हतियार प्रयोगले यार्चागुम्बा मासियो

११ साउन, संखुवासभा । सङ्खुवासभाको उत्तरी हिमरेखा क्षेत्रमा पाइने यार्चागुम्बा मासिएर गएको छ ।
विशेषगरी मकालु बरुण राष्ट्रिय निकुञ्ज र मकालु आधार शिविरमा पाइने यार्चागुम्बा अवैधानिक र हतियारको प्रयोग गरी सङ्कलन गर्दा यो वर्ष ९० प्रतिशतभन्दा बढी यार्चागुम्बा मासिएको निकुञ्जले जनाएको छ ।
गत वर्ष १ सय ६५ किलोभन्दा बढी यार्चागुम्बा सङ्कलन भएकोमा यो समयमा यार्चा सङ्कलकले कुटो कोदालोजस्ता घरायसी हतियार प्रयोग गरेका कारण यो वर्ष १० किलो पनि यार्चा नपाइने यार्चा सङ्कलक ग्याल्जे शेर्पाले बताउनुभयो ।
यार्चा सङ्कलन गर्दा कुटो कोदालो जस्ता घरायसी हतियारको प्रयोगले झार मासिने, खाल्डा पर्ने, यार्चाका लार्भा र फुल नै मर्ने हुँदा अर्को वर्ष यार्चा नपाइने निकुञ्जका दुर्गाकिरण राईले बताउनुभयो ।
यो समयमा मकालु बरुण राष्ट्रिय निकुञ्ज र मकालु हिमाल आधार शिविरका क्षेत्रमा यार्चा सङ्कलकहरु सानो सहर जस्तै गरी पाल टाँगेर बस्ने गरेको पाइन्थ्यो तर यो वर्ष दुई/चार जना पनि यार्चा सङ्कलक छैनन् ।
अघिल्लो वर्ष उच्च क्षेत्रमा मात्रै हैन तल्लो क्षेत्रमा पनि यार्चागुम्बा पाइएको थियो । समुद्री सतहदेखि एक हजार ५०० मिटर क्षेत्रको तामाफोक, मादी, स्याबुन, माम्लिङ गाविसको तितेपाती, बुकीफुल, सोत्तर, अलैँची बारी र उत्तिसमा यार्चा पाइएको थियो ।
यो वर्ष उक्त क्षेत्रमा यार्चागुम्बा पाइएको छैन । तल्लो क्षेत्रमा पाइने यार्चागुम्बा गुणस्तरहीन हुने भएकाले उच्च क्षेत्रमा पाइने यार्चाको जस्तो मूल्य छैन । यो वर्ष यार्चागुम्बा नपाइएपछि जिल्लामा उठ्ने करमा पनि कमी आएको छ ।
गत वर्ष जिल्ला वन कार्यलयले ६५ किलो र मकालु बरुण निकुञ्जले १०० किलो यार्चा निकासी अनुमति दिएको थियो तर यो वर्ष १० किलोको जति पनि छैन । प्रतिकिलो यार्चागुम्बाको रु ९३ हजार कर लिने गरिएको छ । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.