कस्तो छ खनाल-ओली सम्बन्ध ?


काठमाडौ, माघ २२ - एमालेमा अध्यक्ष झलनाथ खनाल र नेता केपी ओलीको सम्बन्ध धेरै सुमधुर छैन । दुवै नेता पार्टीभित्र विगतदेखि नै आमने सामने जस्तो रहँदै आएका छन् । खनाल २०२५ र ओली २०२६ सालदेखि पार्टीमा लागेका हुन् । समकालीन भए पनि खनाल पार्टीको प्रमुखदेखि प्रधानमन्त्रीसम्म भएका छन् । ओली भने पार्टी र सरकार दुवै मोर्चामा पहिलो स्थानमा पुगेका थिएनन् । उनी यसअघि सरकारमा उपप्रधानमन्त्री, पार्टीका स्थायी समिति सदस्य र संसदीय दलमा उपनेतासम्म बनेका थिए ।

२०३९ देखि २०४६ सम्म तत्कालीन मालेको महासचिव, २०६४ को संविधानसभा चुनाव पराजयपछि महासचिव र २०६५ को आठौं महाधिवेशनबाट अहिलेसम्म अध्यक्ष गरी खनाल झन्डै १३ वर्ष पार्टीको प्रमुख भूमिकामा छन् । माले र माक्र्सवादीको एकीकरण्ाबाट एमाले बनेपछि महासचिवमा मदन भण्डारी आए । भण्डारीको उदयपछि खनालको भूमिका कमजोर भयो । भण्डारीको सहयोगीका रूपमा ओलीको पार्टीमा प्रभाव जम्यो । पाँचौं महाधिवेशनमा ओली भण्डारीले ल्याएको बहुदलीय जनवादको कार्यक्रमका पक्षमा उभिए । खनालले महासचिव सीपी मैनालीलगायतसँग मिलेर 'नौलो जनवादी' कार्यक्रम अघि सारे । महाधिवेशनले बहुदलीय जनवादको कार्यक्रम पारित गर्‍यो । त्यसपछि सैद्धान्तिक रूपमा खनाल र ओली फरक- फरक कित्तामा रहे । महाधिवेशनमा आफ्नो कार्यक्रम पारित भएपछि पार्टी प्रमुख भइसकेको व्यक्ति भए पनि खनाललाई भण्डारीले वास्ता गरेनन् । केन्द्रीय सदस्यको हैसियतमा मात्र सीमित गरिदिए ।

०५० मा मदन भण्डारीको निधनपछि एमालेमा माधव नेपाल महासचिव भए । नेपाल प्रमुख पदमा आएपछि पनि खनाल पार्टीभित्र छायामा परे । नेपालको कार्यकालमा ओली पार्टीभित्र प्रतिपक्षको भूमिकामै रहे । अघिल्लो संविधानसभा चुनावमा नेपाल र ओली दुवै हारेपछि खनाललाई फेरि नेतृत्व गर्ने अवसर जुट्यो । त्यसपछि फेरि खनाल र ओलीको टकराव सुरु भयो । २०६५ को आठौं महाधिवेशनमा अध्यक्षमा दुवै नेता भिडे । खनालले जिते । जित स्वीकारे पनि ओलीले सुरुमै फर्जी प्रतिनिधिका आधारमा जितेको भन्दै आरोप लगाए । चुनाव जितेपछि खनालले पनि ओली र उनको पक्षलाई समेटेर लानेमा ध्यान दिएनन् । ओलीले पनि खनालको जितलाई स्वीकारेर पार्टी सञ्चालनमा सहयोग गरेनन् । आठौं महाधिवेशनपछि उनीहरूबीच प्रमुख रूपमा एमाओवादीलाई हेर्ने दृष्टिकोणको विषयलाई लिएर मतभेद भयो । खनाल एमाओवादीसँग मिलेर जानुपर्ने पक्षमा रहे भने ओली एमाओवादी नभई कांग्रेससँग सहकार्य गर्नुपर्ने पक्षमा उभिए । एमाओवादीसँगको समीकरण मिलाएर खनाल प्रधानमन्त्री बने तर ओली पक्षको सहयोग भएन । प्रधानमन्त्रीकालमा एमाओवादीले पनि सहयोग नगरेपछि खनालको पनि उसलाई हेर्ने दृष्टिकोणमा केही परिवर्तन आयो । तीव्र गुटबन्दीले पार्टी नै समाप्त हुने स्थिति आउन थालेपछि पहिलो राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकको अवसर पारेर खनाल-ओलीले आन्तरिक एकताको घोषणा गरे । त्यसपछि झन्डै डेढ वर्ष उनीहरूबीच धेरै विवाद भएन । तर संविधानसभाको दोस्ा्रो निर्वाचन गर्ने बेलामा उम्मेदवारी चयन र पार्टीका आउँदो अधिवेशनको विषयलाई लिएर खनाल र ओलीबीच मनमुटाव बढ्यो । यसकौ कारण मंगलबार संसदीय दलमा दुवै नेता चुनावी प्रतिस्पर्धामा उत्रिए ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.