिन्दी फिल्म 'मंगल पाण्डे, द राइजिङ'मा पनि सतीको प्रसंग छ । अन्य साहित्यमा पनि यो प्रसंग पाइन्छ । 'झोला'ले सुरुदेखि नै दर्शकलाई त्यतिबेलाका नारीको पीडा देखाएर रुवाउने प्रयास गरेको छ । यो प्रयासमा फिल्म सफल छ । यो करुणाकै बीचमा समाजमा रहेको बेमेल र असमानता दर्साउने काम पनि फिल्मले गर्छ ।
कथाकारले साहित्यिक कथाका रूपमा लेखेको कथाबाट तलमाथि नगरी जस्ताको तस्तै निर्देशकले फिल्ममा उतारेका छन् । सकेको भए, साहित्यिक कथाभन्दा अझै विस्तारमा गएर त्यो बेलाको समाजको चित्रण गरेको भए झन् राम्राे हुने थियो । त्यो बेलाको सामाजिक तथा आर्थिक संरचना तथा राजनीतिक परिदृश्यको कल्पना पनि निर्देशकले गर्न सक्थे । तर, उनी त्यतातिर लागेका छैनन् । तर, जति कथा समाएका छन्, त्यसमा इमानदार छन् । ठूलो कथा नभई एउटा घटनामाथि बनाइएका कारण पनि फिल्मले आफ्नो लय गुमाउँदैन ।
इतिहासलाई फर्किएर हेर्दा जहिल्यै एउटा दृष्टिकोणसहित हेरिन्छ । सपाट नजरले हेर्ने इतिहासले कुनै अर्थ दिंदैन । यादव भट्टराईले चन्द्रशमशेरले सती प्रथा उन्मूलन घोषणा गर्नुअघिको त्यो इतिहासलाई विद्रोह र करुणा मिश्रति नारी नजरले हेरेका छन् । जसले प्रश्न गर्छ, 'लोग्ने मर्दा स्वानी जिउँदै जल्नुपर्ने, तर स्वास्नी मर्दा लोग्नेले हाँसीहाँसी बिहे गर्न पाउने ?' अहिले सती जानु नै नपरे पनि कतिपय महिलाका लागि पीडाको स्थिति उस्तै होला र कतिपय पुरुषका लागि छनोटको सुविधा पनि उस्तै होला । यसैले यो इतिहासलाई मात्र गरिएको प्रश्न होइन, यदि हो भने पनि यसको उत्तर आजमा खोजिनुपर्छ ।
यो फिल्मको अर्को विशेषता कलाकारहरूको राम्रो अभिनय हो । गरिमा पन्त, देशभक्त खनाल, लक्ष्मी गिरी र दीपक क्षत्रीलाई फिल्ममा हेर्दा ती पुरानै समयका मानिस हुन् कि जस्तो लाग्छ । फिल्मको कलर टोन र सिनेम्याटोग्राफी पनि राम्राे छ । साँघुरा र क्लोजअप सटहरू बढी खेलेर सिनेम्याटोग्राफर दीपक बज्राचार्यले अहिलेको समयलाई त्यो फ्रेममा घुस्न दिएका छैनन् भने अर्कातिर फिल्मको कथामा पनि ती सटहरू अर्थपूर्ण रूपमा मिलेका छन् ।
आफ्नो पहिलो फिल्ममा यादव भट्टराईले प्रशस्त मेहनत गरेको देखिन्छ । बाबु मर्दा छोराले बनाएको दाउराको टाँड भत्किनेजस्ता केही सुन्दर विम्ब उनले प्रयोग गरेका छन् । उनको कलात्मकता लामा लामा दृश्यहरूमा पनि देखिएको छ । नायिकालाई घरदेखि घाटसम्म पुर्याउँदाको लामो प्रक्रियालाई उनले सुन्दर ढंगले उतारेका छन् ।
कृष्ण धरावासयी आफैंमा 'रुवाउने' साहित्य लेख्ने लेखकका रुपमा चिनिन्छन्, त्यसमा यादवले आफ्ना पनि आँसु थपिदिएका छन् । पात्रहरुको मनोदशालाई अझैबढी मौनमा खेल्न सकेको भए, फिल्मको गहिराई अझै बढ्थ्यो होला । अत्यन्त 'लाउड' र बढी भावुक हुनु यो फिल्मको गुण र दोष दुवै हो । यसले कतिपय दर्शकलाई झर्को लाग्न पनि सक्छ । अन्यथा, एउटा फरक फिल्मको रुपमा 'झोला'को लामो समयसम्म चर्चा हुनेछ ।
0 comments
Write Down Your Responses