नेपाल यूएईको सामना गर्दै


काठमाडौ, पुस २८ - नेपाली क्रिकेट अहिले स्वर्ण युगमा छ । एकपछि अर्को सफलतालाई चुमिरहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अर्को सफलताका लागि न्युजिल्यान्डमा रहेको छ ।

सन् २०१५ मा हुने आईसीसी वान-डे विश्वकप छनोटका लागि पहिलो खेलमा नेपालले सोमबार

रंगीओरा ओभल मैदानमा परम्परागत प्रतिद्वन्द्वी यूएईको सामना गर्नेछ । नेपाली समयअनुसार बिहान ३.१५ मा सुरु हुने खेलमा पाउने सफलताले नेपाली टिमको थप सम्भावनाको संकेत गर्नेछ ।

आईसीसी छनोटको समूह 'ए' मा रहेको नेपालको यूएईबाहेकका हङकङ, क्यानडा र स्कटल्यान्ड प्रतिद्वन्द्वी छन् । वान-डेमा नेपालका लागि हङकङ र यूएई पुरानै प्रतिस्पर्धी हुन् भने अन्य दुई नयाँ । तर नेपालले क्यानडा र स्कटल्यान्डसँग ट्वान्टी-ट्वान्टी विश्वकपको छनोट प्रतियोगितामा प्रतिस्पर्धा गरिसकेको छ । दुवैसँगको भेट नेपालका लागि सुखद भने रहेको थिएन ।

दुई महिनाअघि यूएईमा भएको छनोटमा तेस्रो स्थान हासिल गर्दै बंगलादेशमा हुने आईसीसी ट्वान्टी-ट्वान्टी विश्वकपमा छनोटले उत्साहित नेपाल अर्को स्वर्ण इतिहास रच्ने अभियानमा रहेको छ । यसका लागि नेपालले सुरुमा समूह चरणमा कम्तीमा शीर्ष तीनमा रहँदै सुपरसिक्सको यात्रा गर्नुपर्नेछ । सुपरसिक्समा पहिलो र दोस्रो स्थानमा रहने दुई टिमले विश्वकप खेल्न पाउनेछन् भने शीर्ष चारमा रहनेले वान-डे मान्यता पाउनेछन् ।

नेपालका लागि यो यात्रा कठिन छ तर असम्भव भने पक्कै छैन । आफूभन्दा बलिया र वान-डे मान्यता पाइसकेका टिमको समूहमा रहे पनि नेपाल विपक्षीलाई दबाबमा राख्न सक्षम देखिन्छ ।

यूएईले आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप तेस्रो स्थानमा टुंग्याएको थियो । तर पछिल्लो समयमा यूएईविरुद्धको प्रदर्शनले नेपाल आत्मविश्वासी बनेको छ । एसीसी ट्रफी एलिटको समूह चरणमा चार विकेटले हराएको नेपालले फाइनलमा म्याच टाई गरेपछि यूएईसँग संयुक्त विजेता बनेको थियो । एसियाली क्रिकेटमा नेपालले पाएको त्यो सबैभन्दा ठूलो सफलता थियो ।

न्युजिल्यान्डको वातावरण नेपाली टिमका लागि नौलो देखिन्छ । त्यसैले त्यसमा घुलमिल हुन नेपाली टिम दुई साताअघि श्रीलंकाबाट त्यहाँ पुगेको हो । नेपालले स्थानीय टिम केन्टरवरी सेलेक्सन-११ सँग पाँच अभ्यास खेल खेल्ने तय भए पनि वषर्ाका कारण तीन खेलमात्र सम्भव भएका थिए । त्यसमध्ये दुईमा नेपाली टिमले जित हासिल गरेको थियो भने एकमा पराजय बेहोरेको थियो ।

प्रतियोगिताअघिको दुई अभ्यास खेल नेपालका लागि राम्रो हुन सकेन । नामिबिया र केन्यासँगको खेलमा नेपाल पराजित हुन पुग्यो । नियमित कप्तान पारस खड्काको ढाडको समस्या नेपाली टिमको टाउको दुखाइ बनेको छ । तर प्रशिक्षक पुबुदु दसानायकेले उनले पहिलो खेलमा सहभागिता जनाउन सक्ने बताएका छन् । दुवै अभ्यास खेलमा ज्ञानेन्द्र मल्लले टिमको नेतृत्व गरेका थिए भने प्रशिक्षकले पारसलाई आराम दिएका थिए ।

दुवै खेलमा पराजित भए पनि नेपाली टिमले आफ्नो कमजोरी र सबल पक्ष खुट्याउने मौका भने पायो ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.