स्याङ्जामा एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दो

११ साउन, स्याङजा । स्याङ्जामा एचआइभी सङ्क्रमितको सङ्ख्या ३ सय ७ पुगेको छ ।
जिल्ला एड्स समन्वय समिति, सक्रिय सेवा समाज र स्याङ्जा सपोर्ट ग्रुपले गरेको सामूहिक अध्ययनमा महिला १७७ र पुरुष १३० जना एड्स सङ्क्रमित देखिएको जिल्ला एड्स समन्वय समितिका संयोजक सुभाष श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार जिल्लामा दुई हजारभन्दा बढी सर्वसाधारण एचआइभी एड्स प्रभावित रहेका छन् । “आर्थिक वर्ष ०६८/०६९ सम्म जिल्लामा सङ्क्रमितको सङ्ख्या २ सय ९१ रहेको थियो” संयोजक श्रेष्ठले भन्नुभयो, “आव ०६९/०७० मा १२ जना पुरुष र चार महिला गरी कुल १६ जना थपिएर सङ्क्रमितको सङ्ख्या ३ सय ७ पुगेको हो ।”
सङ्क्रमितमध्ये ३७ जना १५ वर्षमुनिका बालबालिका रहेका छन् भने ३८ जना सार्वजानिक भएर चेतनामूलक अभियानमा सक्रिय छन् । जिल्ला एड्स समन्वय समितिमा सम्पर्कमा आएर एआरभी खाएकामध्ये हालसम्म कुल १३ जनाको मृत्यु भइसकेको श्रेष्ठले जानकारी दिनुभयो ।
“एचआइभी सङ्क्रमित तथा प्रभावितहरु जिल्लामा अझै बढी भएको अनुमान हामीले गरेका छौँ” संयोजक श्रेष्ठले भन्नुभयो, “उनीहरुलाई समाजमा हेर्ने नजरमा अझै परिवर्तन नभएकाले उनीहरु खुल्न नसकेर बसेकाले पनि वास्तविक तथ्याङ्क निकाल्न निक्कै कठिन भएको छ ।”
गाउँगाउँमा गएर चेतनामूलक कार्यक्रम चलाउने, आर्थिक रुपमा सबल बनाउन विभिन्न सीपमूलक तालिम सञ्चालन गर्ने र घरदैलो अभियान सञ्चालन गर्दा पनि अपेक्षाकृत उपलब्धि हात पार्न नसकिएको सक्रिय सेवा समाजका टोली नेता गेमबहादुर नेपालीले बताउनुभयो ।
जिल्लाका विशेषगरी श्रीकृष्णगण्डकी, पकवादी, जगत्रदेवी, खिलुङ देउराली, रत्नपुर, चापाकोट, पुतलीबजार नगरपालिका र वालिङ नगरपालिका एचआइभी एड्सका क्षेत्रमा बढी जोखिममा देखिएको जिल्ला एड्स समन्वय समितिले जनाएको छ । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.