शिक्षण अस्पतालमा फेरि तनाव


काठमाडौ, माघ २७ -
रेग्मीको चेतावनी- अप्रिय निर्णय गर्नु नपरोस्
शिक्षण अस्पतालका सत्रै विभाग प्रमुखहरूले भने- श्रेष्ठलाई निर्देशक स्विकारिन्न


त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले शिक्षण अस्पतालका निर्देशक डा. भगवान कोइरालाको राजीनामा स्वीकृत गरेर कनिष्ठ प्राध्यापक डा. रतीन्द्र श्रेष्ठलाई निमित्त निर्देशक बनाएपछि अस्पतालमा फेरि तनाव भएको छ  ।

आइतबार बिहानैदेखि चिकित्सक र विद्यार्थी विरोधमा उत्रेपछि तनाव भएको थियो । चिकित्सकहरू कडा रूपमा प्रस्तुत हुन थालेपछि अस्पताल पुगेको प्रहरी टोली गृहमन्त्रीेको आदेशमा फर्केका थिए । त्रिविले मनोमानीपूर्वक ऐन  नियमको धज्जी उडाएको भन्दै आन्दोलनरत चिकित्सक र विद्यार्थीले चिकित्साशास्त्र अध्ययन संस्थानलाई स्वायत्तसमेत घोषणा गरेका थिए ।

अस्पतालका सबै विभागका प्रमुखहरूले श्रेष्ठलाई निर्देशकको रूपमा स्वीकार नगर्ने जनाएका छन् । अस्पतालका १७ विभागका प्रमुखहरूले आइतबार त्रिवि उपकुलपतिलाई हस्ताक्षरसहितको पत्र लेखेर अस्पतालमा उपनिर्देशक हुँदाहुँदै निमित्त कार्यकारी निर्देशकमा डा. श्रेष्ठको नियुक्ति नियमसंगत नभएको जनाएका हुन् ।  उनीहरूले उक्त निर्णय नसच्चिएसम्म यसको विरोध र अवज्ञा गर्ने उल्लेख गरेका छन् । संस्थानका डिन डा. विमल सिन्हाका अनुसार बिहानको बैठकमा उपस्थित सबै विभागीय प्रमुखहरूले नयाँ निर्देशक नियुक्तिको विरोध गर्दै उक्त  निर्णय नमान्ने अडान व्यक्त गरेका थिए ।

चिकित्सक-विद्यार्थीको व्यापक विरोधका कारण श्रेष्ठले आइतबार पद बहाली गर्न सकेनन् । आवासीय चिकित्सक एवं एमबीबीएस विद्यार्थीले श्रेष्ठ अस्पताल प्रवेश गरे उनको प्रतिकार गर्ने घोषणा गरेका छन् । शिक्षण अस्पतालस्थित  प्राध्यापक संघ र फ्याकल्टी डाक्टर्स एसोसिएसनले नवनियुक्त निर्देशक श्रेष्ठको मातहतमा काम गर्न नसक्ने निर्णय गरेका छन् । एसोसिएसनले विरोधका कार्यक्रम सोमबार तय गर्ने जनाएको छ । रेजिडेन्ट डाक्टर एसोसिएसनले पनि  आन्दोलन थालेको छ । एसोसिएसनले नवनियुक्त निर्देशक श्रेष्ठलाई असहयोग गर्ने उल्लेख गर्दै उनको विरोधमा सोमबारदेखि अस्पतालका आकस्मिकबाहेकका सेवामा सरिक नहुने जनाएको छ ।

नेपाल चिकित्सक संघले सरकार र सरोकारवाला निकायले डा. गोविन्द केसी पुनः आमरण अनशनमा बस्ने परिस्थिति सिर्जना गरिएकोमा आपत्ति जनाउँदै तुरुन्त समस्या समाधान गर्न माग गरेको छ । संघका अध्यक्ष डा. अन्जनी  झाले सरकारसँग दुई साताअघि गरिएको सम्झौता तुरुन्त कार्यान्वयन नगरे कडा पाइला चाल्न बाध्य हुने बताएका छन् ।

रेग्मीको चेतावनी- अप्रिय निर्णय गर्नु नपरोस्

यसैबीच मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले डा.गोविन्द केसीको अनशन प्रकरण धेरै लम्बिसकेको जनाउँदै त्रिवि पदाधिकारीले सकारात्मक निर्णय नगरे सोमबार आफू नै 'अपि्रय निर्णय गर्न बाध्य हुने' चेतावनी दिएका छन् । रेग्मीले  बारम्बारको अनुरोधसमेत त्रिवि पदाधिकारीले बेवास्ता गरेकोमा बैठकमा आपत्ति जनाएका थिए ।

प्रधानमन्त्री कार्यालयमा चिकित्साशास्त्र अध्ययन संस्थानका पदाधिकारी, त्रिविका उपकुलपति, रेक्टर, रजिस्ट्रार, शिक्षा, गृह, स्वास्थ्य र कानुनमन्त्री र मुख्य सचिव एवं अन्य तीन सचिवहरूको उपस्थितिमा गरेको विशेष आकस्मिक बै ठकमा रेग्मीले उक्त चेतावनी दिएका हुन् ।

डिन प्रस्ताव गर्ने तीन सदस्यीय समितिबाट एकले राजीनामा दिएकाले नयाँ समिति बनाएर तुरुन्त डिन प्रस्ताव गर्न उनले निर्देशन दिएको बैठकमा सहभागी रेजिडेन्ट डाक्टर्स एसोसिएसन अध्यक्ष डा. किशोर खनालले बताए । रेग्मीले  त्रिवि पदाधिकारीलाई सोमबार बिहानसम्म डा. केसी अनशनको समाधान नगरे आफू पाइला चाल्न बाध्य हुने चेतावनी दिएका थिए ।

शिक्षामन्त्री माधव पौडेलले डिन लगायतका कुनै नयाँ नियुक्ति नगर्न त्रिवि निकायलाई निर्देशन दिँदादिँदै पनि अवहेलना गर्दै नियुक्त गरेर हालको प्रतिकूल अवस्था सिर्जना गरेको बताएका थिए ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.