महिला क्रिकेट टोली चौथो


काठमाडौं– नेपालले एसिसी वुमन्स प्रिमियर क्रिकेटको निराशाजनक यात्रा टुंग्याएको छ। थाइल्यान्डमा भइरहेको प्रतियोगितामा नेपाल सोमबार हङकङसँग ७ विकेटले पराजित भयो। एसियाली क्रिकेट परिषद् (एसिसी) ले पहिलोपल्ट आयोजना गरेको ४० ओभरको प्रतियोगितामा ६ राष्ट्र सहभागी हुँदा नेपाल चौथो भयो। सोमबारको हार नेपालको प्रतियोगिता तेस्रो हो।
नेपाल थाइल्यान्डसँग सजिलै ८ विकेट र चीनसँग ६९ रनले पराजित भएको थियो।
एसिसीले सन् २००७ मा पहिलोपल्ट महिला प्रतियोगिता आयोजना गरेदेखि सहभागी हुँदै आएको नेपालको दोस्रो कमजोर प्रदर्शन हो। २०११ मा कुवेतमा भएको एसिसी वुमन्स ट्वान्टी–२० च्याम्पियनसिपमा नेपाल चौथो नै भएको थियो। त्यतिखेर हङकङसँगै सेमिफाइनलमा ९ विकेटले पराजित भएको नेपालले चौथो स्थानको प्लेअफमा थाइल्यान्डलाई १३ रनले नतिजा सुम्पेको थियो।
चियाङमाइस्थित प्रेम ओभलमा टस जितेको नेपाल ३६.१ ओभरमा १ सय ३ रनमा अलआउट भयो। हङकङले २४ ओभरमै लक्ष्य पूरा गर्योम। लाइ वि किङले ४० रन बनाउँदै हङकङलाई सजिलो विजय दिलाए। उनले ३९ बल खेली ६ चौका प्रहार गरे। यिप स्जे वानले अविजित ३० रन बनाइन्। उनले ५२ बलको इनिङ्समा ३ चौका प्रहार गरिन्। नेपालबाट सीता रानामगरले २ र सोनु खड्काले १ विकेट लिए।
नेपालको सुरुआत राम्रो थिएन। नीरा राजोपाध्याय ३ रनमै आउट भइन्। सरिता मगरले खाता खोल्न सकिनन्। सीता १० र ममता थापा १२ रनमा पवेलियन फर्किए। सरस्वती चौधरी र कप्तान रुबिना क्षेत्रीले नेपालको इनिङ्स तान्ने प्रयास गरेका थिए। सरस्वतीले १६ र रुबिनाले २२ रन बनाए। रुबिनाले ३६ बल खेली ४ चौका प्रहार गरिन्। त्यसपछि ममता चौधरी १, तृष्णा सिंह ७, करुणा भण्डारी ८ र कविता गौतम १ रनमा आउट भए। हङकङबाट मारिना लामप्लोघले ४ र इशिता गिडवानीले ३ विकेट लिए।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.