कीर्तिमानको ओइरो


काठमाडौ, पुस २४ - नेपाली महिला क्रिकेटले स्वरूपमा परिवर्तन मात्र के गरेको थियो, यो साता कीर्तिमानको ओइरो नै लाग्यो । सातौं संस्करणदेखि ४० ओभर खेल सुरु भएपछि ६ दिनमै चार शतक बनेको छ ।

ब्याट्सवुमनले एकपछि अर्को शतक बनाउन थालेपछि पुरुष क्रिकेटले वर्चस्व कायम गरेको क्रिकेटमा महिलाले पनि आफ्नो रौनक देखाउन सुरु गरेका छन् । यसअघिका छ संस्करणमा कुनै शतक बनेका थिएनन् ।

प्रतियोगितामा मंगलबार शतकको नयाँ कीर्तिमान बन्यो । अनुभवी निरा राजोपाध्यायले पोखराविरुद्ध सबैभन्दा छिटो शतक पूरा गरिन् । एपीएफबाट खेल्दै नटआउट १ सय १७ रन बनाएकी उनले ७० बलमा सय रन पूरा गरेकी हुन् । उनले एकै ओभरमा छ चौका हानिन् । ३९औं ओभरमा पोखराको बलिङ सुनिता जिसीले सम्हालेकी थिइन् । त्यसै ओभरको चौथो बलमा निराले शतक पूरा गरिन् भने सबै बललाई 'बाउन्ड्री लाइन' कटाइन् । उनले जम्मा १८ चौका प्रहार गरिन् ।

बैतडीकी रेखा रावलले शनिबार पोखराविरुद्ध ७४ बलमा बनाएको कीर्तिमान पूर्वराष्ट्रिय कप्तान निराले भंग गरिन् । 'कीर्तिमान बनाउन सकेकामा खुसी छु,' काठमाडौं मखनकी निराले भनिन्, 'शतक प्रहार गर्नेबारे सोचेकी थिइनँ, तर पूरै ओभर टिकेर खेल्छु भन्ने थियो ।'

उनले कम बलमै शतक बनाएको इनिङ्स सकिएपछि मात्र थाहा पाएको बताइन् । 'अर्धशतक बनाएपछि शतक प्रहार गर्छु जस्तो लागेको थियो,' एपीएफकी कप्तानले भनिन्, 'पहिले २५ ओभरको खेल हुँदा कम रन बन्थ्यो । अहिले बढी रन बनाउन सजिलो भएको हो ।'

महिला क्रिकेटको प्रशिक्षक पनि रहेकी उनले दक्षिण कोरियाबाट आएका खेलाडीलाई पनि सिकाइरहेकी छन् । उनले यू-१९ राष्ट्रिय क्रिकेटमा काठमाडौं टिमलाई प्रशिक्षण दिएकी थिइन् ।

चौथो क्रममा ब्याटिङ गर्न आएकी उनले सीता मगरसँग नटआउट १ सय ६१ रनको साझेदारी गरेपछि एपीएफले २ सय ८७ रनको फराकिलो अन्तरको जित दर्ता भएको थियो । यसअघि नेरी थापा, रेखा रावल र अञ्जली चन्दले शतक बनाए । पहिलो शतक पूरा गर्ने कीर्तिमान नेपालगन्जकी कप्तान नेरीको नाममा रह्यो ।

'प्रतियोगिताको स्वरूप परिवर्तनले पनि ब्याटिङ राम्रो भएको छ,' महिला राष्ट्रिय टिमलाई प्रशिक्षण दिइसकेका अरुण अर्यालले भने, 'यस पटक सहभागी टिमको स्तरमा पनि फरक देखियो ।'

अहिलेसम्म सम्भव भएका चारमध्ये तीन शतक पोखराविरुद्ध नै बने । रेखाले १ सय ३१ रनको सबैभन्दा धेरै रनको कीर्तिमान र अञ्जलीको शतक पनि शनिबार पोखराविरुद्ध बनेको थियो । पुरुष क्रिकेटमा भने एक संस्करणमा तीन शतकमात्र बनेको छ भने जम्मामा छ बनेका छन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.