अब ८ प्रतिशत व्याजमै पाइने भो ऋण


१६ माघ, काठमाडौं । बैंकबाट ऋण लिन चाहनु भएको छ भने खुसीको खबर ! ब्याजदर घटेर ८ प्रतिशतसम्म आइसकेको छ । बजारको मूल्यवृद्धि दरभन्दा कम व्याजमै ऋण पाइन थालेको हो ।

अधिकांश पुराना र ठूला वाणिज्य बैंकले व्यावसायिक घरानालाई ८ प्रतिशतसम्म झारेर ऋण दिन थालेका छन् । व्यापारमा प्रयोग हुने ट्रस्ट रिसिप्ट (टीआर) ऋणको व्याजमा ८ प्रतिशतभन्दा तल पनि ऋण दिन थालिएको बैंकर बताउँछन् । सँगै साना तथा मझौला उद्योगले पनि १० प्रतिशतसम्ममा ऋण पाउन थालेको कान्तिपुर दैनिकमा खबर छ । पछिल्लो तथ्यांक अनुसार मुद्रास्फीति दर १० दशमलब ५ प्रतिशतको हाराहारीमा छ ।

‘ठूला र कम जोखिम भएका व्यवसायीले ८ प्रतिशतसम्मा सजिलै टीआर ऋण पाउन थालेका छन्,’ हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले भने, ‘योसँगै साना तथा मझौला उद्योगलाई पनि ऋणको व्याज घट्दै गएको छ ।’ घटेको व्याजसँगै स्थायी सरकारको गठन र बजेट समयमै आउने हुँदा व्यवसाय सञ्चालन गर्न पनि सहज हुने उनको भनाई छ ।

मुद्रास्फीतिभन्दा कम व्याजमा ऋण पाउनुभनेको आफूसँग भएको रकमभन्दा सस्तोमा बैंकबाट रकम पाउनुसरह हो । ऋणको व्याजदर पछिल्लो समय निरन्तर घटिरहेको छ । तर पहिले चर्को व्याजमा ऋण लिएकाले भने राहत पाउन सकेका छैनन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.