बिरामी अलपत्र, चिकित्सक निजीमा व्यस्त


चितवन, माघ ६ - सधैं बिरामीको भीड हुने भरतपुर सरकारी अस्पताल आइतबार सुनसान देखिन्थ्यो । अस्पताल परिसरको चौतारोमा बसेर एक दम्पती विलौना गर्दै थिए । बारा सिगौलबाट आएका ६५ वषर्ीय चक्रमान भुजेल चियामा पाउरोटी चोप्दै श्रीमती विष्णुमायासँग पीडा बाँड्दै खाइरहेका थिए । उनको अनुहार सेतो र फुस्रो देखिन्थ्यो । छेउमा ओढ्ने ओछ्याउनेको पोको थियो । 'अस्पताल बन्द भएको थाहा थिएन,' विष्णुमायाले निराश हुँदै भनिन्, 'अब बुढालाई कता लगेर उपचार गर्ने ? लडेपछि उठ्न सक्दैनन् ।'

उनले ५ हजार ऋण गरेर श्रीमान्लाई उपचार गर्न अस्पताल ल्याएको बताइन् । चक्रमानको दिसाबाट रगत बग्छ । दिनहुँ रगत बग्नाले उनको स्वास्थ्य कमजोर बन्दै गएको

छ । 'वीरगन्जमा लगे, उपचार भएन,' उनले भनिन्, 'चितवनमा राम्रो उपचार होला भनेर आएका थियौं, डाक्टरले उपचार गरिदिएनन् ।' उनले श्रीमान्लाई छिनछिनमा दिसा लाग्ने र दिसामा रगत जाँदा स्वास्थ्य अवस्था कमजोर बन्दै गएको बताइन् ।

सरकारी अस्पतालमा सस्तोका लागि आए पनि उपचार नपाउँदा समस्या बेहोर्नु परेको बिरामीले बताए । उनी मात्र होइन । अस्पतालमा आउने नयाँ बिरामीले भर्ना हुन पाएनन् । कति बिरामी अस्पतालको सूचना पढेरै फर्किए । लेखपढ गर्न नजानेका बिरामी भने अस्पतालमा चिकित्सकलाई कुरेर बसिरहेका देखिन्थे । अस्पताल प्रशासनले मूल गेटमा ठूला अक्षर सहित सूचना लेखेर सेवा बन्द भएको जानकारी गराएको थियो ।

सूचनामा नेपाल चिकित्सक संघद्वारा माघ ५ गतेदेखि बिहान ६ बजेबाट 'इमर्जेन्सी र इन्डोर' बाहेकका सेवा बन्द गरिएको भन्दै सूचना टाँसिएको थियो । अस्पतालको इमर्जेन्सी कक्षमा बिरामीको संख्या कम थियो । चिकित्सक अस्पतालमा देखिएनन् । सरकारी अस्पतालमा काम गर्ने अधिकांश चिकित्सक निजी अस्पतालमा देखिन्थे । 'सरकारी अस्पतालमा काम गर्ने चिकित्सकलाई आन्दोलन बहाना बन्यो,' एक चिकित्सकले भने, 'सरकारीमा सेवा ठप्प पारेर निजीमा गई काम गर्ने मौका

पाएका छन् ।'

चिकित्सक संघ अध्यक्ष कृष्णप्रसाद पौडेल रत्ननगर अस्पतालका मेशु हुन् । तर उनी साढे ४ बजे भरतपुर सामुदायिक अस्पतालमा थिए । त्यस्तै भरतपुर सरकारी अस्पतालका स्त्री तथा प्रसूति विभागका सुनिलमणि पोखरेल निजी अस्पतालमा भेटिए । उनी भरतपुर सामुदायिक अस्पतालमा बिरामी जाँच्दै थिए । निजी अस्पतालको गेटमा भने अनशनमा बसेका डा.गोविन्द केसीको अनशनमा ऐक्यबद्धता जनाउँदै १२ बजेसम्म पेन डाउन गरी अस्पतालको ओपीडी सेवा बन्द गरिएको सूचना टाँसिएको थियो । १२ बजेपछि निजी अस्पतालमा उपचार सेवा सुरु गरियो ।

सरकारीमा उपचार नपाएका बिरामी बाध्य भएर निजी अस्पतालमा महँगो रकम तिरेर उपचार गर्न बाध्य बने । 'बाध्य भएर अस्पताल बन्द गरी आन्दोलनमा उत्रिएका हौं,' संघ जिल्ला अध्यक्ष पौडेलले भने, 'माग पूरा नभएसम्म आन्दोलन जारी रहनेछ ।' उनले निजी अस्पतालका चिकित्सकलाई थाहा नभएर १२ बजेपछि सेवा सुरु गरे पनि पछि बन्द गरेको दाबी गरे । अधिकांश निजी अस्पतालमा भने दिनभर सेवा सुचारु थियो । उता बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा समेत बिरामीले उपचार सेवा पाएनन् ।

त्यहाँका चिकित्सक निजी अस्पतालमा पुगेका थिए । अस्पताल परिसरमा बिरामी अलपत्र देखिन्थे । टाढाटाढाबाट आएका बिरामी अचानक अस्पताल बन्दको सूचनाले निराश हँुदै घर र्फकन बाध्य थिए । चितवनमा २३ निजी र ४ वटा सरकारी अस्पताल छन् । यहाँ उपचारका लागि दैनिक १ हजार ७ सयभन्दा बिरामी आउँछन् । भरतपुर सरकारी अस्पतालमा दैनिक २ सय र क्यान्सर अस्पतालमा ५ सयभन्दा बढी बिरामी उपचारका लागि आउँछन् । मुलुकका विभिन्न स्थान तथा भारतबाट समेत बिरामी उपचारका लागि आउने गरेका भए पनि अचानक अस्पतालमा उपचार सेवा बन्द हुँदा मारमा परेका हुन् ।

त्यसैगरी आइतबार मकवानपुरको एकमात्र हेटांैडा अस्पतालको स्वास्थ्य सेवा आइतबार मध्याह्नबाट अवरुद्ध भयो । आकस्मिक सेवावाहेक अन्य सेवाहरू अस्पतालका चिकित्सकले बन्द गरेका हुन् । संघले आह्वान गरेअनुरूपमा अस्पतालका सेवा आइतबार दिउँसोदेखि बन्द गरेको अस्पतालका प्रमुख डा. हरिबहादुर खड्काले बताए । सर्लाहीमा पनि जिल्ला अस्पतालको बहिरङ सेवा बन्द रहयो । इमर्जेन्सी सेवा भने सुचारु छ । अस्पतालमा चालु परिवार नियोजन शिविर बन्द भएको

छैन । बिरामी आउने जाने भइरहेको र व्यावहारिकता हेरी सेवा दिएको अस्पतालका एक चिकित्सकले बताए ।

कपिलवस्तुमा सञ्चालन

चिकित्सक संघले आइतबार मुलुक भरका स्वास्थ्य संस्था बन्द गर्न आह्वान गरे पनि कपिलवस्तुका २ अस्पताल खुले । सदरमुकामको तौलिहवा र बहादुरगन्जको शिवराज अस्पताल नियमित रूपमा सञ्चालन रहेको थियो ।

बन्दको सूचना कतैबाट पनि नआएकाले अस्पताल सदाजस्तै सञ्चालनमा रहेको अस्पताल स्रोत भन्यो । सोधखोज नगर्दा सञ्चालन गरिएको तौलिहवा अस्पतालकाका मेडिकल सुपरिटेन्डेन्ट डा. अनन्त शर्माले बताए ।

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.