हिन्दी घट्यो, नेपाली बढ्यो


काठमाडौ, माघ ६ - हिन्दी फिल्मले नेपाली बजारबाट करोडौं आर्जन गरिरहेका बेला 'छ एकान छ' ले नेपालीलाई राहत दिलाएको छ । पहिलो पटक हिन्दी फिल्मका शो घटाएर मल्टिप्लेक्स हलहरूले 'छ एकान छ' को शो बढाएका छन् ।

देशभरका सिंगल थिएटरमा पनि 'छ एकान छ' ले नै वर्चस्व कायम राखेको छ । 'अहिलेसम्मको ग्रस आम्दानी दुई करोड नजिक छ,' निर्मातासमेत रहेका कलाकार दीपकराज गिरीले भने । उनैका अनुसार यो फिल्म जम्मा ६५ लाख रुपैयाँमा बनेको हो ।

'छ एकान छ' मा दर्शक बढेपछि मल्टिप्लेक्सहरूले हिन्दी फिल्म 'डेढ इस्कियाँ' को शो घटाएका हुन् । पहिलो साता क्यूएफएक्समा यो फिल्म तीन शो मात्रै लागेको थियो । शुक्रबारबाट दोस्रो साता प्रवेश गर्दा क्यूएफएक्सले 'डेढ इस्कियाँ' को तीन शो घटाएर 'छ एकान छ' लाई ६ शोमा पुर्‍यायो । यसअघि 'कर्कश' र 'होस्टेल' ले पनि यसरी नै शो बढाउँदै लगेका थिए । क्यूएफएक्समा अहिले हिन्दी फिल्म 'यारियाँ', हलिउडको 'फोर्टी सेभेन रोनिन' र 'द सेक्रेट लाइफ अफ वाल्टर मिट्टी' पनि चलिरहेका छन् । 'अरूको तुलनामा छ एकान छमा दर्शक बढी छन्,' क्यूएफएक्सका वितरक वसन्त मानन्धरले भने ।

चाबहिलको केएल टावरमा पहिलो साता यो फिल्म एक शो मात्रै थियो । दोस्रो साता आइपुग्दा ४ शोमा उक्ल्यो र शनिबार दर्शक चाप बढेकाले ५ शो नै गर्नुपर्‍यो । 'डेढ इस्कियाँको चाहिँ शो घट्दै गएर दोस्रो साता आउटै भयो,' केएल टावरका जनरल म्यानेजर टिम मेम्बर अरुण रिजालले भने, 'राम्रो भयो भने नेपाली फिल्मले पनि मल्टिप्लेक्स कब्जा गर्ने रहेछ ।' उता सिटी सेन्टरका अप्रेसन म्यानेजर राकेश श्रेष्ठले 'हल सञ्चालनमा आएको चार वर्षमा पहिलो पटक हिन्दीको शो घटाएर नेपाली फिल्म लगाएको' दाबी

गरे । सिटी सेन्टरले पनि अहिले 'डेढ इस्कियाँ' को शो घटाएर यसको तीन शो बढाएको छ ।

दिनेश डिसीको निर्देशन रहेको फिल्म उपत्यकाभित्र २२ र बाहिर ७० हलमा चलिरहेको छ । यसले दोस्रो साता पनि कुनै हल नगुमाएको उपत्यका बाहिरका वितरक नरेन्द्र महर्जनले दाबी गरे । प्रायः हिन्दी लाग्ने विराटनगरका हलमा समेत नेपाली चलिरहेको उनले जानकारी दिए । रोमान्टिक कमेडी यो फिल्म दीपकसँगै दीपाश्री निरौला र निर्मल शर्माले निर्माण गरेका हुन् । यसमा नीता ढुंगाना, दीपक, जितु नेपाल, सीताराम कट्टेल, केदार घिमिरे, सन्दीप छेत्री, शिवहरि पौडेल, राजबल्लभ कोइराला, नीर शाहलगायतले अभिनय गरेका छन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.