नक्कली चिकित्सकको फाइल लुकाउन दबाब


काठमाडौ, माघ ७ - केही मेडिकल कलेजहरूले उभ्याएका नक्कली चिकित्सक (खडेबाबा) हरूको विवरण नेपाल मेडिकल काउन्सिलको अनुगमन प्रतिवेदनमा सुरक्षित रहेको फेला परेको छ । छानबिन भए पोल खुल्ने डरले केही पूर्वपदाधिकारीहरूले फाइल लुकाउन काउन्सिलका कर्मचारीहरूलाई दबाब दिन थालेका छन् ।

काउन्सिल स्रोतका अनुसार चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का डिन नियुक्त काउन्सिलका पूर्वउपाध्यक्ष डा. शशि शर्मालगायतले फाइलमा रहेका 'खडेबाबा' का रूपमा चिनिने नक्कली डाक्टरहरूको तस्बिर लुकाउन दबाब दिएका छन् । तीमध्येका केही विवरण भने छानबिनका क्रममा अख्तियारमा पुगेको छ ।

'सबै फाइल हेर्ने हो भने भारतका डाक्टरको कागजात पेस गरी एप्रोन लगाएका नक्कली डाक्टरहरूको सबै भेद खुल्छ र स्थलगत अनुगमनमा जाने चिकित्सकहरू सोझै कारबाहीमा पर्छन्,' काउन्सिल स्रोतले भन्यो, 'निरीक्षणका क्रममा कलेजको अगाडि उभिएर फाइलमा पेस गरिएको फोटो रेकर्डमा सुरक्षित रहेकाले संलग्नहरू चलखेलमा लागेका छन् ।'

उनका अनुसार फाइलबाट फोटो हटाएर वैदेशिक रोजगार विभागमा फाइल नै गायब बनाइएजस्तै घटना काउन्सिलमा पनि दोहोरिन सक्ने देखिएको छ । ७७ जनालाई वैदेशिक रोजगारमा पठाउने क्रममा तयार पारिएको फर्जी फाइल गायब गरेपछि ३० भन्दा बढी कर्मचारीले अहिले भ्रष्टाचार मुद्दाको सामना गरिरहेका छन् ।

मेडिकल काउन्सिलका अध्यक्ष दामोदर गजुरेलका अनुसार 'खडेबाबा' हरूको फाइल अख्तियारले मगाएर लगेको छ । 'छानबिनका क्रममा आवश्यक भएकाले अनुसन्धानका लागि केही फाइल अख्तियारले लगेको छ,' उनले भने, 'पूर्वपदाधिकारीहरूले गरेको कामकारबाहीबारे छानबिन भइरहेकाले हामीले यसबारे बोल्नु उचित हुँदैन ।'

मेडिकल कलेजको सम्बन्धन र पूर्वाधारबारे छानबिन भइरहेको उल्लेख गर्दै अख्तियार प्रवक्ता श्रीधर सापकोटाले अहिले नै यसबारे अरू कुरा भन्न नमिल्ने बताए ।

काउन्सिल स्रोतका अनुसार छानबिन भए काउन्सिलका तत्कालीन उपाध्यक्ष डा. शशि शर्मासहित चिकित्सकहरू अनिलकुमार झा, दामोदर पोख्रेल, एई अन्सारी, नीरज पन्त, सुबोध अधिकारीलगायत तत्कालिन पदाधिकारीहरूले मेडिकल कलेजहरूको प्राज्ञिक पूर्वाधारको पक्ष लत्याउँदै 'खडेबाबा' को संरक्षण गरेको आरोपको सामना गर्नुपर्ने छ ।

यीमध्ये केहीलाई छानबिनका क्रममा अख्तियारले बयान लिने र स्पष्टीकरण सोध्ने गरिसकेको छ । निरीक्षणका क्रममा फोटो र अन्तर्वार्ता अनिवार्य लिनुपर्ने र त्यसलाई फाइलमा समावेश गर्नुपर्ने भएकाले फर्जी काममा संलग्न सबैको प्रमाण काउन्सिलबाट अख्तियार पुगेको हो ।

नक्कली चिकित्सक प्रयोग गरिएको वास्तविकता स्पष्ट जानकारी हुने अवस्था हुँदाहुँदै पनि काउन्सिलका पदाधिकारीहरूले पद दुरुपयोग गरी आँखा चिम्लिएर सबै विवरण पारित गरिदिएका थिए । मेडिकल काउन्सिलका पूर्वउपाध्यक्षसमेत रहेका डिन शर्माको पालामा कलेज अफ मेडिकल साइन्सेज, नोबेल मेडिकललगायतमा पर्याप्त नक्कली चिकित्सकका आधारमा विद्यार्थी कोटा बढाइएको थियो ।

यसैगरी काठमाडौं नेसनल मेडिकल कलेजले पनि वीरगन्जको नेसनल मेडिकल कलेजका सबै अध्यापकलाई काठमाडौंमा ल्याएर आफ्ना चिकित्सक भन्दै देखाएको थियो । कल्याणकारी कोषबाट नाफामुखी मेडिकल कलेज सञ्चालनको तयारी गरेको नेपाल प्रहरीले समेत स्वीकृति नलिएका चिकित्सकलाई भारतको पटनाबाट झिकाई निरीक्षणको क्रममा प्रयोग गरेको थियो ।

विवादित मेडिकल सम्बन्धन प्रकरणका विभिन्न छानबिनले पनि काउन्सिलका पदाधिकारीले 'खडेबाबा' लाई संरक्षण गरेको उल्लेख गरेका छन् । गतवर्ष स्वास्थ्य मन्त्रालयको छानबिनले 'निरीक्षणमा नक्कली फ्याकल्टीहरूलाई पहिचान गरेर कारबाही गर्न नसक्नु' लाई मिलेमतो ठहर्‍याएको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.