रेखा थापासँग गफगाफ "सार्थक जीवन बाँच्न खोजेकी हुँ"
काठमाडौ, पुस २२ - १२ वर्षअघिको फिल्म 'हिरो' हुँदै रेखा थापाले निरन्तर ग्ल्यामर यात्रामा रहिन् । जवानी देखाएर दर्शक बटुल्न सिपालु रेखा यति बेला भने आफ्नै नामको गैरनाफामूलक फाउन्डेसनमार्फत समाजसेवी बनेर मन जित्न खोजिरहेकी छन् । दुई वर्षअघि पति छवि ओझासँग डिभोर्स दिएकी उनी यति बेला चार राउटे बच्चाकी आमा बनिसकेकी छन् ।
आफ्नै बच्चा चाहिँ कहिले बनाउने त ?
म ज्योतिष विद्यामा एकदमै विश्वास गर्छु । ज्योतिषीले मेरो एक वा दुई बच्चा मात्रै हुने योग छैन भन्नुभएको छ । हजारौं बच्चा हुन्छन् रे मेरा । म एक सामान्य युवती हुँ । मलाई पनि कहिले बिहे होला ? कस्तोसँग होला ? भन्ने खुल्दुली हुन्छ नै । ज्योतिषीका अनुसार, अझै दुई वर्षसम्म बिहेको लगन छैन रे । सबैको आफ्नै लेखान्त हुन्छ । मेरो पनि ३२ वर्षपछि मात्रै बिहेको योग भएकोले अहिले केही भन्न सक्दिनँ । बच्चा जन्माउने उमेर त अझै छ । तर पनि आफ्नै बच्चा नै हुनुपर्ने इन्ट्रेस्ट छैन । यतिबेला चार बच्चा पाएर जुन प्रकारको खुसी मिलेको छ, त्यस्तो पहिले मिलेको थिएन । उनीहरूको मैले पूरै जिम्मा लिएकी छु । परिआए नागरिकता पनि मेरै नामबाट दिनुपर्ने हुन्छ । यी बच्चाहरू मसँग यस्तो झ्याम्मिन्छन्, त्यत्तिको मेरै दिदीका छोराछोरी पनि गर्दैनन् । यस्तो देख्दा म एकदमै भावुक भएकी छु । आमा बन्नका लागि बिहे गर्नैपर्ने वा आफैंले जन्माउनैपर्ने भन्ने छैन । कति आफ्नै सन्तानले पनि आमाबाबुलाई लगेर आश्रममा छोडिदिएका छन् । त्यस्तो सम्बन्धको के अर्थ ?
आफैंले बच्चा हुर्काउन थालेपछि बाबुआमाको महत्त्व कत्तिको बुझ्नुभयो ?
म आफूलाई जहिल्यै सानै छु, बच्चै छु जस्तो सोच्थें । यतिबेला ममी मसँगै बस्नुहुन्छ । तर पनि म उहाँलाई अझै साथीजस्तो व्यवहार गर्छु । बोलाउँदा पनि कहिले ममी, कहिले आन्टी यस्तै-यस्तै भन्छु । तर अहिले बल्ल ममीलाई सही अर्थमा बुझ्दै छु । पत्याउनुहुन्न होला, पहिलो फिल्म 'हिरो' खेल्ने पहिलो दिनको सुटिङमा जानुअघि बुबाममीले मलाई नुहाएर पठाउनुभएको थियो । यति बेला मैले पनि कसैलाई पहिलोपटक नुहाइदिएँ । ती यिनै बच्चाहरू थिए ।
डिभोर्सले समाजसेवाप्रति उत्पे्ररित गरेको हो कि ?
अलि-अलि त्यो पनि हो । भोगेपछि नै निचोड निस्कने हो । बच्चाहरू भएर मात्रै नहुँदो रहेछ । मन पनि हुनुपर्दो रहेछ । यतिबेला सार्थक जीवन बाँच्न खोजिरहेको हुँ । हुन त मेरो उमेर अझै रंगीन दुनियाँमा रमाउने नै हो । समाजसेवामा पछि पनि लाग्न सकिन्थ्यो । तर फिलिंग्स अहिले नै आयो ।
आक्रामक जीवन जिउन रुचाउने रेखा थापा, उमेर ढल्कँदै गएपछि अभिनयमा सुस्तता
आयो । राजनीतिमा लाग्न खोज्नुभयो । तर त्यसमा पनि सोचेजस्तो हुने नदेखिएपछि समाजसेवामा लागेको भन्नेहरू पनि छन् नि ?
पार्टी प्रवेश गर्दा मलाई एकखाले भ्रम थियो, पीडितको प्रतिनिधित्व गर्दै समाजसेवा गर्ने यो नै उपयुक्त उपाय हो भनेर । तर जनताले त एउटा नेतालाई भन्दा बढी कलाकारलाई माया गर्दा रहेछन् । हामी कलाकार नाम कमाउँछौं, दाम कमाउँछौं र पछि विस्थापित हुन्छौं । हामीले आफ्नो नाम र दामको सदुपयोग गर्नै सकेका रहेनछौं । म यहीं आफूले कमाएको नाम र दाम सबै समाजसेवामा लगानी गर्न चाहन्छु । त्यसका लागि मलाई कसैको जरुरी पर्दो रहेनछ । एक्लै काफी रहेछु ।
समाजसेवाका लागि मन भएर मात्रै नहोला, धन पनि त चाहियो । कसरी जोहो गर्नुहुन्छ ?
मैले अरूले भनेको सुनेकी छु, 'रेखा थापालाई राम्रो कपडा किन्न आउँदैन । लगाउन जान्दिनँ । मेकअप पनि खासै राम्रो गर्दिनँ । आइब्रो १५ दिनसम्म मिलाउँदिनँ ।' ठीक हो । तर साधारण कपडा लगाएरै काम चल्छ भने म ब्रान्डेडमा खर्च गर्न चाहन्नँ । भन्नेले मलाई लोभी पनि भन्छन् । तर त्यसरी बचेको पैसाले अहिले कुनै बच्चाको भविष्य त बन्दै छ नि । गरिबका लागि त काम लाग्यो नि । फिल्म खेलेर कमाएको पैसा मेरो होइन । यो सबै पब्लिकको हो । उहाँहरूले मलाई हेरिदिएकैले नै मैले कमाउन सकेकी हुँ । त्यो मेरो पैतृक सम्पत्ति पनि होइन । त्यसैले त्यही पैसा नै मैले समाजसेवामा लगाएकी हुँ ।
समाजसेवामै मन कसरी गयो त ?
म गाउँकी केटी, दुःख पनि देखेकी छु । सहरको रमझम पनि देखेकी छु/भोगेकी छु । गरिबीदेखि ऐसआराम सबै देखे/भोगेकी छु । धन भएर मन नभएकादेखि मन भएर धन नभएकासम्म मैले देखेकी छु र तिनीहरूबीचको दूरी पनि मलाई थाहा छ । हिजोसम्म नायिका रेखाले समाजसेवी रेखाको छविलाई जितेको हो । खासमा म राजनीतिमा लाग्नुको उद्देश्य पनि समाजसेवा नै हो । तर यसका लागि नेतागिरी नै गर्नुपर्छ भन्ने रहेनछ । सेवाभावले हिँडे पुग्दो रहेछ । राउटे बस्तीमा म आउने थाहा पाएपछि त्यहाँका बासिन्दा राति एक बजेसम्मै कुरेर बसेको देख्दा हामी कलाकारले आफ्नै शक्ति बुझेका रहेनछौं भन्ने लाग्यो । हामी पार्टीहरूको लागि दुरुपयोग भइरहेका रहेछौं । अब उप्रान्त कलाकार दुरुपयोग हुनु हुँदैन ।
अबका दिनमा फ्यानले चाहिँ तपाईंलाई कस्तो रूपमा देख्न पाउँछन् त ?
४/५ वर्षयता म लिडिङ रोलमै छु । पुरुष भएकैले हिरो भन्ने परिपाटीलाई चिर्न पनि राम्रो काम गर्ने, सशक्त र लडाकु स्वभावको चरित्र बोकेकी केटी पनि समाजका लागि हिरो नै हो भन्ने देखाउन चाहन्छु । मेरा फिल्ममा पनि सामाजिक नेतृत्व महिलाले नै गर्नेछन् । अहिले 'कमला' भन्ने फिल्ममा म टेम्पो चालक महिलाको भूमिकामा खेल्दै छु । आफैं फिल्म बनाएर कतिलाई यो उद्योगमा रोजगारी पनि दिन सकिरहेकी छु । त्यसैले फिल्म निर्माण पनि सँगै लैजान्छु । फिल्म उद्योग खस्कियो भनेर भाषणबाजी गर्दै हिँड्छांै तर उद्योगले नै पहिचान दिएकाले नै चाहिँ बनाएनौं भने त्यसको तुक हुन्न ।
अनि तपाइर्ंको सेक्सी छविचाहिँ अब दर्शकले हेर्न नपाउने भए, हैन त ?
समाज सेवामा लागेर झन् सेक्सी भएकी छु त । छोटा पहिरनमा देखिँदैमा सेक्सी हुने होइन । मान्छेलाई कामले ग्ल्यामर बनाउने हो । फिल्ममा पनि मेरो कामले गर्दा दर्शकले मन पराउनुभएको हो । नत्र मभन्दा राम्रो जीउडाल र अनुहार भएका नायिका छैनन् र ? के कुनै नायिकाले मैले भन्दा बढी एक्सपोज गरेका छैनन् र ? अनि किन त उनीहरू आए, गएकै थाहा भएन ? रेखालाई मात्रै किन मन पराए त ? कलामा अनुशासन चाहिन्छ । हिजो जसरी म उहाँहरूको डि्रमगर्ल थिएँ, आज पनि समाजसेवाबाट त्यो कायम राख्न चाहन्छु । पर्दाकी डि्रमगर्ल अब साँच्चिकै उहाँहरूको घरदैलामा पुग्नेछु ।
आफ्नै घरचाहिँ बलियो हुन सकेन नि ?
डिभोर्स गर्नेबेला हजारचोटि सोचेकी थिएँ । मेरो यो निर्णयले कति घरबार गरेर बसेका परिवारलाई असर पुग्छ कि भनेर । त्यसैले १० वर्षसम्म सँगै रहें । नत्र म एक वर्षमै डिभोर्स गरिसक्थें । आफैं महिला उत्पीडन/हिंसाविरुद्ध आवाज उठाउनुपर्छ भन्ने अनि आफैं अन्यायमा सम्झौताको जीवन बिताउने ? हुँदैन भनेर निर्णय लिएँ । फेरि मेरो कदमले समाजमा असर पर्ने भए गर्दिनँ थिएँ होला तर अहिलेको समाज एड्भान्स भइसकेको छ । अब हजारौं बालबालिकासँगै जीवनयापन गर्ने मन छ । उनीहरूकी आमा बन्ने मन छ । फाउन्डेसनमार्फत् स्कुल बनाउने उद्देश्य छ । म मरेर चितामा जलिरहँदा सानै भए पनि कसैको जीवनमा दियो बाल्न सकें भने सार्थक हुनेछु । अँध्यारोमा उज्यालो छर्ने मेरो प्रयास जारी रहन्छ ।
0 comments
Write Down Your Responses