निगमको मासिक घाटा २ अर्ब नजिक, एउटा सिलिण्डरमा साढे ११ सय घाटा


१९ पुस, काठमाडौं । खाना पकाउने एलपी ग्यासको मूल्य बढेपछि नेपाल आयल निगमको मासिक घाटा बढेर एक अर्ब ८५ करोड ५८ लाख रुपैयाँ पुगेको छ । भारतीय आयल कर्पोरेशन (आईओसी) ले जनवरी १ मा पठाएको नयाँ मूल्यअनुसार ग्यासको मूल्य प्रतिसिलिण्डर ३ सय ८८ रुपैयाँ बढेको छ ।

ग्यासको मूल्य बढेर आएपछि निगमले एउटा सिलिण्डरमा एक हजार १४३ रुपैयाँ घाटा बेहोर्नुपर्ने छ । यसअघि निगमलाई ग्यासमा प्रतिसिलिण्डर ७ सय ५५ रुपैयाँ ३८ पैसा घाटा रहेको थियो । नयाँ मूल्यअनुसार निगमलाई ग्यासमा मात्र मासिक एक अर्ब ६० करोड रुपैयाँ घाटा हुनेछ । यसअघि यस्तो घाटा एक अर्ब ५ करोड रुपैयाँ रहेको थियो ।

ग्यासको मूल्य अप्रत्यासित बढेपछि निगमको मासिक घाटा २ अर्बको हाराहारीमा पुग्न गएको हो । आईओसीले डिसेम्बर १६ मा पठाएको मूल्यअनुसार निगमको मासिक घाटा एक अर्ब ३५ करोड रुपैयाँ रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा साउदी अरेबियाबाट कन्ट्रयाक्ट प्राइस ‘साउदी सीपी’ प्रति मेटि्रक टन २ सय ७६ अमेरिकी डलर बढेर आएपछि ग्यासको मूल्य एक्कासी बढ्न गएको हो । डिसेम्बरमा ग्यासको साउदी सीपी प्रतिमेटि्रक टन ८ सय ९९ डलर रहेकोमा जनवरीमा बढेर एक हजार १ सय ७५ डलर पुगेको छ ।

यसअघि बढेर आएको डिजेलको मूल्य भने यसपटक केही घटेको छ । निगमले डिजेलमा ११ रुपैयाँ ९ पैसा घाटा बेहोर्दै आइरहेकोमा अब ९ रुपैयाँ ८७ पैसा घाटा बेहोर्नुपर्ने छ । नयाँ मूल्यअनुसार निगमलाई डिजेलमा मासिक ६४ करोड १३ लाख रुपैयाँ घाटा हुनेछ । यसअघि निगमलाई डिजेलमा मासिक ७२ करोड ६ लाख रुपैयाँ घाटा रहेको थियो ।

नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा हुँदै आएको नाफा भने केही घटेको छ । यसअघि प्रतिलिटर ५ रुपैयाँ १६ नाफा गर्दै आएको पेट्रोलमा अब जम्मा ४ रुपैयाँ २७ पैसा नाफा हुनेछ । अब पेट्रोलमा निगमलाई मासिक ८ करोड ५४ लाख रुपैयाँमात्र नाफा हुने देखिएको छ । यसअघि निगमलाई पेट्रोलमा १ करोड ३१ लाख रुपैयाँ नाफा थियो । मट्टतिेलमा पनि निगमको नाफा घटेको छ । यसअघि मट्टतिेलमा मासिक १ करोड ८१ लाख रुपैयाँ नाफा रहेकोमा यसपटक एक करोड २५ लाख रुपैयाँमा चित्त बुझाउनुपर्ने देखिएको छ । मट्टतिेलमा निगमलाई प्रतिलिटर ४ रुपैयाँ १६ पैसा नाफा रहेको छ ।

त्यसैगरी, हवाई इन्धनमा पनि निगमको मासिक नाफा घटेको छ । यसअघि हवाई इन्धनमा ३० करोड ६३ लाख रुपैयाँ मासिक नाफा हुने देखिएकोमा यसपटक घटेर २८ करोड ७८ लाखमा चित्त बुझाउनुपर्नेछ । हवाई इन्धनमा निगमलाई आन्तरिक उडानतर्फ प्रतिलिटर २६ रुपैयाँ ५८ पैसा र अन्तर्राष्ट्रिय उडानतर्फ २९ रुपैयाँ ७२ पैसा नाफा हुने देखिएको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.