भट्टराई र श्रेष्ठद्वारा दाहाललाई अल्टिमेटम


काठमाडौ, पुस १८ - एमाओवादीका नेताद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले समानुपातिक सभासदको सूची सच्याउन अध्यक्ष पुष्पकमल दाहाललाई अल्टिमेटम दिएका छन् । सूची नसच्याए परिणाम नराम्रो हुने उनीहरूको चेतावनीसँगै एमाओवादीभित्रको विवाद उत्कर्षमा पुगेको छ ।

दुई नेताको असहमति र विरोधपत्रमा समानुपातिक सभासद चयन गर्दा केन्द्रीय कमिटीको मापदण्ड मिचिएको, २० जिल्ला प्रतिनिधिविहीन बनेको, सहिद, बेपत्ता परिवार, घाइते, अपांगलाई प्राथमिकतामा नपारिएको, आन्दोलनमा योगदान नभएका र चुनावमा अन्तर्घात गर्ने तथा निष्त्रिmय बस्ने छनोटमा परेको, फरक मतको सम्मान नभएकामा विरोध जनाउँदै निर्णय सच्याउन अध्यक्षलाई आग्रह गरिएको भट्टराईका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिए । निर्वाचन आयोगले समानुपातिक सभासदको सूची सच्याउन बिहीबारसम्मको समयावधि दिएकाले भट्टराई र श्रेष्ठले बुधबार नै दाहाललाई भेटी अल्टिमेटम दिएका हुन् ।

निर्वाचन आयोगमा प्रस्तुत भई सार्वजनिक सञ्चार माध्यममा सार्वजनिक भइसकेकाले सूची नसच्चिने दाहालनिकट एक नेताले बताए । 'उहाँहरू (भट्टराई र श्रेष्ठ) लाई नै जिम्मा दिए पनि सूची सच्याउन सक्नु हुँदैन । सूची कुनै हालतमा परिवर्तन हुँदैन । त्यसो गर्दा राम्रो सन्देश जाँदैन । उहाँहरूले अब आफ्ना असहमति केन्द्रीय कमिटीमा राख्न सक्नुहुन्छ, त्यसैले एउटा निष्कर्ष निकाल्छ,' ती नेताले भने । समानुपातिक सूचीमा देखिएको विवादलाई दाहाल पक्षले निमित्त कारण मानेको छ । खासगरी भट्टराईले केहीअघिदेखि नै नेतृत्वमाथि प्रश्न उठाउँदै आएकाले अहिलेको विवाद त्यसैको निरन्तरता भएको दाहाल पक्षको ठम्याइ छ ।

'समानुपातिकको विवाद नै होइन । केही समयदेखि बाबुरामजीले सामाजिक सञ्जालमा जसरी नेतृत्वमाथि प्रश्न उठाउनुभएको छ, त्यो रहस्यमयी छ । अहिलेको विवाद त्यसैको निरन्तरता मात्रै हो,' दाहालनिकट नेता जनार्दन शर्माले भने । शर्माका अनुसार भट्टराईकै सिफारिसमा पहिले नेताहरू पोस्टबहादुर बोगटी, कृष्णबहादुर महरा र टोपबहादुर रायमाझीले सूची बनाएको र त्यसलाई पछि गिरिराजमणि पोखरेलसमेत बसेर अन्तिम रूप दिएको बताए । दाहालनिकट अर्का नेता वर्षमान पुन र आफ्नो उपस्थितिलाई भट्टराईले अस्वीकार गरेपछि आफूहरू बाहिरै बसेको उनले बताए । रायमाझी भट्टराई र पोखरेल श्रेष्ठ पक्षधर नेता हुन् ।

निर्वाचन आयोगमा बुझाइएको सूचीमा भट्टराईका १५ र श्रेष्ठका ५ जना परेको दाहालनिकट नेताहरूको दाबी छ । तर दुवै नेताका गरी जम्मा १० जना जति परेको अर्को पक्षको भनाइ छ । कार्यदलले सूची टुंग्याइसकेपछि भट्टराई र श्रेष्ठले टेलिफोन गरी दाहालसमक्ष असन्तुष्टि राखेको उल्लेख गर्दै नेता शर्माले भने, 'अध्यक्षले मैले नै सूची हेरेको छैन । आउनुहोस् छलफल गरौं भन्दा दुवै नेता जानुभएन । छलफल गर्न बोलाउँदा नजाने अनि निर्वाचन आयोगमा सूची गइसकेपछि विवाद झिक्ने काम भयो ।'

कार्यदलका सदस्य भट्टराई पक्षधर नेता रायमाझीले निर्वाचन आयोगमा सूची बुझाउँदा मापदण्ड मिचिएकाले सच्याउन आग्रह गरिएको बताए । 'अध्यक्षले सच्याउनुहुनेछ भन्ने विश्वास छ । नसच्चिए कसरी अघि बढ्ने तय गर्छौं,' उनले भने । स्रोतका अनुसार भट्टराईले मंगलबार नै दाहाललाई भेटी अब सँगै अघि बढ्न नसकिने बताएका थिए । 'नेपालको कम्युनिस्ट आन्दोलनको एउटा कालखण्डको सफल नेतृत्व गरेको हिसाबले तपाईंलाई नेता मानेको हो । पछि पनि मान्छु । तर पार्टीभित्रै रहेर संघर्ष गर्ने अवस्था रहेन । त्यसैले अब सँगै अघि बढ्न नसकिने भयो,' भट्टराईले भेटमा दाहालको केही प्रशंसा गर्नुका साथै पार्टीबाटै अलग्गिन सक्ने चेतावनी दिएका थिए ।

त्यसलगत्तै भट्टराईले नेता श्रेष्ठलाई भेटी दाहालविरुद्ध मोर्चाबन्दीको प्रस्ताव राखेको स्रोतले बतायो । सुरुमा दाहाललाई दबाब दिने र अटेर गरे अलग्गिने हिसाबले नै अघि बढ्न उनले श्रेष्ठसामु प्रस्ताव राखेका थिए । दुवै पक्षका नेता जोड्दा केन्द्रीय कमिटीमा ४० प्रतिशत हुने र उनीहरूको हस्ताक्षर गराएर दाहाललाई दबाब दिने नभए विधिवत अलग्गिने मनस्थितिमा भट्टराई पुगेको स्रोतले बतायो । तर श्रेष्ठले उनको प्रस्ताव अस्वीकार गरेपछि भट्टराई फेरि दाहालसँगै मोलमोलाई गर्ने अवस्थामा पुगेका थिए ।

नेता श्रेष्ठले दाहाल, भट्टराई दुवैसँग आफ्नो छलफल, कुराकानी भइरहेको तर कुनै किसिमको प्रस्ताव नआएको दाबी गरे । 'पार्टीभित्र मतभेद छ । राष्ट्रियताका सबालमा त मैले पहिलेदेखि नै फरक मत राख्दै आएको हो । समानुपातिक चयनमा पनि को व्यक्ति पर्‍यो, परेन भन्दा पनि प्रक्रिया मिचियो । पार्टी संकटमा परेका बेला कब्जा गर्न खोजियो । कोही दिने, कोही माग्नेजस्तो भयो भन्नेमा असन्तुष्टि छ,' श्रेष्ठले भने, 'तर जतिसुकै मतभेद भए पनि रूपान्तरणको प्रक्रियाबाट नयाँ ढंगको पार्टी निर्माण गर्नु अहिलेको आवश्यकता हो । यो अन्तिम अवसर हो, त्यसरी जान नसके पार्टी र आन्दोलनलाई ठूलो नोक्सारी पुग्छ भन्ने सबैले महसुस गर्नुपर्छ ।'

दाहाल पक्षले भने दुवै नेताका जोड्दा पनि केन्द्रीय कमिटीमा ४० प्रतिशत नपुग्ने दाबी गरेको छ । तर दाहाल पक्षकै कतिपय नेता असन्तुष्ट रहेकाले श्रेष्ठसँग मिलेर ४० प्रतिशत पुर्‍याउन सकिने भट्टराई पक्षको बुझाइ छ । दाहाल पक्षका नेता हेमन्तप्रकाश वलीले मंगलबार एक सार्वजनिक कार्यक्रममा दाहालप्रति चर्को आक्रोश पोखेका थिए भने कालीकोटबाट सभासदमा निर्वाचित दाहाल पक्षकै नेता महेन्द्र शाही र अर्का केन्द्रीय सदस्य जीवन बुढाले समानुपातिक छनोटमा कणरलीलाई उपेक्षा गरिएको भन्दै बुधबार राजीनामा दिएका छन् । दाहाल पक्षकै नेतामा देखिएको यो असन्तुष्टिलाई आफ्नो पक्षमा तान्न सकिने भट्टराई पक्षधर नेताको बुझाइ छ ।

भट्टराई पक्षधर अर्का नेता देवेन्द्र पौडेलले ४० प्रतिशत पुर्‍याएर अलग्गिने भन्ने कुरा हल्ला मात्र भएको बताए । अध्यक्षले त्रुटि सच्याउने र सबै नेता मिलेर अघि बढ्ने उनले विश्वास व्यक्त गरे । भट्टराईले आन्तरिक लोकतन्त्र सुदृढीकरणका लागि केही धारणा व्यक्त गर्दा नेतृत्व ताक्यो भन्नु गलत भएको उनले बताए । तर अध्यक्षले सूची सच्याउनुभएन भनेचाहिँ के गर्नुहुन्छ ? भन्ने प्रश्नको उत्तरमा उनले भने, 'मिल्ने कुरा भएन भने त उहाँ (अध्यक्ष) लाई पनि कसले मान्छ र ?'

एमाओवादीभित्र सांगठनिक अधिवेशनको चर्चासँगै भट्टराईले गत पुस ५ गते फेसबुकमार्फत एकै व्यक्ति दुई कार्यकालभन्दा बढी पार्टी नेतृत्वमा बस्न नपाउने व्यवस्था हुनुपर्छ भन्दै अध्यक्ष दाहालमाथि निसाना केन्दि्रत गरेका थिए । साथै लोकतन्त्र बलियो पार्न पार्टीका विभिन्नस्तरका कमिटीहरू माथिबाट मनोनीत गर्नुको सट्टा तलैदेखि निर्वाचित गर्ने प्रणाली विकास गर्नुपर्ने उनको भनाइ थियो । त्यससँगै दाहाल र भट्टराई पक्षधरबीच विवाद चर्किएको हो ।

पार्टी संकटमा परेका बेला भट्टराईले विवाद झिकेर 'विनाशकाले विपरीत बुद्धि' भन्ने उखान चरितार्थ गरेको नेता शर्माले जनाए । भट्टराईले पार्टीको कुरा कहिल्यै नमानेको र सधैं फरक ढंगले चल्न खोजेको उनले बताए । 'उहाँ (भट्टराई) ले अहिले सबै तहको नेतृत्व निर्वाचनबाट जनवादको कुरा गर्नुहुन्छ । हामीले महाधिवेशनमै निर्वाचनको प्रक्रियामा जाउँ भन्यौं मान्नुभएन । जिल्ला कमिटीको अधिवेशनका लागि पनि सहमत हुनुभएन । उपाध्यक्षबाट दिएको राजीनामा फिर्ता लिनुहोस् भनेर सिंगो केन्द्रीय कमिटीले आग्रह गर्दा पनि टेर्नु भएन,' उनले भने, 'आफूले भनेअनुसार भयो भने जनवाद हुने नभए नहुने उहाँको व्याख्या छ ।'

,

0 comments

Write Down Your Responses

Powered by Blogger.