हिरोगिरी


काठमाडौ, पुस  - बलिउड हिरो अजय देवगनले आफूले निर्माण गरेका फिल्महरू फ्लप भएपछि केही वर्षअघि भनेका थिए, 'फिल्मको व्यापार भनेको पूरै धोकाको व्यापार भएको छ । तपाईं फिल्मको यति धेरै प्रचार गर्नुस् कि तीन दिनसम्म दर्शक हलमा पुग्न बाध्य होउन् । जब चौथो दिनसम्म दर्शकलाई फिल्म त झुर रैछ भन्ने थाहा हुन्छ, त्यतिन्जेलमा आफ्नो पैसा उठाइसक्नुस् । नाफा कमाएर भागिसक्नुस् ।' अरुको आलोचना गर्न भनेको यो सूत्रलाई पछि तिनै अजयले लागू गरेर 'बोल बच्चन' तथा 'सन अफ सरदार'जस्ता झुर फिल्मबाट सय करोड कमाए ।

आमिर खानको 'केस' अलग छ । आमिर आफ्ना हरेक फिल्मसँग 'इन्भल्भ' हुन्छन् । अरू हिरो कुनै चरित्रको अभिनय गर्नमा व्यस्त हुँदा आमिर त्यो चरित्रलाई बाँच्न तयारी गर्छन् । चरित्रको अगाडि पछाडिको कथा, त्यसले लगाउने लुगाको रंगदेखि बोल्ने भाषासम्ममा उनी गहिरो अध्ययन गर्छन् । फिल्मको पात्र वा कथासँग मिल्दोजुल्दो सामाजिक विषयको अभियानमा सरिक हुन वा सुरु गर्न पनि पछि पर्दैनन् ।

यसैले त 'रंग दे वसन्ती'मा सत्ताविरुद्ध विद्रोह गर्ने विद्यार्थीको भूमिका गरेका बेला उनी मेधा पाटकर र अरुन्धती रोयसँगै 'नर्मदा बचाउ आन्दोलन'को धर्नामा पुगे । लामो समयदेखि आन्दोलन गरिरहेका यी महिलाहरूबाट दस मिनेट धर्नामा पुगेका आमिरले 'लाइम लाइट' चोरे । र, सरदार सरोवर बाँध बनाउने नरेन्द्र मोदीविरुद्ध घर फर्किएर टेलिभिजनहरूलाई 'लाइभ एन्ड एक्स्कुलिभ' अन्तर्वार्ता दिए । एउटा भ्रष्ट मन्त्रीको गोली हानी हत्या गर्ने चरित्रमा अभिनय गरेका आमिरले शक्तिशाली मुख्यमन्त्रीलाई गाली गरेर त्यो चरित्रलाई आफूसँग जोडे । यसको दुइटा परिणाम निस्किए । एउटा उनको फिल्म चर्चित भयो, हिट भयो र यो फिल्म विद्यार्थी राजनीति, भ्रष्ट नेताहरू र भविष्यमा हुन सक्ने 'मुभमेन्ट'का विषयमा हुने बहसहरूमा उदाहरणका रूपमा चर्चाको विषय बन्यो । र, अर्को नतिजाचाहिँ मोदीको गुजरातमा आमिरको अर्को फिल्म 'फना'मा प्रतिबन्ध लाग्यो । यो प्रतिबन्धको चर्चा यतिधेरै भयो कि, यो औसत फिल्म सुपरहिट हुने गरी प्रचारित भयो ।

सायद, यस्तै टि्रकहरूले गर्दा मिडिया आमिर खानलाई 'स्ट्राटिजिक' निर्माता र मार्केटिङ जिनियस मान्दछ । आमिरले गर्नुसम्म गरे । शाहरूख खानको फिल्मको पि्रमियरमा आपmनो नयाँ फिल्मको लुक सार्वजनिक गरे । त्यो पनि फिल्महलका कर्मचारी र पपकर्न बेच्नेहरूलाई 'गजनी' लुक दिएर । 'थ्री इडियट्स'मा छद्म चरित्रमा अभिनय गरेका बेला उनी भेष बदलेर भारतका विभिन्न सहरमा पुगे । जब आफैं निर्देशनमा उत्रिए उनले बच्चालाई अक्षर चिन्न मुस्किल हुने 'डिस्लेक्सिया' नाम गरेको समस्यालाई समाजमा स्थापित हुने गरी चिनाइदिए । यो फिल्मका माध्यमबाट उनले बाल मनोविज्ञान र यो क्षेत्रमा बच्चालाई पढाउने गलत तरिकामाथि ठूलो बहसको सिर्जना गरिदिए । फिल्म खेलेर वा बनाएर कसैले यति धेरै काम गरेको थिएन, चर्चा पाएको थिएन । यसैले आमिर खान, आमिर खान बने ।

यतिले नपुगेर 'गेम सो'का होस्टका रूपमा पैसा छाप्ने मेसिन टेलिभिजनमा ओर्लिएका हिरोहरूलाई चुनौती दिँदै आमिर टीभीमा पनि 'भारतका असली बेटा' बनेर निस्किए । दाइजोदेखि भ्रूण हत्यासम्मका विषयलाई टीभीमा ल्याएर उनले आँसु खसाले । आँसु बगाएबापत उनले एक एपिसोडको कति करोड पाउँथे भन्ने पनि चर्चाको विषय बन्यो तैपनि 'सत्यमेव जयते'ले आमिर खानको छविलाई झन् गम्भीर बनाइदियो । यसैले त अरू हिरोहरू फिल्म म्यागेजिनको कभरमा छापिन्छन्, आमिर खान 'टाइम' म्यागजिनको कभरमा छापिए ।

सन् १९९५ मा 'रंगीला', ९६ मा 'राजा हिन्दुस्तानी', ९७ मा 'इश्क' र ९८ मा 'गुलाम'जस्ता हल्काफुल्का मनोरञ्जक फिल्म खेलेर एकै रफ्तारमा सफलता पाइरहेका आमिरले २००१ मा 'लगान' बनाएर ट्रयाक चेन्ज गरे । क्रिकेटलाई स्वतन्त्रतासँग जोडिएको यो पिरियड ड्रामाले भारतीय फिल्म अवार्ड बहिष्कार गरेका आमिरलाई एकैपटक ओस्करमा पुर्‍याइदियो । यही फिल्ममा सहयाक निर्देशकका रूपमा काम गरेकी किरण रावसँग दोस्रो विवाह गरेपछि आमिर निर्माताका रूपमा झन् सक्रिय भए । 'जाने तु या जाने ना', 'धोवीघाट' र 'दिल्ली बेली' उनले निर्माण गरेका फिल्म हुन् ।

जहाँ शाहरूख खानलाई 'किङ खान' भनिन्छ, त्यहीं आमिरलाई भने 'थिङकिङ खान' र 'इन्टलेक्चुअल खान' भनिन्छ । उपाधिका यी अर्थबाटै थाहा हुन्छ कसलाई समाज र मिडियाले कसरी हेरेको छ । दुई वर्षअघि त यस्तो स्थिति आयो- क्लासमा आमिरको पकड, मासमा सलमानको, शाहरूख  अलपत्र ! यो स्थितिबाट निस्किन शाहरूखले रोहित सेट्टीको सहारा लिए र दुई पैसाको तर्कका अगाडि सय करोडको सफलता रोजे । जुन बेला सञ्जय दत्त र सलमान खान आफ्ना पूर्वकर्महरूका कारण जेल र अदालतको चक्करमा थिए, शाहरूख खान रक्सी खाएर रंगशाला छिरेर त्यहाँका एकजना पालेसँग झगडा गरेको अभियोगमा मिडियामा 'मुजरिम' बनेका थिए, त्यति बेला आमिर खान दाइजो दिन नसकेर घरबाट निकालिएकी चेलीका कुरा सुनेर टीभीमा आँसु बगाइरहेका थिए । आमिरको छवि बिस्तारै फिल्मको हिरोबाट माथि उठ्न थाल्यो । संजीव कुमार र नसिरुद्धिन शाहजस्ता सिद्धहस्त अभिनेताले नपाएको सम्मान आमिरले पाए । अरू हिरो र आमिरमा एउटै फरक देखियो- अरू आपmना फिल्मको मात्र कुरा गर्छन्, आमिरलाई समाजको चासो छ । उनी राजनीतिमाथि सरोकार राख्छन्, साहित्य र अखबारका विषयमा पनि कुरा गर्न सक्छन् ।

एउटा जोकरले जतिसुकै तगडा खेला देखाए पनि उसको अन्तिम सरोकार दर्शकको गोजीबाट निस्किने पैसामा नै हुन्छ । अहिले आमिरलाई पनि त्यस्तै भएजस्तो लाग्छ । बलिउडमा सय करोड क्लबको सुरुवात आमिर खानको फिल्म 'गजनी'ले गरेको थियो । उनकै 'थ्री इडियट्स'ले सबभन्दा धेरै कारोबार गर्ने फिल्मको रेकर्ड राखेको थियो । तर, त्यसपछिका 'धोवीघाट' र 'तलास'ले सय करोड कमाउन सकेनन् । न त आमिरले निर्माण गरेको 'धोवीघाट'ले नै कमायो । यसबीच शाहरूख, सलमान, अजय देवगन र अक्षय कुमारजस्ता हिरोका फिल्म भटाभट सय करोडमा पुगे । तर, आमिर छुट्न थाले । यस्तोमा प्रश्न उठ्न थाल्यो- के आमिर सोच्ने वर्गका मात्र हिरो हुन्, पैसा तिरेर फिल्म हेर्नेहरूका होइनन् ?

बस, यही प्रश्नको उत्तर दिन आमिर आए- धुम ३ लिएर । यो धुमले बक्स अफिसमा उधुम मच्चाइरहेको छ । फिल्मले दुई सय करोड कमाएर तीन सयतिरको यात्रा गरिरहेको छ । आमिर खान सफलताको शिखरमा छन् । तर, फिल्म ? पछिल्लो १० वर्षमा 'धुम ३' नै यस्तो फिल्म होला, जसमा आमिर खानको प्रशंसा भएन । यी जिनियस र पर्फ]{सनिस्टको न अभिनयको तारिफ भयो न मार्केटिङ स्ट्रयाटजीको । बरु, के भनियो भने यो फिल्मको प्रचार नीति नै कुनै प्रचार नगर्ने भन्ने थियो ! यसअघि दुइटा फिल्म हिट भइसकेको 'धुम'को यो तेस्रो इन्स्टलमेन्टमा जब आमिर खलनायक बन्ने खबर आएको थियो, फिल्मको सफलताको ग्यारेन्टी त्यतिबेलै गरिएको थियो । तर, जब फिल्म आयो अघिल्लो 'धुम'का भिलेन ऋतिक रोशनलाई धेरैले सम्भिmए । किनभने, आमिर ऋतिकजत्तिको प्रभावशाली भिलेन बन्न सकेनन् ।

हरेक चरित्रमाथि चाहिनेभन्दा बढी प्रश्न सोध्ने र रिसर्च गर्ने भनिएका आमिर यस्तो चोर बन्न तयार भए, जसले कुनै चोरी गर्दैन । यस्तो फिल्म खेल्न तयार भए जसमा अमेरिकामा भएको चोर पत्ता लगाउन भारतबाट पुलिस मगाइन्छ । यस्तो 'ग्रेट इन्डियन सर्कस'मा काम गर्न तयार भए जसले कुनै सर्कस होइन, नृत्य देखाउँछ । उनी त्यस्तो जादुगर बन्न तयार भए जसले जादूका नाममा एरोबिक्समात्र देखाउँछ, कुनै टि्रक छैन । सीसीटीभीको निगरानीमा भएको सडकमा बिनामास्क बाइक चलाउँदा पनि पुलिसले नचिन्ने चरित्रलाई उनले स्विकारे । तर्क र बौद्धिकताको उचाइलाई नाप्दै उनले उस्तै अनुहारका जुम्ल्याहाको दुई फरक भूमिकामा अभिनय गरे । उनले यस्तो मोटरसाइकल चलाए, जो उनले चाहेका बेला आफैं मोटरबोट बन्न सक्छ र एउटा साधारण चोरबाट उनी 'ब्याटम्यान' बन्न सक्छन् । हलिउड फिल्म 'नाउ यू सी मी'बाट यो फिल्मको 'आइडिया' उधारो लिइएको हो ।

आपmना भूमिकाहरूमा गर्ने प्रयोगका कारण आमिर खानको यो गतिलो छवि बनेको हो । उनले कतिसम्म प्रयोग गरे भने कलेज सकिइसकेपछि पनि कलेज वरिपरि घुम्ने आवाराको भूमिका गरेको तीन वर्षपछि उनी भर्खर कलेज भर्ना भएको विद्यार्थी बने । बि्रलियन्ट इन्जिनियर बनेको केही समयमा उनी पेन्टर बने । पुलिस अफिसर बनेको अर्को वर्ष अहिले चोर बनेका छन् । चरित्र, गेटअप, बोल्ने शैली र त्यस्तो भूमिका सबैमा उनी विविधताको खोजी गर्छन् ।

यसपटक आमिरले त्यस्तो केही गरेनन् । आफ्नो स्थापित छविलाई बाल दिएनन् । आमिर सलमान बन्न थाले । र, फिल्मले टन्नै पैसा कमायो । सायद, यो पनि आमिरको एउटा प्रयोग नै हो कि ? आफैंले स्थापना गरेका मानक भत्काउने प्रयोग ? होइन भने पहिलेका आमिर यस्ता थिएनन् ! अजय देवगनले भेनेजस्तो चौथो दिनमा टाप ठोक्ने कलाकार आमिर होइनन् ।

'धुम ३' मा आमिर एक ठाउँ भन्छन्- अलिकति धोका, अलिकति चलाखी र अलिकति छल मिलेर जादू बन्छ । सायद, फिल्म स्टारमा पनि यस्तै केही गुणहरू हुनुपर्छ, नत्र उसको जादू चल्दैन । यो कुरा आमिर खानले जति अरू कुनै बलिउड हिरोले बुझेजस्तो लाग्दैन । यसैले त आमिर स्टारभन्दा माथिको 'स्टार' बन्ने प्रयोगमा लागिरहेका छन् । र, यसका लागि उपयुक्त सामग्रीको खोजीमा लागिरहेका छन् । यसैले उनी 'धुम ३' र राजकुमार हिरानीको 'पिके' जस्ता फिल्म लगातार खेलिरहेका छन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.