ब्रह्मदेवको अदालती यात्रा


काठमाडौं, पुस २३ - दिनभरि कुरेपछि सोमबार अपराह्न ब्रह्मदेव राय यादवको पालो आयो । न्यायाधीशद्वय प्रकाश वस्ती र ज्ञानेन्द्रबहादुर कार्कीका अघिल्तिर इजलासमा उनी सपत्नी हात जोडेर उभिइरहे ।
न्यायाधीशले मिसिल हेरे । कागजहरू ओल्टाई पल्टाई गरे । 'लौं तपाईंको त म्यादै गुज्रिसकेको रहेछ,' वस्तीले भने, 'मुद्दा त हेर्न मिल्दैन अब ।'
२०३७ सालदेखि चलेको यही मुद्दैका लागि भनेर रौतहटदेखि सर्वोच्च अदालत आएका ब्रह्मदेवको ओठतालु सुक्यो । उनी सरासर फाँटमा गए र फेरि हात जोडेर याचना गरे ।
'तारेख किन गुजार्नु भो त नि ?' फाँटका कर्मचारीले भने, 'मुद्दा त अब नचल्ने भो, केही गर्न सकिने अवस्था रहेन ।'
मुलुकी ऐनको अदालती बन्दोबस्तको महल ५९ बारे नेपाली पनि बोल्न नजान्ने निरक्षर ब्रह्मदेवलाई केही पत्तो छैन । यही ऐनका कारण उनले मंसिर २ गते सर्वाेच्चमा तारेख धाउनुपर्ने थियो ।
'तर त्यस बेला चुनाव थियो हजुर, गाडी चलेन, आउन सकिनँ,' उनले झन्डै तुरुक्क आँसु खसाले, 'पछि निकै जाडो भयो, अहिले आएको त म्यादै सकियो भन्छ ।'
एक महिनाभित्र म्याद थाम्न उनले सक्थे । तर ब्रह्मदेवलाई त्यो पत्तो भएन । पुस २ गतेसम्म आएको भए पनि केही लाग्थ्यो होला । 'तर म्याद नाघिसकेपछि आउनु भो,' फाँटका कर्मचारीले भने, 'ऐनबमोजिम अब केही गर्न सकिन्न, तल्लो अदालतले गरेकै फैसला सदर भयो ।'
दुई छोरी, एक छोराका पिता र झन्डै दर्जन नातिनातिनीका हजुरबा ब्रह्मदेवले छोराछोरी नपाउँदै खेपेको मुद्दा ३३ वर्षपछि म्याद बेलामा थाम्न नसक्दा हठात टुंगिएको थियो ।
रौतहट जिल्ला अदालत, हेटौंडा पुनरावेदन अदालत र सर्वोच्च अदालत गरी धाउँदा-धाउँदा जवानी पूरै गुजारेका ब्रह्मदेवले कहिले मुद्दा जिते र कहिले हारे । सहोदर भाइ महादेव यादवले साढे सात बिघा जमिन एकलौटी खाएको भन्दै इन्साफका लागि अदालत धाउँदा ३३ वर्ष बितेछ ।
'इधर उधर गर्दागर्दै जिन्दगी बित्यो हजुर, पैसा कति खर्च भयो भगवान् जानोस्,' यस्तो ठिहिर्‍याउने जाडोमा बिनाजुत्ता धोती लगाएर पत्नी पतियादेवीका साथ गाउँ रौतहटको कमहरियाबाट गएको साता तारेख थाम्नैका लागि सर्वोच्च आएका उनी पशुपतिको धर्मशालामा बसिरहेका छन् ।
पुनरावेदन अदालतले भाइकै पक्षमा गरेको फैसलाविरुद्ध सर्वोच्चमा उजुरी हालेका उनी धेरै आशा लिएर इजलास छिरेका थिए । तर म्याद गुज्रेर नालिसै गर्न नसक्ने अवस्थामा उनी पुगे । अन्ततः जग्गा आफूले नपाउने गरी मुद्दा भाइकै पक्षमा टुंगिएको भेउ पाएपछि ब्रह्मदेव र पतियादेवी अक्क न बक्क भए ।
'कानुनको कुरो हजुर, हामी त बुझेको छैन,' उनले भने, 'लौ न, के गरी हुन्छ, मलाई इन्साफ दिलाइदिनुपर्‍यो ।'

,

0 comments

Write Down Your Responses

Powered by Blogger.