१६ साउन, काठमाडौं । २०३६ सालसम्म
शिक्षकले चोखो तलब बाहेक निजामती कर्मचारीसरह अरु सेवा, सुविधा पाउँदैनथिए ।
पञ्चायती व्यवस्थाको बोलवाला थियो । आफ्नो हक, अधिकारको लागि खुलेर माग
राख्नु व्यवस्थाको बिरोधमा लागेको ठहरिन्थ्यो । तर ०३६ सालमा गाउँ, शहरका
बिभिन्न ठाउँबाट पञ्चायती व्यवस्था बिरुद्धको आवाज उठ्न थाल्यो ।
विद्यार्थीसँगै शिक्षकहरुले यसको अगुवाई गरे । ०३६ सालबाट शुरु भएको
आन्दोलनको लहरले शिक्षकको पेशागत हकअधिकार मात्र स्थापित गरेन, मुलुकको
राजनीतिक परिवर्तनमा समेत महत्वपूर्ण भूमिका खेल्यो ।
तर
त्यही आन्दोलनमा लागेका धादिङका एकजना शिक्षकले हुँदाखाँदाको जागीर समेत
गुमाउनुपर्यो । सँगै आन्दोलनमा लागेकामध्ये कतिपय राजनीतिक लाभ र
प्रतिष्ठाको पदमा पुगे । मन्त्री भए । कति पेन्सन पकाएर बसे । तर ती
शिक्षकले आफू अन्यायमा परेको कागजपत्र बोकेर मन्त्रालय धाउँदाधाउँदै तीन
दशक बिताएका छन् ।
शिक्षक आन्दोलनमा लागेको कारण पञ्चायती
व्यवस्थाको तारो बनेका धादिङ, नलाङका शिक्षक टङ्कनाथ शर्मा तिमिल्सिनाले १०
वर्षे स्थायी जागिर गुमाउनुभयो । बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि गठन
भएको सरकार र राजनीतिक दलले उहाँलाई पुनर्वहाली गर्ने आश्वासन दिए । तर
बहुदल हुँदै लोकतन्त्र र गणतन्त्र स्थापना भैसक्दा समेत उहाँको अवस्था
जीउँका तिउँ छ । १० वर्षे स्थायी जागिरपछि अस्थायी दरबन्दीमा काम थालेको
पनि २२ वर्ष भैसक्यो । आउँदो बैशाखमा अवकाश पाउने उहाँ हात टक्टक्याउँदै
स्कूलबाट हिँड्नुपर्ने पीडाले मर्माहत हुनुहुन्छ ।
यस्तो छ व्यथा
हाल धादिङको नलाङ माध्यमिक विद्यालयमा
अस्थायी नि.मा.शि. दरबन्दीमा शिक्षक शर्मा २०३२ फाल्गुण १७ गतेदेखि स्थायी
प्राथमिक शिक्षक र २०३५ पौष ११ देखि स्थायी निम्न माध्यमिक शिक्षक
हुनुहुन्थ्यो । उहाँ नेपाल राष्ट्रिय शिक्षक संगठनको स्थापनाकाल २०३६ देखि
निरन्तर त्यसको सदस्य र सकृय कार्यकर्ता रहँदै आउनुभयो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला
तदर्थ समिति धादिङको संस्थापक सदस्य भएको कारण समितिको निर्णय बमोजिम
उहाँलाई पर्यवेक्षकको रुपमा २०३६ मंसिरमा हेटौंडाको भुटनदेवी माध्यमिक
विद्यालयमा हुने पहिलो राष्ट्रिय सम्मेलनमा सहभागी हुन पठाइयो । शिक्षक
हकअधिकारको लागि हुन लागेको त्यो सम्मेलनलाई पञ्चायती सरकारले व्यवस्था
बिरोधी अभियानको रुपमा बुझ्यो । त्यसैले अरु शिक्षकलाई जस्तै शर्मालाई पनि
जिल्ला शिक्षा कार्यालय धादिङद्वारा सो सम्मेलनमा भाग लिन नजानको लागि
चेतावनी पत्र पठाइयो । तर शर्मा सम्मेलनमा भाग लिन जानुभयो । २०४१ सालमा
शिक्षकहरुले गरेको ‘काठमाडौं जाऔं’ आन्दोलनमा पनि उहाँ सहभागी हुनुभयो ।
‘अहिलेका एमाओवादी प्रवक्ता अग्नी सापकोटासँगै त्यतिबेला म जेलमा परेको
थिएँ’ शर्माले स्मरण गर्नुभयो ।
संगठनको कार्यक्रममा सहभागी भए लगत्तै
शिक्षक शर्मामाथि कार्वाही शुरु भयो । त्यतिबेला धादिङका ६ जना स्थायी
शिक्षकहरुलाई अपायक जिल्ला सरुवा गरिएका मध्ये उहाँलाई काभ्रेपलाञ्चोकको
जिल्ला शिक्षा कार्यालयमा २०४२ कात्तिक ११ मा सरुवाको पत्र पठाइयो । सरुवा
गरिएको जिल्लामा रमाना गरी पठाउन जिल्ला शिक्षा कार्यालय धादिङद्वारा
कार्यरत विद्यालयलाई पटकपटक ताकितापत्र जारी गरियो । र उहाँ सहितको संयुक्त
दस्तखतबाट संचालन हुँदै आएको विद्यालयको बैंक खाता रोक्का गरियो ।
विद्यालय व्यवस्थापन समितिले रमाना नगर्दै जिल्ला शिक्षा कार्यालय
धादिङद्वारा उहाँ कार्यरत रहेको दरवन्दी ‘रिक्त हुन आएको’ भनी अर्का शिक्षक
होमनाथ सिटौलालाई अस्थायी नियुक्तिको लागि सिफारिस गरी विद्यालय
व्यवस्थापन समितिलाई पत्र पठाइयो ।
त्यसपछि २०४२ चैत २६ को पत्रानुसार
शर्माले पाउनुपर्ने तलव भत्ता लगायत सम्पूर्ण सुविधाहरु ‘सरुवा गरिएको’
बहानामा रोक्का गर्ने काम भयो । विद्यालयमा उहाँले गरेको योगदानको कारण
रमाना गरी नपठाउन स्थानीय अभिभावक र विद्यार्थीले तात्कालीन विद्यालय
सञ्चालक समितिलाई दवाव दिए । विद्यार्थी र अभिभावकलाई ‘उक्साएको’ नाममा
त्यतिबेलाका प्रधानाध्यापक समेत रहेका शर्मालाई विद्यालयबाटै गिरफ्तार गराई
२०४२ फागुन १३ देखि १९ गतेसम्म जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखियो ।
र पूर्ववत विद्यालयमा हाजिर हुन जान नपाउने शर्तमा हिरासतबाट रिहाई गरियो ।
त्यसपछि उहाँ विद्यालयमा पुनः हाजिर हुन जाँदा विद्यालय समेतले काभ्रे
जिल्ला सरुवा गरिसकिएको नाममा हाजिर हुनबाट वञ्चित गर्यो । काभ्रे जिल्लामा
हाजिर हुन जाँदा पूर्व विद्यालय नलाङ नि.मा.वि. धादिङबाट रमाना पत्र नै
नआएको वहानामा हाजिर हुन दिइएन । ‘२०४२ फागुन १३ पश्चात २०४८ सालसम्म म
कुनै पनि विद्यालयमा सेवा गर्ने अवसरबाट वञ्चित भै गैह्रहाजिर रहनुपर्ने
अवस्था रह्यो’ शर्माले अनलाइनखबरसित भन्नुभयो ।
आश्वासन मात्र
२०४६ सालमा बहुदलीय व्यवस्थाको
पुनस्र्थापना भएपछि त्यसअघि कार्वाहीमा परेका शिक्षकहरु पुनवर्हाली भए । तर
०४२ सालदेखि कार्यरत नभएको कारण उहाँ पुनर्वहाली हुन सक्नुभएन । ‘तर सँगै
जिल्लामा शिक्षक आन्दोलनमा लागेका सहकर्मी साथीहरु र अरु राजनीतिक दलका
नेताले समेत तपाईं अन्यायमा परेको हुँदा पुनर्वहाली हुन्छ भनेर आश्वास दिए’
शर्माले त्यतिबेलाको स्मरण गर्दै भन्नुभयो ।
बहुदलीय व्यवस्था पुनस्र्थापना पश्चात
सरकारद्वारा गठित ‘विगत आन्दोलनहरुमा राजनैतिक कारणले अवकाशमा परेका
शिक्षकहरुको बाँकी पूनर्वहाली र …….. राहत’बारे आवश्यक अध्ययन गर्न २०५४
बैशाख २० मा वेदनिधि निरालाको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनको
पृृष्ठ ८ को क्रमसंख्या ५२ मा विना शर्त पूुनर्वहाली हुनुपर्ने सूचिमा समेत
उहाँको नाम छ ।
पूर्ववत विद्यालय नलाङ नि.मा.वि. नलाङको
निम्न माध्यमिक शिक्षक दरबन्दी रिक्त रहेकाले ‘पूनर्वहाली हुँदा सोही पद र
सेवामा निरन्तरता हुने’ तात्कालीन जिल्ला शिक्षा अधिकारीको मौखिक आश्वासन
अनुसार उहाँ सो रिक्त दरबन्दीमा २०४८ भदौ ५ गतेदेखि जि.शि.का. धादिङद्वारा
अस्थायी नियुक्ति भै हालसम्म सोही विद्यालयमा कार्यरत रहँदै आउनुभएको छ ।
धादिङका तत्कालिन सांसद तथा अहिले एमालेका केन्द्रीय नेताहरु
राजेन्द्रप्रसाद पाण्डे र गंगालाल तुलाधर एवं तत्कालिन शिक्षामन्त्री
गोविन्दराज जोशीको आश्वासनमा उहाँले ०४८ सालमा अस्थायी दरबन्दीमा काम गर्न
लाग्नुभएको हो । त्यतिबेला जोशीले ‘तपाईंको मात्रै पूनर्वहाली गरौं कि
सबैको एकैपटक’ भन्दा शिक्षक शर्माले सामुहिक रुपमा गर्दा पनि हुन्छ
भन्नुभएको थियो । ‘मेरो मात्रै गर्नुहोस् भनेको भए त्यतिबेला पूनर्बहाली
हुन्थ्यो, तर मैले सबै साथीको हितमा सामुहिक रुपमा गर्नुहोस् भनें’ शर्माले
भन्नुभयो-’पछि कतिपय साथीहरुको भयो, तर मेरो समस्या चाहिँ समाधान हुन सकेन
।’
यसबीचमा बहुदलीय प्रजातन्त्र स्थापना र
लोकतन्त्र बहालीपछि हरेक सरकारका शिक्षा मन्त्रीलाई उहाँले आफ्नो पीडा र
समस्याबारे अवगत गराउँदै आउनुभएको छ । उहाँका तत्कालिन सहकर्मी पाण्डे र
तुलाधर लगायत नेताहरुले हरेकपटक आश्वासन पनि दिइरहे । ‘सबैबाट तपाईं
अन्यायमा परेको हुँदा पूनवर्हाली हुन्छ भनेर आश्वासन पाइरहें । शिक्षा
मन्त्रालयमा पटकपटक निवेदन पनि दिएँ । मिल्दैन, हुँदैन कसैले पनि भनेनन् ।
तर काम पनि भएन’ शर्माले आफ्नो दुखेसो पोख्नुभयो ।
उमेरहदको कारण उहाँले आउँदो बैशाखदेखि
अवकाश लिँदै हुनुहुन्छ । ०३६ सालमा शिक्षक आन्दोलनमा नलागेको भए उहाँको
स्थायी जागिर गुम्दैनथियो । अहिले अवकाश लिँदा पेन्सन, उपदान, औषधि खर्च
लगायत लाखौं रुपैंया हात पर्दथ्यो । तर अब उहाँले रित्तो हात टक्टक्याउँदै
विद्यालयबाट बिदा हुनुपर्ने अवस्था सृजना हुँदैछ ।
‘मैले उतिबेला आफ्नो व्यक्तिगत हितको लागि
आन्दोलन गरेको होइन, सबै शिक्षकको पेशागत हकअधिकारको लागि आवाज उठाएको हो’
शर्माले भन्नुभयो-’त्यही आन्दोलन र आवाजले आज सबै शिक्षकको अधिकार स्थापित
भयो, म चाहिँ अन्यायमा परें ।’
0 comments
Write Down Your Responses