कांग्रेसको छनोट 'अपारदर्शी'

काठमाडौ, पुस १८ - कांग्रेस संसदीय समितिले समानुपातिक सभासद छनोट गर्दा पार्टीमा पुर्‍याएको योगदान, सिद्धान्त र नीतिलाई प्रस्तुत गर्न सक्ने क्षमता भएको व्यक्तिलाई ल्याउने प्रमुख मापदण्ड बनाएको थियो ।

तर, समिति आफैंले बनाएको मापदण्ड संस्थापन र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षबीचको भागबन्डाका कारण कार्यान्वयनमा आउन सकेन । समितिकै सदस्यहरूले सभासदमा को-को आउँदैछन् भन्ने निर्णयका लागि नाम प्रस्तुत गर्दा मात्रै चाल पाए ।

समितिका एक प्रभावशाली सदस्यका अनुसार संस्थापन पक्ष र देउवा पक्षबीचको भागबन्डाका कारण समितिमा सभासद छनोटका लागि सामूहिक छलफलसमेत भएन । लामो समय चलेको रस्सकस्सी दुई पक्षबीच (संस्थापन र देउवा पक्ष) नभएर आफ्नै समूहमा कस-कसलाई ल्याउने भन्नेमा थियो ।

'हामीलाई देउवा पक्षबाट को-को आउँदैछन् भन्ने कुरा सोमबार अपराह्न समिति बैठकमा निर्णयका लागि नाम प्रस्तुत गर्दा मात्रै थाहा भयो । उनीहरूको बारेमा सामूहिक छलफलसम्म भएन,' संस्थापन पक्षका प्रभावशाली एक सदस्यले भने, 'समितिले मापदण्ड बनाएको थियो । मापदण्डलाई आधार मानेर प्रत्येकको गुणदोषका आधारमा छनोट हुनुपर्दथ्यो । तर, यहाँ एकैचोटि नाम सुनाउने काम मात्रै भयो ।'

त्यस्तै अवस्था देउवा समूहका सदस्यहरूलाई पनि पर्‍यो । समितिमा परेका देउवा समूहका सदस्यलाई पनि संस्थापन पक्षले कस-कसलाई ल्याउँदै छ भन्ने कुरा निर्णयका लागि नाम प्रस्तुत गर्दा मात्रै थाहा भएको थियो । समिति बैठकमा दुवै समूहले छुट्टाछुट्टै नाम प्रस्तुत गरेका थिए । पार्टीले पाएको ९१ कोटामा संस्थापन पक्षले ५५ र देउवा समूहले ३६ सिट पाएको थियो ।

समितिमा संस्थापन पक्षका ९ र देउवा पक्षका ५ सदस्य थिए । समितिले निर्णय गर्ने भनिए पनि दुवै समूहको आ-आफ्नो कोटरीमा सभासदको अन्तिम टुंगो लगाएका थिए । संस्थापन पक्षमा बढी विवाद भएपछि अन्तिम सूची बनाउन सभापति कोइराला र उपसभापति पौडेललाई जिम्मा दिइएको थियो । देउवा समूहमा सहमहामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य विमलेन्द्र निधिसहित केही सदस्य बसेर टुंग्याएका थिए ।

दुवै पक्षले आ-आफ्नो समूहमा गरेको निर्णयलाई औपचारिकता दिन मात्रै संसदीय समितिमा प्रस्तुत गरिएको थियो । भागबन्डा लगाउँदा दुवै पक्षले आफ्नो समूहमा प्रतिबद्ध भएका, नाता पर्ने र आफ्नो निर्वाचन क्षेत्र र जिल्लाकालाई बढी च्यापे । पार्टीमा महत्त्वपूर्ण योगदान पुर्‍याएको व्यक्तिलाई ल्याउने मापदण्डको खिल्ली उडाउने गरी सक्रिय सदस्यतासमेत नभएका शिला खड्कालाई सभासद बनाइयो ।  

नेता खुमबहादुर खड्काको दबाबले देउवा समूहबाट उनको नाम पारिएको थियो । सभापति कोइरालाले भाइ, वरिष्ठ नेता देउवाले पत्नी, उपसभापति पौडेलले सम्धी, केन्द्रीय सदस्य विमेन्द्र निधिले जेठी सासूसमेतलाई सभासद बनाएका छन् ।  भागबन्डाकै आधारमा नुवाकोटमा अर्जुननरसिंह केसी र रामशरण महत दुवैका भाइ सभासद बनेका छन् । तर, त्यसको मारमा अरू सबै पर्दा केन्द्रीय सदस्यमा निर्वाचितमध्येका एकमात्र सुरेन्द्र पाण्डे अटाउन सकेनन् । पार्टी केन्द्रीय कार्यसमितिमा १२ जनाले मोर्चाको निर्णय मान्न नसकिने भन्दै फरक मत लेखाएका थिए ।

 संसदीय समितिमा रामशरण महतबाहेक सबैले निर्णयमा सहमति जनाएका थिए । महतले भने गुणदोषका आधारमा सभासद छनोटका लागि नाम सर्वसमितिमा प्रस्तुत नभएको भन्दै विरोध जनाएर निस्केका थिए । उनले फरक मत भने लेखेनन् । स्रोतका अनुसार महतको अर्को जोड निजी क्षेत्रको सहभागिता गराउनुपर्ने थियो । समानुपातिक सूचीमा परेका पाँच उद्योग व्यापारीलाई ल्याउन शीर्ष नेताहरूले यसअघि नै प्रतिबद्धता जनाएको दाबी उनले समितिमा सुनाएका थिए ।

 सूचीमा रहेका पाँच व्यवसायीमा एसियन थाई फुडका मालिक महेश जाजु, नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाल, चार्टर एकाउन्टेन एवं व्यवसायी खुमाप्रसाद अर्याल, म्यानपावर व्यवसायी तिलकबहादुर रानाभाट र होटल व्यवसायी दिव्यमणि राजभण्डारी थिए ।

समितिकै कतिपय सदस्यहरू पैसाको आधारमा सभासद बनाउन नहुने पक्षमा थिए । व्यवसायीहरूबाट निर्वाचनमा पार्टीलाई करिब साढे पाँच करोड आर्थिक सहयोग जुटेको स्रोतको दाबी छ । केन्द्रीय कार्यसमितिमा निर्वाचनमा पैसा दिएको आधारमा सभासद बनाउन नहुने बहुमत सदस्यहरूको धारणालाई समातेर समिति नै विभाजित भएपछि उनीहरूलाई अन्तिम अवस्थामा हटाइएको थियो । कोइराला निवास महाराजगन्जमा पाँचै जनालाई बोलाएर सभासदमा पार्न नसकिएको जानकारी तीनै नेता बसेर गराएका थिए ।

समानुपातिक सभासद छनोट गर्दा भूगोल र क्षेत्रीय सन्तुलनसमेत नमिलेको भन्दै अहिले धेरैतिरबाट आलोचना भइरहेको छ । नेताहरूले आफ्नो निर्वाचन क्षेत्रमा सबैभन्दा बढी सभासद पारेका छन् । त्यसलाई लिएर पार्टीभित्र विरोध भइरहेको छ । महिला संघले पत्रकार सम्मेलन नै गरेर भागबन्डा, नातावाद, कृपावाद र थैलीवादको आधारमा सभासद बनाइएको भन्दै विरोध गरेको छ ।

कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला भने समान हैसियतमा रहेका कोही पर्दा र कोही नपर्दा गुनासो आउनु स्वाभाविक भए पनि ठूलो विवाद नभएको बताउँछन् । 'केही साथीहरूको गुनासो छ, त्यसलाई स्वाभाविक रूपमा लिनुपर्छ,' उनले भने, 'केही गुनासोबाहेक विवाद पार्टीमा छैन ।'

,

0 comments

Write Down Your Responses

Powered by Blogger.