हलिउड सपना तुहिए पनि राजनीतिक 'हिरो'


काठमाडौ, माघ २८ - जोसिलो युवा उमेरमा सुशील कोइरालाको सपना फिल्मी हिरो बन्ने थियो, त्यो पनि हलिउडको । राजनीतिमा चाख नराख्ने सुशीललाई बाबु बोधप्रसाद भने सरकारी जागिर खुवाउन चाहन्थे ।

कोइराला परिवारसँग लामो सम्बन्ध रहेका कांग्रेस नेता पुरुषोत्तम बस्नेतका अनुसार राजा महेन्द्रले ०१७ पुस १ मा निरंकुश कदम नचालेको भए 'सुशील दा' हलिउड (अमेरिका) हानिइसक्थे । 'त्यसका लागि तारतम्य सबै मिलिसकेको  थियो,' बस्नेत थप्छन्, 'हिरो बन्न अभिनयको तालिम लिन भनेर उनी अमेरिका जाने तयारी भइरहेकै बेला महेन्द्रको निरंकुश कदमले रोकियो ।'

हलिउड हिरो बन्ने सपना तुहिए पनि जीवनको उत्तरार्द्धमा उनी स्वदेशी राजनीतिको 'हिरो' बनेका छन् । दुईतिहाइ मत ल्याई प्रधानमन्त्री निर्वाचित हुँदा अविवाहित कोइराला खुसीभन्दा बढी चिन्तित देखिन्थे । उनी यस्तो सर्तमा  प्रधानमन्त्री बनेका छन्, जसको निर्वाचित हुनासाथ दिनगन्ती सुरु भएको छ । पार्टीको आन्तरिक व्यवस्थापन र वर्तमान राजनीतिमा जेलिएका मुद्दाहरूलाई ठीक ढंगले सम्बोधन गरी एक वर्षभित्र संविधान जारी गर्नुपर्ने दायित्व छ, ७४  वषर्ीय कोइरालाका काँधमा ।

अवसर पाउँदा पनि राजकाजको अनुभव नलिई सिधै प्रधानमन्त्री बनेका कोइरालाका लागि राष्ट्रभित्र र बाह्य शक्तिलाई समन्वय गरेर अघि बढ्ने अर्को चुनौती पनि छ । त्यसलाई थाम्न कोइरालाले सुरुमै आफ्ना वरिपरिको सीमित  घेराबाट बाहिर निस्केर विश्वासिलो टिम बनाउनुपर्ने देखिन्छ ।  

कांग्रेस उपसभापति रामचन्द्र पौडेलको भनाइमा सुशील प्रजातान्त्रिक आन्दोलन र संघर्षका उदाहरणीय प्रतिनिधि हुन् । 'थोरै बोल्ने, लामो वक्तव्यबाजीमा विश्वास नगर्ने, सारभूत कुरा गर्ने र चुनौती सामना गरेरै छाड्ने क्षमता उहाँमा  छ,' उनले भने ।

लोभ-मोह नभएका उनी कृष्णप्रसाद भट्टराईपछिका 'सन्त' कोटिको नेतामा पर्छन् । जीवनशैली सामान्य छ । घर/सम्पत्ति छैन । गृह जिल्ला बाँकेमा रहँदा उनी भाइ अरुण कोइरालाका घरमा बस्छन् । राजधानीमा भने पार्टी सभापति  हुनुअघिसम्म लामो समयसम्म भान्जाका घरमा बस्थे । १२ औं महाधिवेशनबाट सभापति चुनिएपछि भान्जाका डेराबाट महाराजगन्ज सरेका हुन् । सुशील निकट नेता आनन्द ढुंगानाका अनुसार दाजुभाइबीच अंशबन्डा हुँदा पाएको ने पालगन्जको ४ बिघा सम्पत्तिसमेत कोइरालाले बिक्री गरेर सकिसकेका छन् ।

कांग्रेस संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको समाजवादी धारणाबाट प्रभावित सुशील २०१० देखि राजनीतिमा सक्रिय हुन थालेका हुन् । २०१७ पुस १ मा 'प्रजातन्त्र अपहरण' पछि उनी १६ वर्षसम्म भारत  प्रवासमा बसे । प्रवासमा बस्दा कांग्रेसको मुखपत्र तरुणको सम्पादन पनि गरे । प्रजातान्त्रिक आन्दोलनका क्रममा भारत र नेपालमा गरी करिब छ वर्ष जेल परे । २०३० सालमा गिरिजाप्रसाद कोइरालाको कमान्डमा भएको विमान अपहरण काण्डमा उनी तीन वर्ष भारतमा जेल परेका थिए ।

राजनीतिक संघर्षमा ठूलो योगदान भए पनि उनी समाजका बहुआयामिक पक्ष र खुला राजनीतिसँग भने घुलमिल नभएको आलोचना पनि गरिन्छ । २०३६ सम्म कांग्रेस संगठनमा उनको परिचय सामान्य थियो । २०४६ को परिवतर् नपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसादसँगै उनी बालुवाटार सरे । त्यसपछि मात्रै उनको राजनीतिक हैसियत बढ्दै गएको हो । गिरिजाप्रसाद प्रधानमन्त्री हुँदा सहयोगीका रूपमा सुशील बालुवाटार बस्थे । गिरिजाप्रसादकै आडमा  उनले सत्ता र पार्टीभित्र बिस्तारै आफ्नो पकड बढाएका हुन् । त्यसैक्रममा उनी एकाएक आम कार्यकर्ताको गुनासो सुन्ने र अवसर दिने शक्तिकेन्द्रका रूपमा उदाए । ०४६ पछि पार्टीभित्र गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र  गिरिजाप्रसाद कोइरालापछि दोस्रो पुस्ताका नेताका शेरबहादुर देउवा, शैलजा आचार्य र रामचन्द्र पौडेलको नाम लिइन्थ्यो ।

गिरिजाप्रसादले उपप्रधानमन्त्री बनाउन खोज्दा पनि उनले अस्वीकार गरेका थिए । गिरिजाप्रसादपछि कोइराला परिवारको विरासत उनैले धान्दै आएका छन् । नेतृत्वमा ल्याउन गिरिजाप्रसादले नै उनलाई पार्टीको महामन्त्री, उपसभापति  र कार्यवाहक सभापति बनाएका थिए ।

१२ औं महाधिवेशनबाट उनले पार्टीको नेतृत्व लिए । पार्टी नेतृत्वमा आएपछि सुशीलको काम गर्ने शैलीप्रति विवाद भयो । पार्टी सभापति चुनिएर कार्यकाल सकिन लाग्दासमेत केन्द्रीय कार्यसमितिलाई पूर्णता दिन सकेका छैनन् । कायर् सम्पादन समिति बन्न सकेको छैन । विभागहरूले पनि काम गर्न नसकेको भन्दै उनको नेतृत्व क्षमतामाथि प्रश्न उठ्दै आएको छ । सीमित घेरामा रहेर काम गर्ने नेताका रूपमा उनी परिचित छन् । आलोचकहरू उनलाई अन्तर्राष्ट्रिय  छवि नभएको नेताका रूपमा समेत टिप्पणी गर्छन्, जसलाई नेता ढुंगाना मान्न तयार छैनन् ।

'खुला राजनीतिमा नभिजेको भन्ने तर्क गलत हो,' ढुंगानाले भने, 'सुशील'दाले सबै जिल्ला घुमेर जनताको समस्या बुझ्नुभएको छ । गाडी नपुगेका ठाउँमा कयौं दिन हिँडेरसमेत जानुभएको छ ।' लामो समय गिरिजाप्रसादको संगतमा  हुर्के पनि सुशीलमा रहेको गुण भने नसरेको ढुंगाना स्विकार्छन् । भन्छन्, 'गिरिजाप्रसादमा कुनै पनि काममा तुरुन्त एक्सन गर्ने बानी थियो । त्यसका लागि उहाँ रिस्क पनि लिनुहुन्थ्यो, तर सुशीलदामा बिस्तारै काम गर्ने बानी छ ।'

,

0 comments

Write Down Your Responses

Powered by Blogger.