विशेषता कम, लागत अढाइ गुणा बढी


काठमाडौ, माघ ३ - सरसर्ती बुझ्दा पोखाराभन्दा भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्तावित खाका निकै बढी र सुविधा सम्पन्न छ । तर लागत भने भैरहवाभन्दा पोखराको साढे दुई गुणा बढी अनुमान गरिएको छ ।  किन त ? यसको ठोस उत्तर कुनै अधिकारीबाट पाइँदैन । कोही भन्छन्, 'भौगोलिक कारण र ठेकेदारको बढी प्रस्ताव ।' केही भन्छन्, 'आर्थिक चलखेल ।' 

जे भए पनि भैरहवा विमानस्थलका लागि सरकारले करिब १० अर्ब रुपैयाँको लगत अनुमान गर्दै डेढ महिनाअघि बोलपत्र आह्वान गरेको छ । तर तीन वर्षअघि पोखरा विमानस्थलका लागि गरिएको लगत अनुमान साढे १४ अर्बबाट पनि अझ बढाएर २५ अर्ब रुपैयाँ पुर्‍याइएको छ ।

त्यसैले प्राधिकरणकै कर्मचारीसमेत पोखरा विमानस्थलको विरोधमा देखिन थालेका छन् । सरकारले दिने हरेक अनुदानलाई ऋणमा परिणत गर्ने परिपाटीले ब्याजको भार थपिने भएकाले प्राधिकरणमा धराशायी हुने बुझाइअनुसार कर्मचारी युनियन पनि आफ्नो संस्थाको बचावमा लागेका हुन् ।

'विमानस्थल बन्नुपर्छ,' प्राधिकरण राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष विष्णु मरासिनीले भने, 'तर यति ठूलो आर्थिक भार लिएर बनाउन भने सकिँदैन ।'

प्राधिकरणसँग अहिलै २० अर्बभन्दा बढीको ऋणको भार छ । सरकारसँग लिइएको साढे ३ अर्ब रुपैयाँ, त्रिभुवन विमानस्थल सुधारका लागि ७ अर्ब र भैरहवा विमानस्थल स्तरोन्नतिका लागि झन्डै १० अर्ब रुपैयाँ प्राधिकरणको ऋण हो । त्यसैले अनावश्यक रूपमा बढी लागतमा पोखरामा निर्माण गरिए प्राधिकरण घाटामा जाने भन्दै कर्मचारीसमेत विरोधमा उत्रिएका छन् ।

पोखरा विमानस्थल ईपीसी मोडल -ठेकेदारले सबै जोखिम बहन गर्ने) मा बनाउन लागिएको हो भने भैरहवा फिडिक -नर्मल टेन्डर प्रक्रिया, जहाँ मूल्य समायोजन, भेरिएसन आदि पर्छन्) मोडलमा बनाउन लागिएको हो । ईपीसी मोडलमा ठेकेदारले सबै जोखिम ब्यहोर्ने भएकाले बढी रकम प्रस्ताव गर्ने गर्छन् । त्यसैले फिडिकभन्दा ईपीसी ठेक्कामा ठेकेदारले ४० प्रतिशतसम्म बढी प्रस्ताव गर्न सक्ने इन्जिनियरहरू बताउँछन् । 'जति नै बढी भए पनि पोखरा विमानस्थलको लगत अनुमान अत्यधिक हो,' एक इन्जिनियरले भने, 'यो लागत अनुमान ठेकेदारलाई रिझाउने गरी बनाइएको छ ।' 

के विशेषता छन् विमानस्थलमा
भैरहवाको विमानस्थल वाषिर्क ९ लाख यात्रु थेग्न सक्ने गरी बनाउन लागिएको छ । पोखरा विमानस्थलले ८ लाखलाई मात्र थेग्न सक्नेछ । पछि यात्रु चाप बढे भैरहवाले ६० लाखलाई व्यवस्थापन गर्न सक्छ । तर पोखरामा २० लाखभन्दा बढी यात्रुलाई व्यवस्थापन गर्न सकिँदैन ।

पोखरा विमानस्थलको धावनमार्ग २ हजार ५ सय मिटर लामो हुनेछ । भैरहवाको धावनमार्ग ३ हजार मिटर लम्बाइको हुनेछ । भैरहवाको अन्तर्राष्ट्रिय टर्मिनल भवन १५ हजार २ सय वर्गमिटरको हुनेछ । पोखराको १० हजार वर्गमिटरको हुनेछ ।

भैरहवामा धावनमार्ग बढाउन घाूगरा नदी डाइर्भसनको काम पनि गर्नुपर्ने हुन्छ । भैरहवाको प्याररल ट्याक्सी वे १ हजार ९ सय मिटर लामो र ३० मिटर फराकिलो हुनेछ । पोखरामा यसको लम्बाइ १ हजार २ सय मिटर र चौडाइ २३ मिटरको बनाइने डिजाइन छ ।

'पोखरामा ठूला जेट विमान ल्याउन सकिँदैन,' प्राधिकरण स्रोतले भन्यो, 'जबकि भैरहवमा एयरबस ३३० र बोइङ ७७७ जस्ता ठूला जहाज सजिलै उडान तथा अवतरण गराउन सकिन्छ ।'

पोखरा र भैरहवाको आन्तरिकतर्फको एप्रोनको डिजाइन बराबार (१ सय ५० मिटर लम्बाइ र ७० मिटर चौडाइ) को छ । अन्तर्राष्ट्रियतर्फ भैरहवामा बनाइने एप्रोन ३ सय मिटर लम्बाइ र १ सय ६३ मिटर चौडा छ । तर पोखरामा ३ सय मिटर लम्बाइ र १ सय ५० मिटर चौडाइको हुनेछ ।

अर्कोतर्फ कार्गो भवन पनि भैरहवाभन्दा पोखरामा सानो बनाइनेछ । 'यस्तोमा पोखराको लागतलाई सरकारी अनुमानभन्दा अझै बढाइनु उपयुक्त होइन,' प्राधिकरणका एक अधिकारीले भने । पोखराका लागि लाग्ने लागत एक्जिम बैंकको ऋण सहयोगबाट बनाइन लागेको हो ।

प्राधिकरण व्यवस्थापनले भने भौगोलिक स्वरूपका कारण पोखराको लागत बढी भएको दाबी गरिरहेको छ । तर यसलाई उड्डयन विज्ञसँगै प्राधिकरणका कर्मचारी नै मान्न तयार छैनन् । 'भैरहवामा स्तरोन्नति गर्न पनि पुराना पूर्वाधारलाई भत्काएर बनाउनुपर्ने हुन्छ,' प्राधिकरणका एक अधिकारीले भने, 'पोखरामा नयाँ नै बनाउनु परे पनि लागत त्यति धेरै नपर्नुपर्ने हो ।'

पोखरा विमास्थलका लागि तीन वर्षअघि साढे १४ अर्ब रुपैयाँको लगत अनुमान गरिएको थियो । तर बोलपत्र आह्वान गर्दा त्योभन्दा दोब्बर लागतको प्रस्ताव परेको थियो । त्यसपछिको पुनरावलोकन समितिले लागत बढाएर २५ अर्ब रुपैयाँ पुर्‍याएको छ । तर सरकारले पुरानो लगत अनुमानभन्दा बढीमा काम नगर्ने निर्णय गरिसकेको छ ।

एकखाले विमानस्थलका लागि देखिएको लागत फरकले सरकार र प्राधिकरण अधिकारीमाथि आर्थिक चलखेलको आशंका उब्जाएको छ । 'माथिल्लो त्रिशूलीबाट बचेको पैसामा केही ऋण लिएर बनाउने भनिएको विमानस्थलका लागि पैसाको चलखेल धेरै भइरहेको छ,' स्रोतले भन्यो ।

सरकारले सन् १९८९ -२०४५ साल) देखि पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भन्दै जमिन अधिग्रहण गरेको राखेको हो । त्यतिबेला अनुमान गरेको लागत ३ करोड ९६ लाख डलर रहेकोमा पछि मुद्रास्फीतिलाई मध्यनजर गरी २०६७ मा पुनः लागत अनुमान गरिएको हो । विसं २०६७ मा गरिएको लागत अनुमानको रकम १४ करोड ५० लाख अमेरिकी डलर छ । यसमा कर तथा मुद्रास्फीतिको समेत समायोजन गर्दा सरकारी लागत रकम १६ करोड ५० लाख डलर पुगेको छ । प्राधिकरणले इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा पोखरा विमानस्थल बनाउनका लागि २०१२ फेब्रुअरी ९ मा बोलपत्र आह्वान गरेको थियो ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.