वैदेशिक रोजगार बचतपत्र अब किस्ताबन्दिमा

१३ साउन, काठमाडौं । सरकारले चार वर्षदेखि जारी गर्दै आएको वैदेशिक रोजगार बचत पत्र अपेक्षित बिक्री नभएपछि चालू आर्थिक वर्षबाट किस्ताबन्दीमा जारी गर्ने भएको छ । आर्थिक वर्षको अन्तमा एकै पटक ठूलो रकमको बचत पत्र जारी गर्दा जानकारी र तयारीको अभावमा धेरै व्यक्ति छुट्ने गरेका थिए ।
baideshik rojgar
अब केही महिनाको अन्तरमा तीन/चार पटक जारी गर्ने योजना बनाएको अर्थ मन्त्रालयका अधिकारीले जानकारी दिए । ‘पहिलो पटक जारी गर्दा छुटेका व्यक्तिले दोस्रो पटक किन्न सक्छन्’, उनले भने, ‘यसो गर्दा बढी बचतपत्र बिक्री हुने सम्भवाना हुन्छ ।’
गत आर्थिक वर्ष २०६९/७० मा सरकारले १०.५ प्रतिशत ब्याजमा एक अर्बको वैदेशिक रोजागर बचत पत्र निष्काशन गरेकोमा ४ करोड २८ लाख ५५ हजार रुपैयाँको बिक्री भएको छ । असारको ३० गते ऋणपत्र निष्काशन गरिएको थियो ।
सरकारले सुरु वर्ष ९.७५ प्रतिशत ब्याजमा ४० लाख रुपैयाँ, दोस्रो वर्ष १०.५ प्रतिशत ब्याजमा ३३ लाख ८० हजार र तेस्रो वर्ष १० प्रतिशत ब्याजमा ८६ लाख ६० हजार रुपैयाँको ऋणपत्र बिक्री गरेको थियो । सरकारले साधारण ऋणपत्रको तुलनामा वैदेशिक रोजगार बचतपत्रमा बढी ब्याज दिने गरेको छ ।
बचतपत्र खरिदकर्ताले ६/६ मा ब्याज प्राप्त र बीचमा रकम आवश्यक पर्ने व्यक्तिले बचत पत्र धितो राखेर बैंकबाट सहजै ऋण लिन पनि सक्छन् । वैदेशिक रोजगारमा गएका नेपालीलाई बचतको लागि प्रोत्साहन गर्न र उनीहरुको आम्दानी विकास निर्माणमा उपयोग गर्नका लागि सरकारले  बचतपत्र जारी गर्दै आएको हो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.