सरकारबारे छलफल गर्न आज कांग्रेस बैठक


काठमाडौ, माघ २१ - कांग्रेसले भावी सरकारबारे छलफल गर्न मंगलबार केन्द्रीय समिति बैठक बोलाएको छ । बैठकले सत्ता बाँडफाँड लगायत विषयमा औपचारिक धारणा तय गर्ने वरिष्ठ नेता शेरबहादुर देउवाले बताए ।

कांग्रेस सभापति सुशील कोइराला निवासमा पदाधिकारी र केही केन्द्रीय सदस्य सम्मिलित अनौपचारिक बैठकले संयुक्त सरकार निर्माणका लागि अन्य दलसँगको वार्ता र सत्ताको बाँडफाँडबारे औपचारिक धारणा बनाउनुपर्ने निष्कर्ष निकालेको छ । 'केन्द्रीय समितिमा सरकार निर्माणलगायत विषयमाथि विस्तृत छलफल हुनेछ,' बैठकपछि देउवाले भने । एमालेसँग सत्ताको बाँडफाँडलगायत विषयमा समझदारी जुटाउन केन्द्रीय समितिबाट वार्ता समिति बनाउने तयारी कांग्रेसको छ । सभापति कोइरालाले सहमति जुटाउन अनौपचारिक तहमा केन्द्रीय सदस्यहरू रामशरण महत र दीपकुमार उपाध्यायलाई जिम्मा दिएका छन् ।

 उपसभापति रामचन्द्र पौडेलले केन्द्रीय समिति बैठकमा एमालेलगायत दलसँग गर्ने वार्ता, सरकार गठन र त्यसको स्वरूपबारे मंगलबारै औपचारिक धारणा तय गरेर अघि बढ्ने बताए । 'सहमतीय सरकार बन्न नसके पनि बहुमतीय सरकारमा अधिकतम दललाई सहभागी गराउन कांग्रेसको पहल हुनेछ,' उनले भने ।

प्रवक्ता दिलेन्द्र बडुले राजनीतिक दलसँग वार्ता गर्न बैठकबाट औपचारिक रूपमा समिति बनाइने बताए । अनौपचारिक रूपमा महत र उपाध्यायले एमाले वार्ता टोलीसँग छलफल गर्दै आएका छन् । एमालेले सत्ता साझेदारीबारे वार्ता गर्न उपाध्यक्ष वामदेव गौतम र सचिव विष्णु पौडेललाई जिम्मा दिएको छ । कांग्रेस र एमालेबीच राष्ट्रपतिको निर्वाचनबारे मुख्य विवाद छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.